काठमाडौं । अछामको साँफेबगरमा रोहन बुढा (नाम परिवर्तन)को कम्प्युटर पसल छ । जिल्लाभरका इच्छुक व्यक्तिलाई कम्प्युटर सिकाउने, अनलाइन फर्म भरिदिने, कम्प्युटर मर्मत गर्ने काम उनकै पसलबाट हुन्छ । आफू लेखा परीक्षणको काम गर्ने भएकाले रोहन प्रायः पसल बाहिर हुन्छन् । त्यसैले उनले आफ्नो कम्प्युटर पसलको जिम्मा आफ्ना भाइलाई दिएका थिए ।
उनका भाइ रोहित बुढा (नाम परिवर्तन) फाइनान्स विषयमा मास्टर्स गर्दैछन् । कम्प्युटरको प्रायः जानकारी भएकाले सिकाउने, अनलाइन फर्म भरिदिने लगायतका काम उनले गर्दै आएका थिए । त्यही बीचमा गत मङ्गलबार रोहितले सामाजिक सञ्जाल फेसबुकमा एउटा विज्ञापन देखे । त्यसमा रकम लगानी गरे दैनिक हजारौं आम्दानी हुने आश्वासन देखाइएको थियो । त्यसलाई विचार गर्न रोहितले लिङ्क क्लिक गरे ।
“म आफै अनलाइनसम्बन्धी बढी काम गर्ने भएकाले पनि विभिन्न माध्यमबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा खोजिरहन्थें,” टेकपानासँग उनले भने, “त्यो दिन भनेको जस्तै प्लेटफर्म भेटिएपछि ट्राई गर्न लिङ्क क्लिक गरें ।”
उनले लिङ्क क्लिक गर्दा टेलिग्राम च्यानल खुल्यो । त्यसमा कुरा गर्दै जाँदा एजेन्टले रोहितलाई आफू ‘बोल’ प्लेटफर्मबाट रहेको बताए । बोल नेदरल्यान्डको ईकमर्स प्लेटफर्म हो ।
“मलाई बोल ईकमर्स प्लेटफर्म हो, त्यसमा तपाईंले लगानी गर्दा राम्रै आम्दानी हुन्छ भनेपछि मैले त्यस विषयमा खोज्न थालें,” उनले अगाडि भने, “अनलाइनमा खोज्दा बोल आधिकारिक प्लेटफर्म भएको पत्ता लगाएँ ।”
अनलाइनमा ‘बोल’ नामको प्लेटफर्म वास्तवमै भएको फेला पारेपछि रोहितले ती एजेन्टको कुरा विश्वास गरे । उनलाई सुरुमा एउटा लिङ्क पठाएर अकाउन्ट बनाउन भनियो । रोहितले त्यस्तै गरे । त्यसपछि केही रकम बोनस राखियो । र, अर्डर कन्फर्म गर्न भनियो । उनलाई अर्डर कन्फर्म गर्न सिकाइसकेपछि एजेन्टले एउटा बैंक अकाउन्ट पठाएर त्यसमा एक हजार रुपैयाँ पठाउन लगाए ।
उनले एजेन्टले भनेकै बैंक अकाउन्टमा हजार रुपैयाँ पठाइदिए । त्यसको केही मिनेटमा नेपाली बैंक अकाउन्टमा पठाएको रकम बोल (लिङ्क फरक थियो तर नाम ‘बोल’ भनिएको थियो) प्लेटफर्ममा देखियो । अनि उनले दुई ओटा अर्डर कन्फर्म गरे । दुई ओटा अर्डर कन्फर्म गर्दा उनलाई ११०० रुपैयाँ फाइदा भयो । उनलाई सो रकम कुन अकाउन्टमा चाहिन्छ भनेर सोधियो । उनले आफ्नो बैंक अकाउन्ट पठाए । त्यसको १५ मिनेटमा रकम उनको खातामा आइपुग्यो ।
“१५ मिनेटमा दुई ओटा अर्डर कन्फर्म गरेको ११०० रुपैयाँ फाइदा भयो,” उनले आशावादी भावमा भने, “अब तपाईंलाई राम्रो कमिसन आउँछ भनेर उनीहरूले मलाई एउटा लिस्ट पठाए ।”
उक्त लिस्टमा सात ओटा टास्क पूरा गर्दा २० प्रतिशत कमिसन आउने, आठ ओटा टास्क पूरा गर्दा ३० प्रतिशत कमिसन आउने बताइएको थियो । उनले कमिसन राम्रै पाउने आशा राखी आठ ओटा टास्क पूरा गर्ने बताए ।
त्यसमा पहिले नै सर्त राखिएको थियो कि उनले भनेको समयमा रकम नपठाए पहिले पठाएको रकम पनि गुम्छ । त्यस्तै सबै टास्क पूरा गरिसकेको १५ मिनेटमा कमिसन सहितको रकम बैंक अकाउन्टमा टुप्लुक्क आइपुग्छ भनेर आश्वासन दिइएको थियो ।
“ नियम राम्रैसँग बुझेको जस्तो लाग्यो । एउटा टास्कमा एउटा अर्डर आउँछ होला जस्तो लागेको थियो । तर, काम गर्दै जाँदा एउटा टास्कमा दुई, चार, आठ, १०, १२ हुँदै अर्डरको सङ्ख्या बढ्दै गयो,” उनले थपे ।
हरेक टास्क पूरा गर्नुअघि जतिको अर्डर आएको छ, त्यही बराबरको रकम एजेन्टले भनेको खातामा पठाइदिनु पर्ने थियो । रकम नहुँदा अर्डर कन्फर्म गर्न मिल्ने व्यवस्था थिएन । रोहितसँग पसलको अकाउन्ट भएकाले झन्डै पाँच लाख रुपैयाँ उनीसँगै थियो । त्यसपछिका अर्डर कन्फर्म गर्न उनलाई पैसा आवश्यक पर्यो ।
उता रोहितका दाजुलाई निरन्तर रकम काटिरहेको मेसेज गइरहेको थियो । तर, अछामको नेटवर्क नै नटिप्ने ठाउँमा गएकाले उनले त्यस विषयमा खासै थाहै पाएनन् । यता रकम जम्मा नगरे पहिलेको सबै रकम गुम्ने भन्दै एजेन्टले रोहितलाई अत्याइरहेका थिए । बरु कमिसन नआए पनि पहिलेको रकम फिर्ता आओस् भनेर रोहितले दाइको नाम लिएर गाउँमा ऋण मागे ।
“म इमान्दार मान्छे हुँ । गाउँघरमा पर्दा मैले सबैलाई सहयोग गरेकै हुन्छु । मेरो नाम लिएर भाइ पैसा माग्न गएपछि उसले रकम पायो,” रोहितका दाइ रोहनले भने, “झन्डै पाँच लाख रुपैयाँ ऋण लिएको रहेछ ।”
यता रोहित एजेन्टले भने अनुसार अर्डर कन्फर्म गर्दै थिए । त्यही बेला रोहितका दाइले मोबाइलमा आएको मेसेज देखे । त्यसमा रकम थोरै थोरै गरी निकालिएको देखिएको थियो । त्यसभन्दा पहिले यसरी पसलबाट कहिल्यै रकम काटिएको थिएन ।
उनले तत्कालै आफ्ना भाइलाई फोन गरेर बुझे । रोहितले दाइले आफूले अनलाइन बिजनेस गरेको र रकम दुई दिनमै फिर्ता आउने बताए । तर, रोहितका दाइ रोहनलाई भाइको कुरा विश्वास लागेन । उनले आफूले चिनेका व्यक्तिलाई यस प्लेटफर्मका बारेमा सोधे । धेरैले उनलाई रकम जम्मा नगर्न सुझाव दिए । रोहनले भाइलाई कल गरेर अब रकम जम्मा नगर्न भने ।
तर, यता रोहितलाई अन्तिम टास्क वापत तीन लाख रुपैयाँ तिर्नुपर्ने थियो । त्यो रकम तिरेको खण्डमा कमिसनसहितको रकम उनको बैंक अकाउन्टमा आउने आश्वासन देखाइएको थियो ।
रोहितले एजेन्टले पठाएको गाइडबुक पहिले नै पढिसकेका थिए । त्यसमा स्पष्ट रूपमा सबै टास्क पूरा गर्नुपर्ने उल्लेख थियो । त्यसैले उनले आफ्ना दाइको कुरालाई बेवास्ता गरी अन्तिम तीन लाख रुपैयाँ पठाइदिए ।
रकम पठाएर अर्डर कन्फर्म गरिसकेपछि रोहितले एजेन्टलाई सम्पर्क गरे । उनले १५ मिनेटमा रकम खातामा आइपुग्ने बताए । तर, १५ मिनेट बित्नासाथ एजेन्टले बैंक भेरिफिकेसनका लागि साढे दुई लाख रुपैयाँ तिर्नुपर्ने बताए ।
अब उनीसँग तिर्न सक्ने रकम थिएन । माग्ने ठाउँ पनि लगभग सकिएको थियो । पाउने आशा गुमाउँदै गएका रोहितले आफ्नो पैसा फसेको चाल पाइसकेका थिए । र, अन्तिममा दाइलाई सबै घटनाको बेलीविस्तार लगाए । उनका दाइले शहरमा भए एक आफन्तलाई यस विषयमा सोधे । ती आफन्तले रोहनलाई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सुझाव दिए ।
शुक्रबार रोहन जिल्ला प्रहरी कार्यालय अछाम पुगी दुई दिनमा नौ लाख ४८ हजार रुपैयाँ ठगी भएको भन्दै ४२ जनालाई विपक्षी बनाएर अनलाइन ठगी सम्बन्धी निवेदन दिए । प्रहरीका अनुसार अहिले रोहनको विषयमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले सम्बन्धित बैंकलाई पत्र पठाएर खातावालको विवरण सङ्कलन गरिरहेको छ । निवेदन दिएपछि रोहित रकम फिर्ता पाउने आशामा छन् । उनले भने, “फाइनान्स पढेकै मान्छे हुँ । खै कसरी जालोमा परें परें । अब त कहिल्यै पनि लोभमा पर्दिनँ ।”