close

टीका लगाउँदा सोमपालमाथि विभेद गरेको भन्दै सामाजिक सञ्जालमा फेक भिडिओ भाइरल

टेकपाना टेकपाना

जेठ २२, २०८१ २०:३

टीका लगाउँदा सोमपालमाथि विभेद गरेको भन्दै सामाजिक सञ्जालमा फेक भिडिओ भाइरल

काठमाडौं । मङ्गलबार दिउँसोदेखि सामाजिक सञ्जाल फेसबुकमा क्रिकेटर सोमपाल कामीको एउटा भिडिओ निकै भाइरल भइरहेको छ । भिडिओमा सबैभन्दा पहिले कप्तान रोहित पौडेललाई पुजारीले पूजा गराइरहेको देख्न सकिन्छ । पौडेल पछाडि टीका लगाउने लाममा अलराउन्डर गुल्सन झा छन् । त्यसपछि भिडिओको २७ औं सेकेन्डमा झाले आरती लिइरहेको देख्न सकिन्छ । झाले आरती लिएपछि कोच मोन्टी देसाइ टीका आरती लिन्छन् । 

भिडिओको ३६ औं सेकेन्डमा पुजारीले कप्तान पौडेललाई टीका लगाइदिन्छन् । त्यही क्लिपमा कोच देसाइको बायाँपट्टि सोमपाल उभिरहेका देखिन्छन् । टीका लगाएर प्रसाद ग्रहण गरिसकेपछि कप्तान पौडेल पछाडि जान्छन् र कोच देसाइ टीका लगाउन जान्छन् अनि ५२ औं सेकेन्डमा पुजारीबाट टीका लगाउँछन् ।  टीका लगाएपछि उनी पनि प्रसाद ग्रहण गर्छन् र पछाडि जान्छन् । उनीपछि भिडिओको एक मिनेट सात सेकेन्डमा सोमपाल प्रसाद ग्रहण गर्न आएको देखिन्छन् ।

भिडिओमा पुजारीले टीका लगाइदिन खोजेको तर सोमपालले प्रसाद मात्र ग्रहण गरेर फर्किएको देखिन्छ । उनीपछि झाले टीका लगाउँछन् । र, प्रसाद ग्रहण गरेर फर्किन्छन् । त्यसपछि टोलीका अन्य सदस्यहरू आउँछन् । 

यही एक मिनेट ४२ सेकेन्डको भिडिओलाई लिएर सामाजिक सञ्जालमा यस्तो लेखिएको छ, “अ्मेरिकाको मन्दिरमा सोमपाल कामि माथि पन्डितले टिका नलगाइ जातिय बिभेद गरेका छन्। बिभेद रहितको हिन्दु हुनै सक्दैन्। यो पण्डित माथि कारवाही हुनुपर्छ र यस्ता पण्डित हरुको समाजिक बहिष्कार हिन्दू धर्मावलम्बी हरूले गर्नु पर्दछ ।”

भाषिक अशुद्धता त्यस्तै छ भने प्रायः सबै भाइरल भिडिओमा यही एउटै क्याप्सन राखिएको छ । खेलाडीसँगै मन्दिरमा गएका प्रविधि पत्रकार रामचन्द्र भट्टका अनुसार यो भिडिओ भ्रामक हो । भिडिओ भाइरल बनेपछि पत्रकार भट्टले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै यस घटनाबारे स्पष्ट पारेका छन् । भट्टका अनुसार बिहान अरूभन्दा पहिले नै सोमपाल मन्दिरमा पसेका थिए । त्यसपछि उनी सरासर भक्तजनले पूजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला आफैमा क्रिकेटप्रेमी भएको र सोमपाललाई चिनेकाले महादेवको सानो मूर्तिमा जल अभिषेक गराएका हुन्छन् । त्यस लगतै आरती गराएर दुबै पुजारीले टिका लगाइदिएका हुन्छन् । 

“पछि अरु खेलाडी र कोच पनि मन्दिर पसे,” पत्रकार भट्टले लेखेका छन्, “उनीहरूले पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टीका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टीका भएकाले पछि साथीहरूसँग जाँदा चाहिं सोमपालले हातमा प्रसाद मात्र लिए । भाइरल बनाइएको र गाली गरिएको भिडियो यही हो । निधारमा त्यही लगाएको टीका भएकाले उनले दोहोर्याउन चाहेनन् ।”

यसरी एउटा प्रसङ्गको सानो क्लिपलाई लिएर सामाजिक सञ्जालमा विवादित भएको उनले उल्लेख गरेका छन् । “नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौं । उनको निधारमा भएको टीका कहाँबाट आयो ? भेडाहरुले दिमाग लगाउन्,” उनले लेखेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ २०:१८