close

ह्याक भएपछि ‘सीआर सेभेन होरा’ ले भने- ‘अबदेखि युट्युब च्यानलको एक्सेस कसैलाई दिन्नँ’

टेकपाना टेकपाना

साउन २०, २०८१ ११:१७

ह्याक भएपछि ‘सीआर सेभेन होरा’ ले भने- ‘अबदेखि युट्युब च्यानलको एक्सेस कसैलाई दिन्नँ’

काठमाडौं । सीआर सेभेन होरा (CR7 Horaa) नामबाट चिनिने गेमर तथा स्ट्रिमर सञ्जन गौतमको युट्युब च्यानल आइतबार बिहान ह्याक भयो । ह्याक भएपछि ह्याकरले छ लाख १९ हजार बढी सब्सक्राइबर भएको उनको च्यानलको नाम परिवर्तन गरेर 'माइक्रो स्ट्राटेजी' राखे ।

ह्याक भएको उनको च्यानलको सबै भिडिओ गायब बनाई टेस्लाको लाइभ प्रसारण गरिएको थियो । अहिले युट्युब च्यानल फिर्ता आइसकेको छ ।

गौतमले लाइभमार्फत च्यानल कसरी ह्याक भयो भन्ने खुलाएका छन् । उनका अनुसार सो च्यानलको मेनेजरको एक्सेस ‘डीआरएस एजे’सँग थियो । उनै डीआरएस एजेको जिमेल ह्याक हुँदा सीआर सेभेन होरा च्यानलको एक्सेस गुमेको हो ।

युट्युब च्यानलमा मुख्य व्यवस्थापकले अन्य व्यक्तिलाई विभिन्न किसिमका एक्सेस दिन मिल्छ । यदि उसले च्यानलको मेनेजरको एक्सेस अर्को व्यक्तिलाई दिएको छ भने उक्त मेनेजरले नाम परिवर्तन गर्ने, मोनिटाइजेसन परिवर्तन गर्ने, भिडिओ हाइड गर्ने लगायतका पहुँच पाउँछ ।

आफूले मुख्य च्यानलमा सुरक्षाका सबै मापदण्ड पूरा गरे पनि मेनेजर एक्सेस दिएका व्यक्तिको कमजोरीका कारण युट्युब च्यानल ह्याक भएको उनले सुनाए ।

“अब म मेरो युट्युब च्यानलको एक्सेस कसैलाई पनि दिन्न,” लाइभमा सीआर सेभेन होराले भने, “सबै म आफै मेनेज गर्छु ।”

पछिल्लो समय नेपाली युट्युबरको च्यानल ह्याक हुने क्रम बढ्दो छ । खासगरी एक्सेस दिएको व्यक्तिको कमजोरी, पाइरेटेड सफ्टवेयरको प्रयोग, फिशिङ लिङ्क क्लिक जस्ता कारणले ह्याक हुने गरेको देखिन्छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ताले च्यानल ह्याक हुनबाट जोगाउन मल्टिफ्याक्टर अथेन्टिकेसन राख्न, पाइरेटेड सफ्टवेयर तथा एप प्रयोग नगर्न, विज्ञापन गर्ने भन्दै आएका लिङ्क क्लिक नगर्न सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८१ ११:३५