काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्वचालित रूपमा विभिन्न डिजिटल बैंकिङ सेवा प्रदान गर्ने छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मसिन, नगद जम्मा गर्ने मसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।
अध्यक्ष ढकालले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।
“आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने यो पहल ग्लोबल आइएमई बैंकको निरन्तर प्रयासहरूको एक हिस्सा हो," उनले भने, "हामीले आज सार्वजनिक गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रूपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ ।”
आजको युगमा डिजिटल बैंकिङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।
यो डिजिटल युनिभर्सले यस डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले व्यक्त गरेको छ । यस्ता नवीन बैंकिङ प्रविधिहरू अँगालेर बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकता मात्र पूरा गर्नुका साथै डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याउने अपेक्षा समेत व्यक्त गरिएको छ ।