काठमाडौं । विदेशीसँग कुराकानी गर्न सजिलो बनाउने गरी ह्वाट्सएपमा नयाँ अपडेट आउने भएको छ । गुगलको लाइभ ट्रान्सलेसन फिचर एकीकृत गरेर ह्वाट्सएपले तुरुन्तै कुराकानी अनुवाद हुने फिचर ल्याउन लागेको हो ।
ह्वाट्सएपबारे लेख्ने डब्लुएबेटाइन्फोका अनुसार यो फिचर आएपछि पठाउनेले जुन भाषामा मेसेज पठाए पनि पाउनेले आफ्नै भाषामा पढ्न सक्छन् । अर्थात् स्वतः अनुवाद भएर बुझ्ने गरी मेसेज पढ्न सकिन्छ ।
त्यस्तै यो फिचरले डिभाइसमै अनुवादको काम गर्ने भएकाले व्यक्तिगत डेटा गुगल क्लाउडमा स्टोर नहुने बताइएको छ ।
यसका लागि प्रयोगकर्ताले अनुवाद गर्न चाहेको भाषाको प्याकेज भने डाउनलोड गर्नुपर्ने छ । यसले गर्दा अफलाइनमा समेत सो फिचरले काम गर्नेछ । सुरुमा यो फिचर सीमित भाषामा उपलब्ध हुने बताइएको छ ।
हाल गुगलको लाइभ ट्रान्सलेसन फिचर पिक्सेल डिभाइसको प्रिमियम मोडलमा मात्र उपलब्ध छ । यसले गर्दा ह्वाट्सएपको यो फिचर सबै एन्ड्रोइड फोनमा उपलब्ध नहुन सक्छ । यद्यपि ह्वाट्सएपले यस विषयमा आधिकारिक जानकारी दिइसकेको छैन ।