काठमाडौं । अब एआईले युट्युब भिडिओ बनाउने प्रक्रियालाई सहज बनाउन सघाउने भएको छ । युट्युबमा अपलोड गर्ने भिडिओ, त्यसको शीर्षक र थम्बनेलबारे क्रियटरलाई सजिलो बनाउन गुगलले नयाँ नयाँ फिचर ल्याउन लागेको हो ।
क्रियटर इन्साइडर च्यानलमा एक भिडिओ अपलोड गर्दै गुगलले यसका लागि जेमिनाई एआईलाई एकीकृत गर्न लागेको जानकारी दिएको छ । गुगलका अनुसार यो फिचर उपलब्ध भएपछि क्रियटरले भिडिओबारे ब्रेनस्ट्रिमिङ गर्न सक्नेछन् । जसमा कस्तो भिडिओ राख्ने, शीर्षक के राख्ने, थम्बनेल कस्तो बनाउने लगायतका कुराको आइडिया लिन सकिनेछ ।
यो फिचरबाट क्रिएटरले युट्युबमा कस्तो भिडिओ राख्दा आकर्षक हुन्छ भन्नेबारे सुझाव पाउनेछन् । यसअन्तर्गत दर्शकहरूको प्राथमिकता, ट्रेन्डिङ सामग्री र क्रिएटरको विगतका सामग्रीहरूलाई विश्लेषण गरेर एआईले नयाँ र सिर्जनात्मक शैली अपनाउन प्रेरित गर्नेछ । फलस्वरुप क्रिएटरहरूको लागि सामग्री सिर्जना गर्न आवश्यक पर्ने समय र परिश्रम पनि घट्ने आशा गरिएको छ ।
हाललाई यो फिचर सीमित क्रियटरहरूमाझ उपलब्ध गराइएको छ । उनीहरूबाट आउने प्रतिक्रियालाई समेटेर सबैका लागि फिचर उपलब्ध गराउने कम्पनीको योजना छ ।