काठमाडौं । जागिरका लागि अन्तर्वार्ता दिने व्यक्तिले झुटो बोलेको थाहा पाए कम्पनीले छनोट गर्दैन । यो स्वाभाविक पनि हो । टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्कले भने अन्तर्वार्तामा आउने आवेदकको साँचो कुरा पत्ता लगाउने फरक तरिका अपनाउँदै आएका छन् ।
उनको प्रश्न हुन्थ्यो- “मलाई बताउनुहोस् तपाईंले अहिलेसम्म काम गरेको सबैभन्दा जटिल समस्या कुन हो ? र यसलाई कसरी समाधान गर्नुभयो ?” उनले दाबी गरे अनुसार यही एउटा प्रश्नले व्यक्तिले साँचो वा झुटो बोलेको छ भन्ने सजिलै पहिचान गर्न सकिन्छ ।
जसले वास्तवमै समस्याको समाधान गरेको छ, उसलाई सबै विवरण थाहा हुन्छ भन्ने मस्कको मान्यता छ ।
न्यु योर्क पोस्टका अनुसार यो प्रश्न ‘असिमेट्रिक इन्फरमेसन मेनेजमेन्ट-एम’ (Asymmetric Information Management- AIM)अन्तर्गत पर्छ । यो तरिका यसरी डिजाइन गरिन्छ कि जसले अन्तर्वार्ता दिने व्यक्तिलाई आफ्नो अनुभवका बारेमा सत्य कुरा ओकल्न बाध्य पार्छ ।
मस्कको यो विधि २०२० मा प्रकाशित 'जर्नल अफ अप्लाइड रिसर्च इन मेमोरी एन्ड कग्निसन' मा गरिएको एक अध्ययनले पनि पुष्टि गरेको छ । उक्त अध्ययन अनुसार विशेष विवरण दिने व्यक्तिहरूले साँचो बोलेको देखिन्छ, जबकि झुटो बोल्ने व्यक्तिहरू सामान्य जानकारी दिन प्रयास गर्छन् ।
अनुसन्धानकर्ता कोले पोर्टरले यस विधिलाई अपराधीहरूको जाँचका लागि डिजाइन गरिएको बताउँछन् । "साना विवरणहरू फरेन्सिक अनुसन्धानको लाइफब्लड (जिउनका लागि चाहिने रगत) हुन् र अनुसन्धानकर्ताहरूलाई तथ्यहरू जाँच्न र प्रश्न गर्न तीनै जानकारीले मद्दत गर्छन् ।”
सो अनुसन्धान पत्रका अनुसार यदि जागिरको अन्तर्वार्ताका लागि आएका व्यक्तिले आफ्नो काम, भोगाइ र इच्छाका बारेमा लामो, विस्तृत र गहन जानकारी दिए भने अन्तर्वार्ता लिने व्यक्तिले सहजै उसले सही बोलेको छ भनेर पहिचान गर्न सक्छन् ।
यसको अर्थ एलन मस्कले सोध्ने प्रश्नको शैलीले व्यक्तिबाट बढीभन्दा बढी सटीक सूचना प्राप्त गर्न सघाउँछ । त्यसबाहेक उनीहरूले झुटो बोलेका छन् भने तत्कालै त्यसलाई पहिचान गर्ने काम गर्छ ।
न्यु योर्क पोस्टका अनुसार मस्क आफ्नो कम्पनीमा भर्ती गर्ने कर्मचारीमा फरक क्षमता होस् भन्ने चाहन्छन् । त्यसका लागि कम्पनीमा उपयुक्त हुने व्युक्ति यही नै हो भन्ने सुनिश्चित गर्न उनी एम टेक्निक प्रयोग गर्छन् । त्यसमा पनि उक्त व्यक्तिले आफ्नो बायोडेटामा राखेका विवरण, उसको अनुभव र सीप एकआपसमा मेल खान्छन् वा खाँदैनन् भन्ने खोज्छन् । उनले खोजे अनुसारकै गुण भेटे कर्मचारीलाई कम्पनीमा छनोट गर्छन् ।