काठमाडौं । एनभिदिया विश्वकै मूल्यवान् कम्पनी बनेको छ । मङ्गलबार कम्पनीको शेयरमूल्य ३.५ प्रतिशत (अर्थात् १३६ डलर) ले बढेपछि माइक्रोसफ्टलाई पछि पार्दै एनभिदिया विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का लागि आवश्यक पर्ने चिप निर्माण गर्दै आएको यस कम्पनीको मूल्य पछिल्ला केही वर्षदेखि आकाशिंदै आएको छ । एआई प्रतिको लोकप्रियता बढ्दै जाँदा लगानीकर्ताको आकर्षण पनि यो क्षेत्रमा बढ्दो छ । जसले गर्दा कम्पनीले राम्रै नाफा कमाइरहेको छ ।
मङ्गलबार कम्पनीको शेयर बढेर ३३ खर्ब ४० अर्ब डलर बढी पुगेको छ । २०२४ को सुरुवातमा कम्पनीको मूल्य अहिलेको भन्दा आधा थियो । आठ वर्षअघि यसको मूल्य अहिलेको तुलनामा एक प्रतिशतभन्दा पनि कम थियो ।
यता माइक्रोसफ्टको शेयरमूल्य भने घटेको छ । बुधबार माइक्रोसफ्टको मूल्य ३३ खर्ब २० अर्ब डलर पुगेको छ । एप्पलको मूल्य पनि माइक्रोसफ्टको जस्तै घटिरहेको छ । हाल कम्पनीको मूल्य ३२ खर्ब ७० अर्ब डलर पुगेको छ ।
दिग्गज प्रविधि कम्पनीहरू एआई विकासमा अग्रसर बनेका छन् । माइक्रोसफ्ट, गुगल, मेटा, एप्पल लगायतका कम्पनी यस दौडमा अगाडि छन् । प्रतिस्पर्धा बढिरहँदा त्यसको फाइदा निरन्तर एनभिदियालाई हुँदै आएको छ । किनभने एनभिदियाले नै यी कम्पनीहरूलाई चिप उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो समय विश्लेषकहरूले एनभिदियाले जति नाफा गर्छ भन्ने विश्लेषण गरेका थिए, कम्पनीले त्यसलाई पनि पछि पारिदिएको छ ।
मे २०२३ मा एनभिदिया १० खर्ब डलर बराबरको कम्पनी बनेको थियो । त्यसपछि गत फेब्रुअरीमा मात्र यस कम्पनीको मूल्य २० खर्ब डलर पुगेको थियो । त्यसको चार महिनामै कम्पनीको शेयर मूल्य १३ खर्ब डलरले बढेको छ ।
गत मेमा कम्पनीले चिप बिक्री गरेर १४ खर्ब डलर नाफा गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
के हो एनभिदिया ? कसरी बन्यो विश्वकै मूल्यवान कम्पनी ?
प्रविधि क्षेत्रमा रूचि राख्नेहरू त्यसमा पनि एआईलाई आत्मसात गर्नेहरूका लागि ‘एनभिदिया’ परिचित नाम हाे । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले यस कम्पनीलाई चर्चाको शिखरमा पुर्याएको छ ।
कम्प्युटर चिप निर्माण तथा वितरणमा चर्चित एनभिदियाकाे चर्चा हुनुकाे पछाडि च्याटजीपीटी रहेकाे छ ।
तीन कम्पुटर चिप इन्जिनियरले सन् १९९३ मा एनभिदिया स्थापना गरेका हुन् । उनीहरूले त्यतिबेला नै कम्प्युटरका लागि शक्तिशाली चिप आवश्यक पर्ने कुराको भविष्यवाणी गरेका थिए ।
पछि सन् २००० मा कम्पनीले माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोलका लागि चिप निर्माण गर्ने सम्झौता गर्यो । त्यही समयदेखि एनभिदिया भिडिओ गेमको बजारमा विस्तार हुँदै गइरहेको छ । भिडिओ गेममा मात्र नभएर फिल्म, टेलिभिजन, म्युजिक उद्योगमा पनि एनभिदियाले बजार कब्जा गरेको छ ।
तर, पछिल्लो समय च्याटजीपीटी तथा अन्य एआई च्याटबटको चर्चाले एनभिदियाको शेयरमूल्य आकाशिएको हो । ओपनएआईले च्याटजीपीटी, गुगलले ‘पाल्म टु’ (PaLM 2) लाई ठूलो सङ्ख्याका डेटाद्वारा तालिम दिनका लागि शक्तिशाली चिपसेट आवश्यक परेको थियो ।
ती कम्पनीले आवश्यक जीपीयू चिप एनभिदियाबाट खरिद गरेका थिए । केही वर्षदेखि एनभिदियाको व्यापार मोडेल एआईमा केन्द्रित छ । तर, विगत डेढ दुई वर्षदेखि एआई टुलले सर्वाधिक चर्चा पाउँदा एनभिदियाको शेयर बढेको हो ।
एआई प्रविधि
एआई मोडेललाई तालिम दिनका लागि ठूलो मात्राको मेमोरी स्टोरेज आवश्यक छ । जसले गर्दा कम्प्युटर चिपको माग बढ्दो छ । झन् पछिल्लो समय माइक्रोसफ्टको बिङ, गुगलको जेमिनाई, मेटाको लामा थ्री र ओपनएआईको च्याटजीपीटीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
जसले गर्दा उनीहरू आफ्ना एआई टुललाई शक्तिशाली बनाउनतर्फ केन्द्रित छन् । यसका लागि उनीहरूलाई आवश्यक चिप एनभिदियाले उपलब्ध गराउँछ । यही कारणले चिपको माग बढ्दा कम्पनी मूल्य पनि बढिरहेको छ ।
एनभिदियाले तयार पार्ने आठ ओटा सबैभन्दा अत्याधुनिक चिपको सेटलाई तीन लाख डलर पर्ने बताइएको छ । यस्ता कम्पनीले आफ्नो च्याटबटलाई तालिम दिन हजारौं चिप खरिद गर्नुपर्ने हुन्छ । यसरी चिपका लागि एनभिदियामा निर्भर हुनुपर्दा ठूला कम्पनीहरूले ठूलो रकम गुमाइरहेका छन् । त्यसैले पनि खर्च कटौती गर्न ठूला कम्पनीहरू आफैं चिप निर्माण गर्नमा केन्द्रित हुने देखिन्छ ।
जसरी एप्पलले चिपका लागि अन्य कम्पनीमा निर्भर हुने अवस्था हटायो, त्यसरी नै अन्य कम्पनीले पनि त्यही लय सम्हाल्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि गुगलले आफ्नै ‘टेन्सर प्रोसेसिङ युनिट’ विकासमा काम गरिरहेको छ भने माइक्रोसफ्ट र अमेजनजस्ता कम्पनी पनि आफ्नै चिप निर्माण गर्ने कार्यमा केन्द्रित छन् ।
एनभिदियाले भने अब वार्षिक रूपमा नयाँ नयाँ एआई चिप सार्वजनिक गर्ने तयारी अगाडि सारेको छ । यो वर्ष क्याकवेल बी २०० जीपीयू सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ योजना अगाडि सार्ने अपेक्षा गरिएको छ ।