काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिबद्धता अनुसार आफ्ना ‘बिज सधैं अन’ ग्राहकलाई उच्च गुणस्तरको सामग्रीहरू प्रदान गर्न लायन्सगेट प्लेसँग सहकार्य गरेको छ । लायन्सगेट प्ले लायन्सगेट इण्डिया र स्टार्जबाट प्राप्त हुने एक प्रिमियम स्ट्रिमिङ सेवा हो, जसमा दर्शकलाई आकर्षित गर्ने विभिन्न फ्रान्चाइजी, प्रिमियरहरू लगायत धेरै प्रिमियम सामग्रीहरूको ठूलो लाइब्रेरी छ ।
यस सहकार्यको उद्देश्य ‘बिज सधैं अन’का सदस्यहरूलाई बन्डल सेवाको रूपमा विशेष सामग्रीमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु रहेको कम्पनीले जनाएको छ ।
“लायन्सगेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो विशेष टिकट नै हो, जसले हाम्रा ग्राहकहरूलाई विश्वका अग्रणी सार्वजनिक रूपमा व्यापार गरिएका सामग्री कम्पनीहरूमध्ये एक लायन्सगेटको वृहत् संग्रहमा पहुँच दिन्छ,” एनसेलका हेड अफ बिजनेस सोलुसन्स रञ्जन शर्माले भने ।
स्ट्रिमिङ पार्टनरका रूपमा लायन्सगेटसँग सहकार्य सुरु भएपछि ग्राहकबाट यस प्लेटफर्मबारे धेरै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उनको भनाइ छ ।
लायन्सगेट प्लेले विभिन्न विधाहरूमा धेरै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्म, टिभी शो, लायन्सगेट ब्यानरमा बनेका ओरिजिनल सामग्री, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्रीहरू तथा विश्वभरका दर्शकहरूले मन पराएका अन्तर्राष्ट्रिय चलचित्रहरू रहेका छन् ।
“विश्वस्तरीय स्ट्रिमिङ अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्सगेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं,” लायन्सगेट प्ले एसियाका अध्यक्ष रोहित जैनले भने, “समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरू सहित हाम्रा सामग्रीहरूको वृहत् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरूका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौं ।”
लायन्सगेट प्लेमा पहुँच लिन एनसेलका ग्राहकले आफ्नो सर्भिस प्लानलाई *123# डायल गरेर वा एनसेल एपमा गई अपग्रेड गर्न सक्छन् । लायन्सगेट प्ले एप गुगल प्लेस्टोर, एप्पल एपस्टोर तथा अमेजन फायरस्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।