काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । सन् २०१९ देखि भण्डारीले प्रयोग गर्दै आएको फेसबुक पेज हालै मात्र ह्याक भएको हो ।
भण्डारीले अर्को फेसबुक पेज खोली आफ्नो पुरानो पेज ह्याक भएको जानकारी दिएकी छन् । “मेरो पुरानो अफिसियल फेसबुक पेज केही समयअघि ह्याक भएको थियो,” उनले लेखेकी छिन्, “धेरै प्रयास गर्दा पनि त्यो पेजलाई फिर्ता ल्याउन सकिएन । त्यसैले अहिले नयाँ अफिसियल पेज खोलेको छु । यसै मार्फत हामी जोडिनेछौं ।” भण्डारीको नयाँ फेसबुक पेज भिजिट गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
ह्याक भएको फेसबुक पेजमा अन्तिमपटक भण्डारीले १८ जुलाईमा आफ्नो फोटो पोस्ट गरेकी थिइन् । त्यसपछि २७ जुलाईदेखि भने उक्त पेजमा अनावश्यक सामग्री पोस्ट हुँदै आएका छन् ।
उक्त पेजको अबाउट सेक्सनमा हेर्ने हो भने समाचार संस्थाको जस्तो देखिने लिङ्क राखिएको छ । त्यसको तलपट्टि अश्लील सामग्री राख्ने टेलिग्राम च्यानलको लिङ्क समावेश गरिएको छ ।