close

ह्वाट्सएप र फेसबुकबाट हुन्छ नेपालमा सबैभन्दा धेरै साइबर अपराध

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ५, २०८१ १०:४५

ह्वाट्सएप र फेसबुकबाट हुन्छ नेपालमा सबैभन्दा धेरै साइबर अपराध

काठमाडौं । नेपालमा साइबर अपराध तथा अनलाइन ठगीका घटना फेसबुक, मेसेन्जर र ह्वाट्सएपबाट बढी हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि  २०८०/८१ वैशाख मसान्तसम्म साइबर नेपाल प्रहरीको ब्युरोमा दर्ता भएका उजुरीलाई विश्लेषण गर्दा यस्तो तथ्य देखिएको हो । 

साइबर अपराधका घटनामा विशेषगरी नग्न फोटोमा पीडितको फोटो जोडेर ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमा नाम र नग्न फोटो तथा भिडिओ राखेर बेइज्जत गर्ने, अनलाइनबाट आर्थिक ठगी गर्ने लगायतका घटना बढी हुने गरेको ब्युरोका निर्देशक एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन्द अर्यालले जानकारी दिए । 

“साइबर अपराधको प्रवृत्ति हेर्ने हो भने अश्लील फोटो बनाएर दुःख दिने, अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा राखेर बदला लिने, मालवेयर लिङ्क फैलाउने, अर्काको डिभाइसलाई नियन्त्रणमा लिएर फिरौती माग्ने, सरकारी तथा अन्य सङ्घसंस्थाको वेबसाइट ह्याक गर्ने घटना बढी देखिएका छन्,” टेकपानासँग कुरा गर्दै डीआईजी अर्यालले भने, “अनलाइन ठगीको घटनामा भने बैंक तथा वालेटमा पहुँच पाएर ठगी गर्ने घटना बढी छन् ।”

साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/७९ मा फेसबुक र मेसेन्जरमार्फत साइबर अपराधको घटनामा परेको भन्दै तीन हजार ९५६ जनाले उजुरी दिएका थिए । त्यस वर्ष टिकटकबाट ठगी वा साइबर अपराधको शिकार भएको भन्दै उजुरी दिनेहरू २३३ जना पुगेका थिए । त्यसपछि क्रमशः बैंक अकाउन्टमा पहुँच पाएर ठगी गरेको घटना बढी देखिएको थियो । 

त्यसपछि यस्ता साइबर अपराध र अनलाइन ठगीका घटनामा ह्वाट्सएप, युट्युब, इमेल, ईमो, एक्स, वेबसाइट तथा भाइबर समेत प्रयोग भएको ब्युरोको तथ्याङ्कले देखाएको छ । ​

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा फेसबुक तथा मेसेन्जरबाट हुने साइबर अपराधका घटना ४१.७ प्रतिशतले बढेको थियो । उक्त आर्थिक वर्ष ०७९/८० मा टिकटकबाट हुने साइबर अपराध तथा अनलाइन ठगीका ७२१ ओटा घटना दर्ता भएका थिए । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.७ प्रतिशतले बढी हो । 

त्यसपछि क्रमशः इन्स्टाग्राम, ह्वाट्सएप, बैंक, ईसेवा, ईमेल, युट्युब, वेबसाइट, एक्स, ईमो र भाइबरबाट साइबर अपराध र अनलाइन ठगीका घटना भएको देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म फेसबुक तथा मेसेन्जरबाट हुने साइबर अपराध र अनलाइन ठगीका १३ हजार २८ ओटा उजुरी दर्ता भएका छन् । यो भनेको आर्थिक वर्ष २०७९/८० को तुलनामा ४७.९ प्रतिशतले बढी हो । तर, अघिल्लो वर्ष साइबर अपराध र अनलाइन ठगीको घटना टिकटकबाट ह्वात्तै बढेको देखिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ६.२ प्रतिशतले घटेको छ । 

२७ कात्तिककाे मन्त्रिपरिषद् बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा चिनियाँ शर्ट भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगायो, जुन अझै कायमै छ । प्रतिबन्धका कारण यसबाट हुने साइबर अपराध र अनलाइन ठगीका घटना घटेको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा ह्वाट्सएपबाट ७६४, इन्स्टाग्रामबाट ७५७, ईसेवाबाट २८७ जनाले साइबर अपराध तथा अनलाइन ठगी परेको भन्दै उजुरी दिएका थिए । ईमो, एक्स, भाइबर, युट्युब, ईमेलबाट साइबर अपराध तथा अनलाइन ठगी भएको भन्दै छुटपुट उजुरी आउने गरेकाे छ । 

साइबर अपराध र अनलाइन ठगीबाट पीडित हुनेमा महिला धेरै, पुरुषकाे संख्या पनि बढ्दै

साइबर ब्युरोको तथ्याङ्कले पछिल्ला तीन वर्षयता पुरुष पीडितको सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा साइबर अपराध तथा अनलाइन ठगीका घटनाबाट पीडित भएका पुरुषको सङ्ख्या १८९८, २०७९/८० मा ३७३५ र २०८०/८१ मा पीडित पुरुषको सङ्ख्या बढेर ७७१७ पुगेको छ । अर्थात् तीन आर्थिक वर्षको अवधिमा पीडित ४९.२ प्रतिशत र ५१.६० प्रतिशतले बढेको छ ।

“पछिल्लो समय ह्वाट्सएपमा पुरुषलाई कल गर्ने, अश्लील हर्कत गर्न उत्तेजित बनाउने र त्यही भिडिओको आडमा फिरौती माग्ने गतिविधि बढेको छ,” साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, “यसमा पुरुषहरू पीडित छन् । त्यसबाहेक ह्याकिङका घटनामा पनि पुरुष नै बढी पीडित भइरहेका छन् । त्यसैले तुलनात्मक रूपमा पीडित हुने पुरुषको सङ्ख्या बढी देखिएको हो ।”

त्यस्तै तीन आर्थिक वर्षमा साइबर अपराध र अनलाइन ठगीका घटनामा पीडित हुने महिलाको सङ्ख्या १४ हजार १८ भन्दा बढी पुगेको छ । पीडित महिलाको सङ्ख्या आ.व २०७८/७९ को तुलनामा २०७९/८० मा ४८ प्रतिशतले बढेको थियो । त्यस्तै २०७९/८० को तुलनामा २०८०/८१ मा ३४ प्रतिशतले बढेको छ । 

“महिला र बालिकाको सन्दर्भमा उनीहरूको फोटो म्यानुपुलेट गर्ने, रिभेन्ज पोर्न लिने, नक्कली अकाउन्ट बनाएर दुःख दिने घटना बढी छन्,” प्रहरी उपरीक्षक अवस्थीले भने, “तुलनात्मक रूपमा कम प्रतिशतले वृद्धि भएको देखिए पनि यो सङ्ख्या धेरै हो ।”

घटनाको सङ्ख्या कम भएपनि तीन आर्थिक वर्षमा साइबर अपराध र अनलाइन ठगीका घटनाबाट बालकहरूको सङ्ख्या तीव्र गतिले बढिरहेको छ । तीन आर्थिक वर्षमा पीडित बालकको सङ्ख्या क्रमशः १०.९ र ७७.११ प्रतिशतले बढेको छ । 

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनामा लैङ्गिक पहिचान नखुलेकाहरू पनि उत्तिकै पीडित भएका छन् । यस्ता पीडितहरू आर्थिक वर्ष २०७८/७९ मा २१६ जना, २०७९/८० मा ५१२ जना र २०८०/८१ मा ६४१ जना रहेको साइबर ब्युरोको तथ्याङ्कले देखाएको छ । 

इन्टरनेटको बढ्दो पहुँचले साइबर अपराधका घटना पनि दिनानुदिन बढिरहेको अवस्था छ । त्यसैले सर्वसाधारणहरू हरेक समय सचेत हुनुपर्ने अवस्था आएको डीआईजी अर्यालले सुनाए ।

“अहिले नयाँ नयाँ किसिमका साइबर अपराध र अनलाइन ठगीका घटना देखिएका छन्,” उनले भने, “यसबाट जोगिन सर्वसाधारण सचेत हुन आवश्यक छ । कसैलाई झट्ट विश्वास गरेर रकम नपठाउने, पठाउनै परे प्रमाणित गर्ने, अपरिचित नम्बरबाट कल आए नउठाउने, अनावश्यक लिङ्क क्लिक नगर्ने, अपरिचित व्यक्तिलाई सामाजिक सञ्जालका अकाउन्टमा नजोड्ने हो भने यस्ता घटनाबाट धेरै हदसम्म जोगिन सकिन्छ ।”

कुनै पनि साइबर अपराध तथा अनलाइन ठगीका घटनामा भए नजिकैको प्रहरी कार्यालय वा साइबर ब्युरोमा निवेदन दिन डीआईजी अर्यालले सुझाव दिए । त्यस्तै ९८५१२८६७७० वा ०१-५३१९०४४ मा कल गरेर वा  [email protected] मा ईमेल पठाएर पनि निवेदन दिन तथा जानकारी पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १८:३