काठमाडौं । आफ्नो वार्षिक डेभलपर कन्फ्रेस गरिसकेको एप्पलले अबको दुई महिनापछि आईफोन १६ सार्वजनिक गर्दैछ । यस्तोमा आईफोन पारखीहरू निकै उत्साहित हुन सक्छन् । किनकि आईफोन १५ सिरिजबाट सोचे जस्तो सफलता नमिलेको एप्पलले आईफोन १६ सिरिजलाई उत्कृष्ट बनाउन सक्छ । यसका लागि एप्पलले पक्कै पनि विभिन्न अपग्रेड गर्नेछ ।
अहिले यसबारे विभिन्न आँकलन गर्न थालिएको छ । आज हामी एप्पलले आईफोन १६ प्लसमा गर्न सक्ने प्रमुख अपडेटबारे चर्चा गर्ने छौं:
१. डिजाइन
आईफोन १६ प्रोमा एप्पलले क्यामेरालाई ठाडो तरिकाले राख्ने अनुमान छ । किनकि यसले स्पासियल भिडिओको गुणस्तर सुधार गर्ने बताइएको छ ।
यस प्रकारको क्यामेरा एप्पलले आईफोन १५ प्रोमा पनि दिइएको थियो । यस क्यामेराले स्टेरियोस्कोपिक थ्रीडी भिडिओ खिच्न सक्छ । त्यस्तै एप्पलले साइलेन्ट स्विचको साटोमा नयाँ क्याप्चर बटन राख्न सक्नेछ । जसले फोटो तथा भिडिओ खिच्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।
२. ब्याट्री लाइफ
एप्पलले आईफोन १६ प्लसमा भएको ब्याट्री क्षमतालाई पनि सुधार गर्नेछ । यसका लागि एप्पलले सानो आकारमा भएपनि बढी समय टिक्ने ब्याट्री प्रयोग गर्न सक्छ । त्यस्तै ४० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट र २० वाटसम्मको वायरलेस चार्जिङ सपोर्ट हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।
३. पर्फमेन्स
फोन स्तरीय छ/छैन भनेर निर्धारण गर्ने एउटा विषय हो, पर्फमेन्स । यसैलाई सुधार गर्न आईफोन १६ प्लसमा एप्पलले आफ्नो नयाँ चिप ए१८ राख्न सक्छ । जुन एप्पलले अहिलेसम्म बनाएको मध्ये सबैभन्दा शक्तिशाली चिप हुनेछ । जसले मल्टिटास्किङ तथा गेमिङका लागि राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।
त्यसमाथि यसअघि नै एप्पलले 'एप्पल इन्टेलिजेन्स'को घोषणा भइसकेको छ । यो एआई फिचरहरूको एउटा प्याकेज हो । जुन आईफोन १६ सिरिजमा उपलब्ध हुने छ । यसर्थ आईफोन १६ प्लसको प्रदर्शन सुधार गर्नमा एआई फिचरहरूले फिचरहरूले पनि भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।
४. कनेक्टिभिटी
फोनमा जति राम्रो कनेक्सन भयो, प्रयोगकर्ताको अनुभव त्यति नै राम्रो हुन्छ । किनकि प्रयोगकर्ताले फोनमा इन्टरनेट जोडेर अनेकन् काम गर्न सक्छन् । यसैका लागि एप्पलले आईफोन १६ प्लसमा वाई-फाई सिक्स ई (Wi-Fi 6E) उपलब्ध गराउने छ । यो भनेको वाई-फाईको अर्को पुस्ता हो । जसले अझ छिटो र भरपर्दो इन्टरनेट स्पिड दिनेछ ।
५. क्यामेरा
एप्पलले आईफोन १६ प्लस मोडलमा क्यामेराको क्षमता पनि सुधार गर्नेछ । विशेषगरी स्पासियल भिडिओ तथा एआई फिचर दिने निश्चित हुँदा यो अनुमान गर्नु सान्दर्भिक पनि हुन्छ । यसले गर्दा प्रोफेसनल जस्तो देखिने फोटो/भिडिओ आईफोनबाट खिच्न थप सहयोग पुग्नेछ ।