close

नेपालका दुई महिला फोर्ब्स अन्डर–३० सूचीमा

टेकपाना टेकपाना

जेठ ३, २०८१ १२:२७

नेपालका दुई महिला फोर्ब्स अन्डर–३० सूचीमा

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जनाको सूचीमा दुई नेपाली छनाेट भएका छन् । फोर्ब्सले बिहीबार सार्वजनिक गरेको फोर्ब्स ३० अन्डर ३० एसिया २०२४ सूचीमा ‘ह्याप्पी माइन्ड्स’की संस्थापक श्रीया गिरी र ‘भेगन डेरी नेपाल’की संस्थापक काजोल सेठिया छनाेट भएका हुन् ।   

नेपाली डिजिटल मेन्टल हेल्थ प्लेटफर्म ‘ह्याप्पी माइन्ड्स’की संस्थापक गिरीले समाजमा पारेको प्रभावलाई मध्यनजर गर्दै फोर्ब्सले एसियाका ३० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको हो । गिरीले लण्डन साउथ बैंक युनिभर्सिटीबाट ‘एमएससी इन्टरनेसनल बिजनेस मेनेजमेन्ट’मा मास्टर डिग्री हासिल गरेकी छिन् ।

अध्ययन पूरा गरिसकेपछि उनी नेपाल फर्किएर ह्याप्पी माइन्ड्स सञ्चालन गर्दै आएकी छिन् । फोर्ब्स ‘३० अन्डर ३० एसिया’मा छनाेट भएपछि गिरीले सामाजिक सञ्जाल लिङ्क्डइनमा पोस्ट राख्दै नेपाल फर्किएर ह्याप्पी माइन्ड्स निर्माण गर्ने निर्णयले यो स्थानमा पुर्‍याएको प्रतिक्रिया दिएकी छिन् ।

“यस वर्ष फोर्ब्सले ३० अन्डर ३० को रूपमा सम्मान गरेकोले मेरो नेपाल फर्कने र ‘ह्याप्पी माइन्ड्स’ निर्माण गर्ने निर्णयलाई थप हौसला मिलेको छ,” उनले लेखेकी छिन्, “हाम्रो सङ्कल्पलाई सुरुवातदेखि नै विश्वास र समर्थन सबै नभएको भए यो सम्भव हुँदैनथ्यो होला ।” पोस्टमा गिरीले आफूलाई यो यात्रामा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

मानसिक रोगप्रति अधिकांश नेपालीमा जुन किसिमको नकारात्मक दृष्टिकोण छ, त्यो बदल्न गिरी नेपाल आएर ह्याप्पी माइन्ड्स सञ्चालन गरेकी थिइन् । ह्याप्पी माइन्ड्सले अनलाइन र भौतिक रूपमा सर्वसाधारणलाई परामर्श दिने गर्छ । त्यसबाहेक कम्पनीले विभिन्न किसिमका ग्रुप वर्कशप गरेर मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिँदै आएको छ ।  

२०२२ सार्क स्टार्टअप अवार्डमा ह्याप्पी माइन्ड्स ‘बेस्ट न्युकमर फ्रम नेपाल’बाट सम्मानित भएको थियो । त्यस्तै २०२३ मा गिरीले ब्याङ्ककमा सम्पन्न भएको युथ कोःल्याब समिटमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

त्यस्तै फोर्ब्सले ‘फुड एन्ड ड्रिङ्क्स’को क्याटेगोरीमा सेठियालाई ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । सिङ्गापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनबाट इन्जिनियरिङमा ब्याचलर गरेकी सेठिया २०१८ मा नेपाल फर्किएर भेगन डेरी नेपाल सञ्चालनमा ल्याएकी थिइन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राम र अनलाइन शपिङ प्लेटफर्म दराजबाट उनले शाकाहारी खाना र औषधी बिक्री गर्दै आइरहेकी छिन्  । शाकाहारी खानामा पनि विशेषगरी दूध, दही, चिज, बटर आदि समावेश छन् ।

उनले ‘क्रूरता मुक्त जीवन शैली’का लागि दिएको योगदानकै कारण सन् २०१९ मा सेठिया पेटा एसिया (PETA Asia) बाट ‘आउटस्ट्यान्डिङ एक्टिभिस्ट अवार्ड’द्वारा सम्मानित भएकी थिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८१ ९:३६