काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले अनलाइन आवेदन प्रणाली सुरू गरेको छ । परराष्ट्र मन्त्रालयले अनलाइन माध्यमबाट सजिलै आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।
शनिवारसम्म करिब ८०० नेपाली विद्यार्थी बंगलादेश छोडेर नेपाल फर्किसकेका छन् । हवाई तथा भूमार्ग दुवैबाट विद्यार्थीहरूको स्वदेश फिर्ती यात्रा भएको मन्त्रालयले जनाएको छ । यो प्रक्रियाका लागि नेपाली दूतावासले राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन समन्वय गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाली दूतावासले बंगलादेशस्थित विश्वविद्यालय, सम्बन्धित निकाय र कानून कार्यान्वयन एजेन्सीहरूसँग समन्वय गरिरहेको छ । नेपाल सरकार बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षामा प्रतिबद्ध छ ।”
विद्यार्थी र उनीहरूका अभिभावकहरूले https://legal.nepalconsular.gov.np/passport मा गई आवश्यक विवरण भरी फर्म सबमिट गर्न सक्नेछन् । यस प्रणालीले उनीहरूको समस्या समाधान गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सजिलो बनाउने बताइएको छ ।
त्यस्तै परराष्ट्र मन्त्रालयका महेश्वरमणि त्रिपाठी (फोन: +९७७९८५११६६९८७, इमेल: [email protected]) र ढाकास्थित नेपाली दूतावासका द्वितीय सचिव योजना बम्जन (फोन: +८८०१८८०६९१०१३, इमेल: [email protected] र [email protected]) तथा रिया क्षेत्री (फोन: +८८०१७४५४०७९५८, इमेल: [email protected]) लाई सम्पर्क गरेर पनि आवश्यक जानकारी दिन सकिने व्यवस्था छ।
यसैगरी, बंगलादेशबाट फर्किएका वा फर्कन लागेका विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं., अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण परराष्ट्र मन्त्रालयलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
यो अनलाइन आवेदन प्रणालीले संकटमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षित र सहज फिर्ती सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।