close

सार्वजनिक भएको ४३ दिनमै साओमीले वितरण गर्‍यो १० हजार विद्युतीय गाडी

टेकपाना टेकपाना

जेठ ३, २०८१ १९:२२

सार्वजनिक भएको ४३ दिनमै साओमीले वितरण गर्‍यो १० हजार विद्युतीय गाडी

काठमाडौं । साओमीले आफ्नो पहिलो विद्युतीय गाडी 'एसयूभी सेभेन' १० हजार युनिट डेलिभर गरेको छ । बुधवार सामाजिक सञ्जाल विबोमा पोस्ट राख्दै कम्पनीले गाडी सार्वजनिक भएको ४३ औं दिनमै याे कोशेढुङ्गा पार गरेको जानकारी दिएको हो । 

स्मार्टफोन निर्माता कम्पनी साओमीले २८ मार्चमा बहुप्रतिक्षित एसयूभी सेभेन सार्वजनिक गरेको थियो । त्यसपछि ३ अप्रिलदेखि कम्पनीले कार डेलिभरी गराउन थालेको थियो ।

“हामीले यस वर्षका लागि हाम्रो एक लाख युनिट डेलिभरी लक्ष्य पूरा हुने कुरा सुनिश्चित गर्न हाम्रो उत्पादन क्षमता बढाउने प्रयास जारी राखेका छौं,” कम्पनीले उक्त पाेस्टमा लेखेको छ ।

कम्पनीले ३ अप्रिलदेखि फाउन्डर एडिसनको वितरण सुरु गरेको थियो । सो इडिसन अन्तर्गत जम्मा पाँच हजार युनिट निर्माण गरेको थियो । त्यसपछि १८ अप्रिलदेखि कम्पनीले एसयूभी सेभेन कस्टमाइज भेहिकलको डेलिभरी सुरु गरेको थियो ।

अप्रिल महिनाभर कम्पनीले सात हजार ५८ युनिट डेलिभर गरेको थियो । त्यस अवधिमा कम्पनीले ८८ हजार ६३ युनिटको अर्डर पाएको दाबी गरेको थियो । एसयूभी सेभेन सार्वजनिक भएको दिन कम्पनीका संस्थापक तथा सीईओ लेई जुनले जुन महिनासम्म १० हजार युनिट डेलिभर गर्ने अपेक्षा गरेका थिए । 

साओमी ईभी अर्डर गर्ने ग्राहकले भने गाडी पाउन अर्डर गरेको मितिले ३० हप्ताभन्दा बढी पर्खिनु पर्ने अवस्था आएको स्थानीय सञ्चारमाध्यमले वालस्ट्रिट सीएनले उल्लेख गरेको छ । अत्यधिक माग भएपछि कम्पनीले आफ्नो अपस्ट्रिम सप्लायरहरूलाई विभिन्न पार्ट्सको उपलब्धता बढाउन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८१ १९:३०