काठमाडौं । झण्डै १२ हजार नेपालीलाई ठगी गरी ‘एमएफओसीएल’ नामको प्लेटफर्म गायब भएको छ । अनलाइनमा रकम जम्मा गर्दा हजारौं आम्दानी हुन्छ भन्ने प्रलोभन देखाएको यो प्लेटफर्म नेटवर्किङ शैलीमा सञ्चालन भइरहेको थियो । करिब तीन महिनाअघि मात्रै सञ्चालनमा आएको प्लेटफर्ममा हजारौं नेपाली प्रयोगकर्ता जोडिएका थिए ।
‘एमएफओसीएल’ मा सबैभन्दा पहिले कुनै व्यक्तिको रेफरल लिङ्कबाट वेबसाइटमा जाने र त्यसपछि रकम जम्मा गर्न लगाइन्थ्यो । “मलाई एक जना साथीले राम्रो आम्दानी हुन्छ भनेर यसको लिङ्क दिएको थियो,” एक पीडितले टेकपानासँग भने, “त्यो लिङ्कबाट अकाउन्ट बनाई सुरुमा दुई हजार रुपैयाँ जम्मा गरें । अहिले त्यो पैसा निकाल्नै मिल्दैन ।”
साढे १२ हजार बढी सदस्य रहेको एमएफओसीएललले आफूलाई ‘एम फोकस लिमिटेड’ नामबाट चिनाएको थियो । लिङ्कको यूआरएल भने नामसँग मिल्ने किसिमको राखिएको थिएन । जति बढी प्रयोगकर्ता थप्न सकियो, त्यति नै बढी आम्दानी हुने प्रलोभन देखाई रकम जम्मा गर्न लगाइन्थ्यो ।
“जति बढी मान्छे आफ्नो लिङ्कबाट ल्याउन सक्यो, त्यति नै बढी फाइदा हुन्छ भन्ने लोभ देखायो,” अर्का एक पीडितले भने, “मैले त्यति मान्छे बाहिर बनाउनुभन्दा भनेर २५ ओटा अकाउन्टका लागि आफैले ५० हजार रुपैयाँ राखेर गाउँका भाइहरूलाई अकाउन्ट बनाउन लगाएको थिएँ । अहिले यो प्लेटफर्म नै बन्द भयो ।”
पीडितहरूलाई यो प्लेटफर्मले कसरी काम गर्छ भन्ने पनि स्पष्ट जानकारी नभएको देखिन्छ ।
अर्का एक पीडितले भने, “मलाई त पैसा राख्यो, अनि अरू युजरलाई आफ्नो रेफरल लिङ्क दियो भने आम्दानी हुन्छ भनेको थियो । मैले तीन/चार जनालाई जोडेको थिएँ । पैसा पनि जम्मा भइरहेको देखिन्थ्यो । तर, प्लेटफर्म नै बन्द भयो ।”
एमएफओसीएल नेपाल नाम राखिएको टेलिग्राम च्यानलमा अहिले पनि ११ हजारभन्दा बढी सर्वसाधारण रकम फिर्ता आउने आशमा बसेका छन् । पहिले मेसेज पठाउन सकिन्थ्यो भने अहिले कसैले मेसेज पठाउन नसकिने बनाइएको छ ।
उक्त प्लेटफर्म हेर्दै जाँदा अधिकांश प्रयोगकर्ताले न्यूनतम दुई हजार रुपैयाँ जम्मा गरेको देखिन्छ । र, उक्त कम्पनीले जे टास्क पूरा गर्न भनेको छ/ त्यही काम पूरा गरी आजको टास्क सकियो भन्दै मेसेज पठाएको देखिन्छ ।
हामीले यस प्लेटफर्ममा रकम डुबाएका केही पीडितसँग कुरा गर्यौं । यसमध्ये अधिकांशले १० हजार रुपैयाँ बढी गुमाएको दाबी गरेका छन् । कतिपयले भने नेटवर्किङ शैलीले अरू मान्छे जोड्ने, तर उनीहरूको सट्टा आफैले रकम राखेर बढी रकम डुबाएको देखिन्छ ।
शैली एक, प्लेटफर्म अनेक
ठूलो सङख्यामा नेपाली ठगिएको यो पहिलो पटक होइन । यस्ता कैयौं प्लेटफर्म आए, जसले छोटो समयमा लाखौं आम्दानी हुने आश्वासन दिएर सर्वसाधारणलाई ठगेर भागे । त्यसको पछिल्ला उदाहरण फिफिया र निजमेगन हुन् ।
ठगी गर्ने नियतले सञ्चालन भएका यी प्लेटफर्मले सबैभन्दा पहिले नेटवर्किङ शैलीमा प्रयोगकर्ताको सङ्ख्या बढाउँछन् । सुरु सुरुमा रकम पनि फिर्ता दिन्छन् । जति बढी रकम राख्यो, त्यति बढी आम्दानी हुने प्रलोभन देखाउँछन् । तर, प्रयोगकर्ता बढ्दै जाँदा केही न केही बहाना बनाएर गायब हुन्छन् ।
यसअघि फिफिया र निजमेगनले टेकपानाले समाचार प्रकाशित गरेकै कारण आफूले प्लेटफर्म बन्द गर्नुपरेको दाबी गरेका थिए । तर, उनीहरूको त्यो बहाना मात्र भएको सहजै पत्ता लगाउन सकिन्छ ।
यस्ता प्लेटफर्म सर्वसाधारणलाई यसरी विश्वासमा पार्छन् कि उनीहरू ऋण गरेरै भए पनि रकम जम्मा गर्न तयार हुन्छन् । जब रकम दोब्बर हुन्छ, त्यतिबेला प्लेटफर्म सुटुक्क बन्द गरी गायब हुन्छन् ।
चिनेकै मान्छेले त ठगिदिन्छ, कहिल्यै नदेखेको प्लेटफर्ममा जम्मा गरेर आम्दानी गर्छु भन्नु भ्रम होः प्रहरी
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटी यस्ता अपरिचित प्लेटफर्मको विश्वास नगर्न सुझाव दिन्छन् । “नाम नयाँ नयाँ राखेर रकम जम्मा गर्न लाउने अनि अन्तिममा गायब हुने प्लेटफर्मको बिगबिगी बढ्दो छ,” बोगटीले भने, “हाम्रो कार्यालयमा पनि यसरी प्लेटफर्ममा रकम डुब्यो भन्दै कैयौं सर्वसाधारण आउनुहुन्छ । तर, मान्छे पहिले नै सचेत हुनुपर्छ ।”
दैनिक दोब्बर बढी आम्दानी हुने प्रलोभन कतैबाट आए त्यस्ता प्रलोभनमा नपर्न उनले सुझाव दिए । उनले अगाडि भने, “सबैभन्दा पहिले व्यक्तिको अवस्था पहिचान गर्छन्, अनि त्यही अनुसार रकम जम्मा गर्न लगाउँछन् । कतिपय भने नेटवर्किङ शैलीमा सञ्चालन भइरहेका हुन्छन् ।”
कसैले ‘बेट गरेर पैसा कमाउने हो’ वा अर्को व्यक्तिलाई जोड्दा रकम आउँछ भन्यो भने त्यो ठगी हो भन्ने बुझ्नुपर्ने बताए । कुनै प्लेटफर्ममा लगानी गर्नु छ वा त्यसबाट आम्दानी गर्नु छ भने त्यसको विश्वसनीयता बुझ्न प्रहरी उपरीक्षक बोगटीले सुझाव दिए । “यदि तपाईंलाई धेरै रकमको लोभ देखाएको छ भने त्यो झुक्याउने बाटो हो भन्ने बुझे हुन्छ,” उनले अगाडि भने, “होइन, यदि उसले दिएको सुझाव जायज छ भन्ने लाग्यो भने त्यसको विश्वसनीयता बुझ्नुपर्छ ।”
त्यसका लागि अनलाइनमा आफै अध्ययन गर्न सकिने उनको सुझाव छ । यदि त्यो सम्भव भएन भने अनलाइनमा अभ्यस्त अर्को व्यक्तिबाट सुझाव लिन सकिने उनले सुनाए ।
“क्रिप्टोकरेन्सी, हाइपर फन्ड, हुन्डी, सट्टेबाजी, विदेशबाट गिफ्ट पठाइदिने, चिठ्ठाको रकम पठाउने, उपहारमा फोन पर्यो भन्दै त्यसबापत रकम माग्यो भने ठग्ने उद्देश्य हो भन्ने बुझ्दा हुन्छ,” उनले थपे ।
यदि कोही यस प्लेटफर्मबाट ठगिए नजिकको प्रहरी कार्यालयमा उजुरी दिन पनि प्रहरी उपरीक्षक बोगटीले अनुरोध गरे ।