close

सामाजिक सञ्जालमा ट्रोल बन्दै दशरथ रङ्गशालाको हिलाम्मे मैदान

टेकपाना टेकपाना

साउन २९, २०८१ १९:४९

सामाजिक सञ्जालमा ट्रोल बन्दै दशरथ रङ्गशालाको हिलाम्मे मैदान

काठमाडौं । सामाजिक सञ्जालमा अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ‘दशरथ रङ्गशाला’को ट्रोल भइरहेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनियन र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबीच भएको एएफसी च्यालेन्ज लिग छनोट अन्तर्गतको खेलमा रङ्गशाला हिलाम्मे भएपछि चर्को आलोचना भएको हो ।

मङ्गलबार खेल सुरु हुनु पहिले ठूलो वर्षा भएको थियो  । यसको प्रत्यक्ष असर रङ्गशालामा परेको छ । त्यही हिलाम्मे मैदानलाई लिएर सामाजिक सञ्जाल ट्रोलमय भएको हो ।

यसअघि पारो एफसीका जापानी स्टार केइसुक होन्डाले दशरथ रङ्गशालालाई आफूले खेलेका अन्य मैदानसँग तुलना गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । उनै खेलाडी अहिले हिलाम्मे रङ्गशालामा नेपाली क्लबसँग भिड्दैछन् ।

यी विषय जोडेर सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना गरिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा सुरेश बडाल लेख्छन्, “क्रिकेटमा बलले अप्राकृतिक बाउन्स गर्ने, मैदान खराब हुने अवस्थामा खेलाडीको सुरक्षाका लागि खेल खेलाइँदैन । तर फुटबलमा किन जबरजस्ती हो यो ? रोपाइँ गर्ने खेतजस्तो हिलाम्मे मैदानमा खेलाउनु जरुरी थियो र ? कुनै मापदण्ड नहुने रहेछ ? हेर्नै पीडा हुने खेल हुँदैछ दशरथ रङ्गशालामा ।”

‘मिम नेपाल’ नामको मनोरञ्जनात्मक सामग्री राख्ने फेसबुक पेजबाट पनि हिलाम्मे रङ्गशालाको फोटो पोस्ट भएको छ । सो पोस्टमा अधिकांशले सरकारी निकायले यसको जिम्मा लिनुपर्ने धारणा राखेका छन् । केहीले भने गाउँमा असार १५ का दिन खेलाइने फुटबल जस्तो भएको भन्दै व्यङ्ग्य गरेका छन् । मिम पोस्टमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, “अस्ति होन्डाले ट्रेलर मात्र देखेका थिए । आज प्रत्यक्ष फिल्म हेर्दैछन् ।”

कतिपयले भने फुटबल खेल्नका लागि यो रङ्गशालाभन्दा आफ्नै बारी उपयुक्त भएको तर्क दिएका छन् ।

“४/५ वर्ष पहिले होला ताजिकिस्तानका फुटबल प्रशिक्षकले नेपालको दशरथ रङ्गशाला कुनैपनि हिसाबले फुटबल खेल्न लायक नभएको र  यसको बनावट नै नमिलेको भनेर भनेका थिए । आज आएर त्यो फेरि एकपटक प्रमाणित भयो । यस्तो ड्रेनेज सिस्टम (Drainage system) नै नभएको रङ्गशालामा मुसलधारे  पानी परेको बेला फुटबल खेलाउने, थुक्क,” सामाजिक सञ्जाल एक्समा अनिल क्षेत्रीले लेखेका छन् ।

त्यस्तै वसन्त नाम भएका एक्स प्रयोगकर्ताले लेख्छन्, “दशरथ रङ्गशाला हो कि भैंसी आहाल बस्ने पोखरी ? रातो होन्डा पनि कालो कालो बजाज पल्सर भइसक्यो ।”

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १९:५०