काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधा ल्याएको छ ।
यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्ने बताइएको छ ।
यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
साथै महालक्ष्मी विकास बैंकले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग पनि समझदारी गरेको छ । नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षित गरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रूपमा प्रदान गर्न आफ्ना संस्थागत ग्राहकसँग थप सहकार्य गर्ने बैंकको योजना छ ।