काठमाडौं । नेपाली बजारमा अनरले आफ्नो पातलो र हलुका फोल्डेबल फोन ‘अनर म्याजिक भी टु’ ल्याएको छ । जम्मा २३१ ग्राम तौल भएको यो फोन फोल्ड गर्दा मोटाइ ९.९ मिलिमिटर मात्र हुन्छ । यसमा सुपर लाइट टाइटेनियम हिन्ज राखिएकाले तौल हलुको भएको बताइएको छ ।
यो फोन १० वर्षसम्म दिनको १०० पटक फोल्ड गर्दा पनि केही नहुने अनरको दाबी छ । कम्पनीले फोनमा २.७२ मिलिमिटरको औसत मोटाइ भएको ५००० एमएएचको डुअल सिलिकन ब्याट्री राखेको छ, जसका लागि ६६ वाटको सुपर वायर्ड चार्जर तथा ५ वाटको रिभर्स वायर्ड दिइएकाे छ ।
स्क्रिनकाे कुरा गर्दा यसमा १२० हर्ज रिफ्रेस रेटसहित ओलेड एलटीपीओ डिस्प्ले रहेको छ, जसअन्तर्गत कभर डिस्प्ले ६.४३ इन्च र भित्री डिस्प्ले ७.९२ इन्चको छ ।
त्यस्तै क्यामेरामा ट्रिपल सेटअपमा छ, जस अन्तर्गत ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै अल्ट्रा वाइड र २० मेगापिक्सेलको टेलिफोटो क्यामेरा छ । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलकाे क्यामेरा छ ।
एन्ड्रोइड १३ मा आधारित यो फोनमा म्याजिक ओएस ७.२ रहेको छ । यसमा क्वालकम स्नापड्रागन ८ जेन २ चिपसेट राखिएको छ । त्यस्तै यसमा १६ जीबी र्याम र ५१२ स्टोरेज क्षमता रहेको छ ।
फोनको मूल्य नेपालका लागि २ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालका अनुसार देशैभर उपलब्ध यो फोन इच्छुक ग्राहकले अनर स्टोरसँगै दराज, हुकुट जस्ता अनलाइन प्लेटफर्म मार्फत खरिद गर्न सक्नेछन् ।