काठमाडौं । जारी आईसीसी पुरुष टी-२० विश्वकपको समूह चरण अन्तर्गत हिजो भएको खेलमा अमेरिकाले पाकिस्तानमाथि सनसनीपूर्ण जीत निकाल्यो । टेक्सासको ग्रान्ड प्रेरी रङ्गशालामा भएको खेल सुपर ओभरसम्म पुगेको थियो । विश्व क्रिकेटमध्येकै उत्कृष्ट देशमध्येको पाकिस्तानलाई तुलनात्मक रूपमा कमजोर मानिएको अमेरिकाले जित्नु चानचुने थिएन ।
तर अमेरिकाले आफ्नो डेब्यू टी-२० विश्वकपमै टेस्ट राष्ट्र पाकिस्तानलाई सुपर ओभरमा पाँच रनले जित्यो । अमेरिकालाई उक्त ऐतिहासिक विजयी दिलाउन सौरभ नेत्रावलकरको विशेष भूमिका रह्यो । किनकि उनले नै सुपर ओभरमा अमेरिकाको तर्फबाट बलिङ गरेका थिए ।
उनले सुपर ओभरमा १३ रनमात्रै दिँदै एक विकेट हात पारेका थिए । त्यस्तै खेल सुपरओभरमा जानुअघि उनले अमेरिकाका लागि महत्त्वपूर्ण दुई विकेट समेत लिएका थिए ।
अहिले क्रिकेटप्रेमीहरू बीचमा उनको चर्चा भइरहेको छ ।
को हुन् सौरभ नेत्रावलकर ?
नेत्रावलकर भारतीय मूलका अमेरिकी क्रिकेटर र सफ्टवेयर इन्जिनियर हुन् । भारतको मुम्बईमा १६ अक्टोबर, १९९१ मा जन्मिएका उनको पूरा नाम सौरभ नरेश नेत्रावलकर हो । उनले आफ्नो बाल्यकाल र युवावस्था भारतमै बिताएका थिए ।
भारतमा हुँदा अन्डर-१९ विश्वकप टोलीमा परेका उनले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । यो सन् २०१० ताकाको कुरा हो । त्यसपछि पनि बायाँ हाते बलर नेत्रावलकरले भारतमा रहेर अन्य प्रतियोगिताहरू पनि खेलिरहे ।
क्रिकेट खेले पनि उनले औपचारिक पढाइलाई छाडेका थिएनन् । मुम्बईको सरदार पटेल इन्स्टिच्युट अफ टेक्नोलोजीमा उनी कम्प्युटर इन्जिनियरिङ पढिरहेका थिए । त्यहीँबाट सन् २०१३ मा उनी स्नातक तह उत्तीर्ण भए ।
लिङ्क्डइनमा उनको प्रोफाइल हेर्दा स्नातक अध्ययनका क्रममा नै उनले ‘क्रिकडिकोड’ नामक कम्पनी स्थापना गरेको देख्न सकिन्छ । नाम सुन्दा उक्त कम्पनी क्रिकेट सम्बन्धी भएको अनुमान गर्न सकिन्छ । तर नेत्रावलकरले उपलब्ध गराएको सो कम्पनीको वेबसाइट अहिले बन्द भइसकेको छ ।
यसका साथै स्नातक तहमै हुँदा ‘स्वस्थ भारत’ नामक कम्पनीमा कन्सल्टिङ सफ्टवेयर इन्जिनियरका रुपमा उनले काम गरेका थिए । त्यस अवधिसम्म आइपुग्दा एक तहको उच्च शिक्षा उनले अध्ययन गरिसकेका थिए । तर क्रिकेटबाट उपलब्धि नभएपछि अवसरको खोजीमा उनी अमेरिका हानिए ।
सन् २०१८ तिर टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा २०१५ को अन्त्यतिर आफू अमेरिका गएको उनले बताएका छन् । अमेरिका पुगेपछि उनी कर्नेल विश्वविद्यालयमा कम्प्युटर साइन्समा भर्ना भएका थिए । त्यहाँबाट उनले स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
यसका साथै अमेरिकी कम्पनी ओराकलमा टेक्निकल स्टाफका रूपमा उनले काम थालेका थिए । अहिले पदोन्नति पाएर सामान्य कामदारबाट उनी प्रिन्सिपल मेम्बरसम्म भइसकेको लिङ्क्डइन हेर्दा थाहा हुन्छ । अर्थात् जुनियर लेभलबाट ओराकलमा छिरेका उनी सिनियर लेभलमा पुगेका छन् ।
व्यावसायिक रुपमा सफ्टवेयर इन्जिनियर भए पनि उनको रुचि क्रिकेटमा थियो । अर्कै क्षेत्रमा काम गरे भए पनि उनले क्रिकेट खेल्न छाडेका थिएनन् । त्यसैक्रममा अक्टोबर २०१८ मा नेत्रावलकरले अमेरिकी क्रिकेट टोलीको कप्तान बन्ने मौका पाए ।
वेस्टइन्डिजमा भएको रिजनल सुपर ५० प्रतियोगिता र ओमानमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा कप्तानको भूमिका निर्वाह गरेका थिए । यसरी व्यावसायिक र रूचिको विषयमा सन्तुलन मिलाइरहेका उनले अमेरिका छिरेको नौ वर्षमै निकै छलाङ मारेका छन् ।