close

यसरी क्रिप्टो माइनिङको अखडा बन्यो सीटीईभीटी

हिक्मत आचार्य हिक्मत आचार्य

साउन १, २०८१ ९:२८

यसरी क्रिप्टो माइनिङको अखडा बन्यो सीटीईभीटी

काठमाडौं । १३ जेठ २०८१ मा नेपाल प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एउटा ईमेल आयो । ईमेलमा सीटीईभीटी अन्तर्गतको टीटी (TITI-Training Institute for Technical Instruction) शाखाको आईटी बिल्डिङमा गैरकानुनी तरिकाले क्रिप्टो माइनिङ भइरहेको दाबी गरिएको थियो ।

उक्त ईमेल १६ जेठ २०८१ मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई फरवार्ड गरियो । सीआईबीबाट १७ जेठमा प्रहरी नायब उपरीक्षक कुमार बस्नेतको कमान्डमा खटिएको प्रहरी टोली सीटीईभीटी अन्तर्गतको टीटी भवनमा रहेको आईसीटी ल्याबमा प्रवेश गर्‍यो । ल्याबमा कोही कर्मचारी नभए पनि त्यहाँका कम्प्युटरहरू प्रायः सबै अन थिए । ‘कोही कर्मचारी पनि नभएको अवस्थामा किन सबै कम्प्युटर अन थिए ?’ भन्ने विषय यो घटनामा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।

विशेषगरी क्रिप्टो माइनिङ गर्नका लागि सयौं कम्प्युटरलाई एउटै सञ्जालमा जोडिन्छ । र, माइनिङ गर्ने एप्लिकेसन स्वतः ब्याकग्राउन्डमा चल्ने बनाइन्छ । यस्तो हुँदा कम्प्युटरमा सामान्य काम गर्दा त्यस्तो समस्या देखिंदैन । रातदिन कम्प्युटर अन छोडेर ब्याकग्राउन्डमा क्रिप्टो माइनिङसँग सम्बन्धित एप्लिकेसन रन भइरहेका हुन्छन् । यसबाट क्रिप्टोकरेन्सी आइरहेको हुन्छ । र, विद्युत त्यति नै बढी खपत भइरहन्छ । त्यसैले कोही नहुँदा पनि सबै कम्प्युटर अन हुँदा त्यहाँ क्रिप्टो माइनिङ भइरहेको सङ्केत देखिएको थियो । 

त्यहाँ प्रवेश गरेपछि प्रहरीले तीन ओटै आईसीटी ल्याब/सर्भर रुमभित्र रहेका कम्प्युटर जाँच्न थाल्यो । चेकजाँच गर्दा ती कम्प्युटरको फायरफक्स ब्राउजरभित्र गिटहब डटकम खोलिएको थियो । सो गिटहब पेजमा सीपीयू माइनर सर्च गरेको भेटियो । सीपीयू माइनर भनेको क्रिप्टो माइनिङ गर्ने प्रक्रिया हो । जहाँ क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारलाई सुरक्षित राख्न कम्प्युटरको सीपीयूको प्रयोग गरिन्छ । 

त्यसपछि प्रहरीले अर्को कम्प्युटर जाँच गर्न थाल्यो । त्यसमा सीपीयू माइनर सफ्टवेयर सञ्चालन रहेको देखियो । त्यो देखिसकेपछि प्रहरीलाई क्रिप्टो माइनिङ भइरहेको भन्ने आशंकामा थप प्रमाण भेटियो ।

सीआईबीको प्रतिवेदन अनुसार त्यहींको अर्को कम्प्युटरमा क्रिप्टो माइनिङसँग सम्बन्धित एक्स एमरिग ६.१६.४ माइनिङ (XMRig 6.16.4 mining), स्टार्ट माइनिङ भेरस क्वाइन माइनिङ (start-mining-verus coin mining) र एसआरबी माइनर मल्टी २.३.९ माइनिङ एप्लिकेसन रन भएको देखियो । यी सबै क्रिप्टो माइनिङसँग सम्बन्धित एप्लिकेसन हुन् । यति भएपछि सीटीईभीको आईसीटी ल्याबमा क्रिप्टो माइनिङ भइरहेको देखियो । 

त्यस लगत्तै प्रहरी नायब उपरीक्षक बस्नेतको कमान्डमा खटिएको टोलीले त्यहाँ भेटिएका अन्य प्रमाणहरू पनि सङ्कलन गर्‍यो । र, उक्त आईसीटी ल्याबमा कार्यरत कर्मचारीको विवरण माग्यो । प्रहरीलाई उक्त आईसीटी ल्याबमा ट्रेनर पदमा विश्वास गुरुङ र सूचना प्रविधि सहायकमा पदमा कार्यरत राजेन्द्र तहमाता रहेको विवरण प्राप्त भयो ।

कर्मचारीको विवरण पाउनासाथ प्रहरी विश्वास गुरुङको घरमा पुग्यो । त्यस क्रममा उनको कोठाबाट एसर ब्रान्डको ल्यापटप  र सामसङ फोन प्रहरीले बरामद गर्‍यो । अनि सुरु भयो अवैध रूपमा क्रिप्टो माइनिङ भइरहेको विषयको उत्खनन ।

उक्त आईसीटी ल्याबमा कार्यरत गुरुङ र तहमाताको संलग्नता देखिएपछि ३० जेठमा ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लिइयो । त्यही दिन सो ल्याबबाट ६४ ओटा कम्प्युटर, सर्भर र हार्डडिस्कसहित अन्य डिभाइस बरामद गरिएको थियो । त्यसपछि यता प्रतिवादीसँग बयान लिने काम अगाडि बढ्यो । र, अर्कोतर्फ बरामद गरिएका डिभाइसमा विस्तृत अनुसन्धान अगाडि बढाएको थियो । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीका अनुसार बरामद गरिएका डिभाइसको फरेन्सिक परीक्षण भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएका विवरण जिल्ला सरकारी कार्यालय भक्तपुर पठाइएको छ । 

कोरियाली कर्मचारी संलग्न भएको आरोप !

प्रहरीले प्रतिवादी  राजेन्द्र ताहामतासँग दुई चरणमा बयान लिएको थियो । पहिलो पटक बयान दिँदा उनले आफ्नो कुनै संलग्नता नभएको बताएका थिए । विशेषगरी सो घटनामा कोरियाली कर्मचारीको संलग्नता हुन सक्ने उनको भनाइ थियो । उक्त भवनमा आवश्यक कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक प्रडक्टहरू कोरियन परियोजना कोइका प्रोजेक्ट (KOICA Project) अन्तर्गत जडान गरिएका हुन् ।

उनले पहिलो पटक प्रहरीलाई बयान दिंदा भने, “कम्प्युटरको परीक्षणको क्रममा देखिन आएको फायरफक्स ब्राउजर, गिटहब डटकममा सीपीयू माइनर सम्बन्धी सर्च गरेको, कम्प्युटरको स्टार्टअपमा सीपीयू माइनर सफ्टवेयर र क्रिप्टो माइनिङ एप्लिकेसनहरू कोइका प्रोजेक्टबाटै खटिएका कोरियन कर्मचारीले नै गरेको हुनुपर्छ ।”

ताहामताले पहिले आफूले ल्याबमा तालिम सकिएपछि सबै कम्प्युटर बन्द गर्ने गरेको बताए । तर, ब्युरोबाट प्रहरी खटिंदा कसरी कम्प्युटर अन भए, त्यो विषय आफूलाई थाहा नभएको उनको भनाइ थियो । त्यस समयमा उनी विदामा रहेको र ल्याबका कम्प्युटर हेर्ने जिम्मा अर्का प्रतिवादी विश्वास गुरुङको रहेको बयान दिएका थिए ।

त्यस्तै ल्याबका कम्प्युटर मर्मत गर्न रिलायन्स इन्फो टेक प्रालिसँग सीटीईभीको सम्झौता भएको थियो । सोही अन्तर्गत कर्मचारी साताको दुई दिन ल्याबमा गई मर्मत गर्ने गर्छन् । ताहामताले करिब डेढ वर्षअघि ती कर्मचारी आएर कम्प्युटर मर्मत गरिसकेपछि कमान्ड प्रोम्प्टमा क्रिप्टो माइनिङसम्बन्धी कोड रन हुने गरेको बताए । हरेक समय आफूले उक्त कोड क्यान्सिल गरी अरू काम गर्ने गरेको उनको भनाइ थियो । 

पहिलो पटक बयान दिंदा उनले आफूले क्रिप्टोकरेन्सीका लागि ब्रेभ ब्राउजरमा क्रिप्टो विज्ञापन हेर्ने गरेको बताए । तर उक्त क्रिप्टोकरेन्सी ब्रेभ बाहेक अन्यमा काम नगर्ने भएपछि प्रयोग गर्न छोडेको उनको भनाइ थियो ।

क्रिप्टो माइनिङ आफू र विश्वास गुरुङले गरेको ताहामताको स्वीकारोक्ति

प्रतिवादी ताहामताले सुरुमा भनेका सबै कुरा प्रहरीलाई बनावटी लाग्यो । त्यसपछि उनीमाथि थप बयान लिइयो । त्यसक्रममा ताहामताले अर्का आरोपित विश्वास गुरुङले सीपीयी माइनर डट ब्याट फाइल राखेको दाबी गरेका छन् । र उक्त ब्याट फाइट कम्प्युटरको स्टार्टअपमा आफै‌ंले राखेको स्वीकारेका छन् । त्यस्तै त्यहाँ भेटिएका क्रिप्टोसँग सम्बन्धित एप पनि विश्वास गुरुङले भने अनुसार डाउनलोड गरी राखेको उनको दाबी छ ।

त्यसबाहेक क्रिप्टोको दर रेट थाहा पाउन आफैले कम्प्युटर क्रिप्टो माइनिङ ट्युटोरियल हेर्ने गरेको र वेबसाइट ब्राउज गर्ने गरेको उनको आरोप छ । 

क्रिप्टोसँग सम्बन्धित विभिन्न एप्लिकेसन प्रयोग गर्दा प्राप्त हुने क्वाइनहरूमध्ये सीपीयू माइनर डट ब्याटबाट र्‍याप्टोरियम (RTM) क्वाइन प्राप्त हुने गरेको उनले खुलाएका छन् । 

माइनिङ गरेको क्रिप्टोको वालेट स्पिड फ्रेड आफूले गुगल किप प्लेटफर्ममा राख्ने गरेको समेत बताएका छन् । यो सबै काम आफूले विश्वास गुरुङको निर्देशनमा गर्दै आएको बताएका छन् । विशेषगरी अहिले क्रिप्टो माइनिङ गर्ने र पछि नेपालमा क्रिप्टो कानुनी हुँदा उक्त रकम बाँड्ने सम्झौता भएको समेत बताएका छन । हालसम्म कुनै पनि क्रिप्टोकरेन्सी बिक्री नगरेको उनको भनाइ छ । 

के भने अर्का प्रतिवादी विश्वास गुरुङले ?

यता प्रतिवादी विश्वास गुरुङले भने यस विषयमा आफूलाई केही पनि थाहा नभएको बयान दिएका छन् । विशेषगरी ल्याबका कम्प्युटर किन अन हुन्छन् भनी प्रतिवादी ताहामतालाई सोध्दा उनले अटोमेटिक अन हुने जवाफ दिने गरेको प्रहरीलाई बताए । प्रतिवादी गुरुङले प्रयोग गर्ने ल्यापटपमा अवैध सट्टेबाजी प्लटेफर्म वनएक्स बेट समेत लगइन थियो । तर, उक्त प्लेटफर्मबारे पनि आफूलाई केही थाहा नभएको उनले बताएका छन् ।

त्यस्तै उनको ल्यापटपमा बाइनान्स र ओकेएक्स जस्ता क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म पनि लगइन भएको देखिएको थियो । उनले ती प्लेटफर्मको बारेमा पनि आफूलाई केही थाहा नभएको बताए । उक्त ल्यापटप आईटी बिल्डिङको भिडिओ कन्फेरेन्स रुममा राखिने भएकाले कसले प्रयोग गर्‍यो आफूलाई थाहा नभएको उनको भनाइ छ ।

क्रिप्टो माइनिङबाट जम्मा भएको क्रिप्टोकरेन्सी वनएक्स बेटमा प्रयोग !

प्रतिवादी राजेन्द्र ताहामताले थप बयानमा खुलाए अनुसार तीन ओटा वालटमा र्‍याप्टोरिम क्वाइन दुई लाख १५ हजार २५, १८८.५७ यूएसडीटी, २१४.५७ भेरस क्वाइन, मोनेरो ४.६४ र ११४२ यूएसडी देखिएको छ । 

प्रतिवादी विश्वास गुरुङले बयानको क्रममा क्रिप्टो सम्बन्धी कुनै पनि काम आफूले नगरेको बताएका थिए । यद्यपि उनले प्रयोग गर्ने ल्यापटपमा बाइनान्स, ओकेएक्स र वनएक्सबेट जस्ता प्लेटफर्म देखिएका छन् । 

त्यसैले क्रिप्टो माइनिङ गरी सङ्कलन गरिएको करेन्सी यी प्लेटफर्ममा एक्सचेञ्ज गरी रकम निकालेको वा बेटिङमा खर्च गरेको हुनसक्ने अनुमान छ । 

सजाय के होला ?

प्रतिवादी ताहामता र गुरुङले आर्थिक लाभका लागि सरकारी सम्पत्तिको चरम दुरुपयोग गरिएको उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा उल्लेख छ । उनीहरूले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरको दफा २६२ (क) को उपदफा (१) र (२) विपरीतको कसुर गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । 

उनीहरूलाई सोही ऐनको दफा २६२ (क) को उपदफा (३) बमोजिम सजाय मागदाबी गरिएको छ । त्यस्तै उनीहरूले सङ्कलन गरेको क्रिप्टोकरेन्सी मुलुकी अपराध संहिता, २०७४ को दफा २६५ बमोजिम जफत गर्न समेत सुझाव दिइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८१ ९:४५