काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने युवक एक युट्युब च्यानलबाट प्रभावित भएको आशंका गरिएको छ । स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेतिर पेन्सिलभेनियामा भाषण दिइरहेका ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास भएको थियो ।
उक्त प्रकरणमा २० वर्षीय थोमस म्याथ्यु क्रुक्सलाई आरोपी बनाइएको छ । गोली हानेको केही समयमै मारिएका उनी ‘डेमोलिसन र्यान्च’ नामक युट्युब च्यानलबाट प्रभावित भएको खुलेको छ । उनले लगाएको टिशर्टमा ‘डेमोलिसन र्यान्च’ युट्युब च्यानलको लोगो छ ।
अमेरिकी सञ्चारमाध्यमले उनले लगाएको टिशर्टको आधारमा क्रुक्स उक्त युट्युब च्यानलबाट प्रभावित भएको आशंका गरेका छन् । एक करोड १६ लाख बढी सब्सक्राइबर भएको उक्त च्यानल बन्दुक र विध्वंस निम्त्याउने कन्टेन्टका लागि परिचित छ ।
सो च्यानलबाट कुनै पनि बन्दुक कसरी सेटअप गरिन्छ, अनि कसरी पड्काइन्छ भन्ने सिकाइएको छ । अनुसन्धानमा खटिएका अधिकारीले सीबीएसलाई भने अनुसार ती युवकको गाडीमा शङ्कास्पद डिभाइसहरू भेटिएका छन् ।
त्यसबाहेक उक्त डिभाइस सञ्चालन गर्न प्रयोग हुने सामग्री पनि ती युवकको साथमा भेटिएको छ । उक्त डिभाइसबारे अनुसन्धान गर्न बम प्राविधिकहरू खटिएका छन् । ती युवकले सेमि-अटोमेटिक एआर-१५ राइफलबाट सुट गरेको बताइएको छ ।
अनुसन्धानकर्ताका अनुसार सो बन्दुक उनका बुवाले छ महिनाअघि मात्र खरिद गरेका थिए । ट्रम्पमाथि गोली चलाउँदा उनलाई सिक्रेट सर्भिस स्नाइपरमा खटिएका अधिकारीले गोली हानी मारेका थिए ।
क्रुक्ससँग कुनै पनि परिचयपत्र थिएन । उनलाई पहिचान गर्न अनुसन्धानकर्ताले डीएनए र फेसियल रिकग्निसन टेक्नोलोजी प्रयोग गरेका थिए ।