close

औपचारिक रूपमै खारेज भयो सीजी टेलिकमको दूरसञ्चार लाइसेन्स

टेकपाना टेकपाना

जेठ २४, २०८१ १३:१५

औपचारिक रूपमै खारेज भयो सीजी टेलिकमको दूरसञ्चार लाइसेन्स

 

काठमाडौं । चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) औपचारिक रूपमै खारेज भएको छ ।

बिहीवार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सीजीको दूरसञ्चार लाइसेन्स २०८० मंसिर १६ गतेदेखि नै लागू हुनेगरी खारेज भएको जानकारी दिएको हो । 

प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि सीजीको लाइसेन्स स्वतः खारेज भएको हो । सीजी कम्युनिकेसन (तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा सिजीले निवेदन नदिएपछि दूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको हो । 

सीजी टेलिकमले २०६० मंसिर ५ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमति पाएको थियो । अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले 'लेटर अफ क्रेडिट' बुझाएपश्चात मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएको थियो ।

सोही आधारमा २०८०  मंसिर १६ गतेभित्र कम्पनीको चौंथो नवीकरण हुनुपर्ने थियो । तर, कम्पनीले समयमा आवेदन नदिंदा दूरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार कम्पनी खारेज हुन पुगेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८१ १३:१५