close

भारतमा २७ लाख पर्ने महिन्द्राको विद्युतीय एक्सयूभी नेपालमा साढे ५२ लाखमा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

जेठ १३, २०८१ १४:१३

भारतमा २७ लाख पर्ने महिन्द्राको विद्युतीय एक्सयूभी नेपालमा साढे ५२ लाखमा सार्वजनिक हुँदै

काठमाडौं । महिन्द्राको विद्युतीय एक्सयूभी ४०० ईएल नेपाली बजारमा भित्रिएको छ । यसै जेठभित्र बजारमा सार्वजनिक गर्ने तयारीका साथ यो नयाँ विद्युतीय गाडी अग्नि मोटर्सले नेपाल भित्र्याएको हो ।

आइतबार मात्रै कम्पनीले एक्सयूभी ४०० ईएल प्रोको मूल्य समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार महिन्द्रा एसयूभी ४०० ईएल (0) फाइभ एसटीआर मोडेलको विद्युतीय गाडीको बजार मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ । तर भारतीय बजारमा भने यो गाडीको मूल्य २६ लाख ७८ हजार रुपैयाँ ( १६ लाख ७४ हजार भारु) रहेको छ ।

यो गाडीले ८.३ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रति घण्टाको एक्सिलेरेसन प्रदान गर्ने दाबी कम्पनीले गरेको छ । यसका लागि ३१० एनएमको टर्क प्रदान गर्ने बताइएको छ । 

भारतमा निर्मित यो गाडीको हाललाई एउटा मात्रै ११० किलोवाट क्षमताको भेरियन्ट नेपाल ल्याइएको हो । यो गाडीले एक पटकको चार्जमा ३७५ किलोमिटर (एमआईडीसी) रेञ्ज दिने बताइएको भए पनि कम्पनीले मोडिफाइड इन्डियन ड्राइभिङ साइकल (एमआईडीसी) अनुसार भने यसको रेन्ज ३५६ किमि रहेको उल्लेख गरेको छ । 

गाडीमा ३४.५ किलोवाट आवरको ब्याट्री रहेको छ भने ग्राहकले साथमा ७.२ किलोवाटको एसी चार्जर पाउनेछन् ।  गाडीमा एलेक्सा सहितको २६.०४ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । साथमा २६.०४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समेत छ ।

अडिओका लागि चार ओटा स्पिकरको साथमा दुई ओटा ट्विटर राखिएका छन् । वायरलेस एन्ड्रोइड अटो, वायरलेस एप्पल कार प्ले, वायरलेस चार्जर, शार्क फिन एन्टेना, क्रुज कन्ट्रोल, अटो डिमिङ आईआरभीएम, फ्रन्ट फग ल्याम्प जस्ता फिचर पनि यो गाडीमा समावेश छन ।

आर १६ डायमन्ड कट एलोय ह्विल, इलेक्ट्रिक फोल्डेबल ओआरभीएम, प्रोजेक्टर हेड ल्याम्प तथा एलईडी डीआरएल पनि यसमा पाउन सकिन्छ । सुरक्षाका लागि गाडीमा छ ओटा एयरब्याग राखिएका छन् भने रियर डिफगर, वाश तथा वाइप, लेदर सिट तथा लेदर स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, रियर भ्यु क्यामेरा, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प गाडीमा दिइएका छन् ।

यस बाहेक यो विद्युतीय गाडीमा महिन्द्राकै अर्को विद्युतीय एक्सयूभी ४०० ईएल प्रोमा रहेका मल्टिपल इन्टेलिजेन्ट ड्राइभ मोड, सिङ्गल पेडल ड्राइभ, ईएसपी, टीपीएमएस, डीएटीसी, रियर एसी भेन्ट, रियर यूएसबी, ओपन चार्ज प्वाइन्ट इन्टरफेस हब इन्टिग्रेसन जस्ता मुख्य फिचर यसमा छुट्ने कुरै भएन । कम्पनीले चार ओटै टायरमा डिस्क ब्रेक राखेको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८१ १५:२४