close

ल्याबमा भएका कम्प्युटर बिग्रिनुअघि नै थाहा दिने नेपाली विद्यार्थीको प्रविधि

टेकपाना टेकपाना

साउन १९, २०८१ १९:१५

ल्याबमा भएका कम्प्युटर बिग्रिनुअघि नै थाहा दिने नेपाली विद्यार्थीको प्रविधि

काठमाडौं । समिर अर्याललाई कलेजको कम्प्युटर ल्याबमा जाँदा एउटै कम्प्युटरमा बसेर पूरा समय सिकौं भन्ने लाग्थ्यो । तर अवस्था सधै कहाँ सोचेजस्तो हुन्थ्यो र ! ल्याबमा बिग्रिरहने कम्प्युटरका कारण कहिलेकाहीँ साथीहरूले चलाएको देखेर उनी चित्त बुझाउँथे । किनकि ल्याबमा सीमित कम्प्युटर थिए ।

यसले गर्दा बिग्रिरहने कम्प्युटरबारे पहिल्यै थाहा पाउन सके कत्ति सहज हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो । यही जिज्ञासालाई वास्तविकतामा रूप दिने प्रयासमा उनी जुटेका छन् । समिरले कलेजका सहपाठीहरूसँग मिलाएर एउटा प्रविधि बनाएका छन्, ‘स्मार्ट ल्याब म्यानेजमेन्ट सिस्टम’ (एसएलएमएस) ।

एभरेष्ट इन्जिनियरिङ कलेज, स्नातक तह अन्तिम सेमेस्टरमा परियोजनाका रूपमा उनीहरूले यो प्रविधिको नमुना तयार पारेका हुन् । परियोजनामा समिरसँगै सन्देश बस्याल, प्रेजिना कर्मचार्य र रसिक जोशी जोडिएका छन् ।

जसमा समिरले एक्सपोर्ट सिस्टम, सन्देशले फ्रन्टइन्ड, प्रेजिनाले ब्याकइन्ड र रशिकले डकुमेन्टेसनको काम सम्हालेका छन् । उनीहरूको यस परियोजनामा दुई ओटा प्रणाली छन् । पहिलो, कम्प्युटर ल्याबमा हुने शिक्षकको कामलाई स्वचालित गर्ने । दोस्रो, ल्याबमा भएका कम्प्युटरको स्वास्थ्य निगरानी गर्ने ।

एसएलएमएस बनाउने विद्यार्थीहरू‍ अवलोकनकर्ताहरूलाई जानकारी दिँदै, क्रमश: बायाँबाट प्रेजिना, समिर र सन्देश

यसकारण आफ्नो परियोजना कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक केन्द्रित भएको विद्यार्थीहरू बताउँछन् । यसले शिक्षकहरूलाई विद्यार्थीको कम्प्युटर ल्याब रिपोर्ट बनाउन, विद्यार्थीलाई उनीहरूको प्रदर्शन अनुसार अङ्क प्रदान गर्न, ल्याबमा विद्यार्थीको उपस्थिति हेर्न र ल्याबमा भएका कम्प्युटरबारे जानकारी पाउन सहज र सरल बनाउने छ । 

किनकि तिनैका आधारमा शिक्षकले सेमेस्टर अथवा वर्षको अन्त्यमा विद्यार्थीको रिपोर्ट केही क्लिकमै निकाल्न सक्ने अर्याल सुनाउँछन् । जसलाई भिजुअल्ली प्रेजेन्टेसन गर्न सकिने भएकाले  विश्लेषण गर्न पनि सकिने उनको भनाइ छ । 

प्रणालीले कसरी गर्छ काम ?

‍विद्यार्थीहरूले बनाएका एउटा प्रणाली शिक्षकको कम्प्युटरमा राखिन्छ । जसबाट शिक्षकले विद्यार्थीको हाजिरी गर्ने, ल्याब रिपोर्ट विश्लेषण गर्ने, त्यसैका आधारमा विद्यार्थीलाई अङ्क प्रदान गर्ने गर्छन् । 

अर्यालका अनुसार कतिपय ल्याबमा तोकिएको समयभन्दा विद्यार्थी १५ मिनेटपछि आए अनुपस्थित गर्ने व्यवस्था छ । तर उनीहरूले सिस्टममा टाइमर पनि राखेका छन् । ताकि शिक्षकले विद्यार्थी १५ मिनेटभन्दा ढिलो आए कारण सहित हाजिरी गर्न सकून् । 

त्यस्तै अर्को सिस्टम ल्याबमा भएका सबै कम्प्युटरमा राखिन्छ । जुन कम्प्युटर ‘अन’ हुनासाथ स्वतः चल्नेछ । र, हरेक १०/१५ मिनेटमा कम्प्युटरको अवस्थाबारे एड्मिन (कम्प्युटर शिक्षक अथवा प्रशासनका व्यक्ति)लाई जानकारी दिइरहन्छ । जसमा र्‍याम, सीपीयू, जीपीयू. तापक्रम आदिको विवरण हुन्छन् । यसलाई उनीहरूले सिस्टमको एक्सपर्ट फिचर नाम दिएका छन् ।

यता सर्भरमा कम्प्युटरको स्वास्थ्यलाई लिएर थ्रेड्सहोल्ड बनाइएको हुन्छ । जसै ल्याबका कम्प्युटरबाट आएका रिपोर्ट थ्रेड्सहोल्ड अनुसार कट्छन्, त्यसपछि एड्मिनलाई अलर्ट जान्छ । जसमा कुन ल्याबको कुन कम्प्युटर बिग्रन लागेको छ भन्ने जानकारी दिइएको हुन्छ । यसरी बिग्रन लागेका कम्प्युटरलाई पहिल्यै मर्मत सम्भार गर्न आफ्नो प्रणालीले काम गर्ने विद्यार्थीहरू बताउँछन् । 


कलेजमा प्रस्तुत गर्नुपर्ने भएकोले अन्तिम वर्षको परियोजना स्वरूप उनीहरूले यसलाई बनाएका हुन् । यसमा थप काम गरी आफ्नै कलेजमा यो प्रणाली लागू गर्ने सोचमा उनीहरू छन् । यदि कलेजमा सफल भए प्रणालीलाई थप सुधार गरेर व्यावसायिक रूपमा लाने उनीहरूको योजना छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८१ १९:१५