काठमाडौं । टेकस्पायर कलेजले ‘इनोभेट एक्स्पो २०२४’ नामक दुई दिने रोबोटिक्स एक्स्पो आयोजना गरेको छ । साउन ३१ र ३२ गते आयोजित एक्स्पोमा रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)मा रुचि राख्ने विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूले रोबो सकर, रोबो रेस, रोबो सुमो जस्ता रोबोटिक्स प्रतिस्पर्धामा उत्साहजनक सहभागिता जनाउनुका साथै यस सम्बन्धी परियोजनाहरूको प्रदर्शनी गरेको कलेजले जनाएको छ ।
टेकस्पायर कलेजका प्रिन्सिपल लक्ष्मण पोखरेलले एक्स्पोले विद्यार्थीहरूको रोबोटिक्समा भएको सीप र क्षमतालाई उजागर गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको बताए । उनका अनुसार एक्स्पोमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले अन्तर्राष्ट्रिय एक्स्पोजर पाउनेछन् ।
"एक्स्पोमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ, जसले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन मद्दत गर्नेछ," उनले भने ।
पछिल्लो समय रोबोटिक्समा विद्यार्थीहरूको चासो र उत्साह बढ्दै गएको उल्लेख गर्दै प्रिन्सिपल पोखरेलले कलेजले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने र विद्यार्थीहरूलाई रोबोटिक्समा काम गर्न थप अवसर प्रदान गर्ने बताए ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू)बाट सम्बन्धन प्राप्त टेकस्पायर कलेज सन् २००० मा स्थापना भएको हो । हाल कलेजले आईटी र व्यवस्थापनका विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ ।