काठमाडौं । जाजरकोट घर भई हाल सिन्धुली बस्दै आएकी ३२ वर्षीय यशोदा शाहीविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अभियोगपत्र दर्ता भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा शाहीविरुद्ध अभियोगपत्र दर्ता भएको हो ।
अभियोगपत्र अनुसार पीडित महिलाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो चरित्रहत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । ‘युनिक नेपाल’ नामबाट खोलिएको फेसबुक अकाउन्टबाट ती युवतीलाई ट्याग गरी उनको टाइमलाइनमा युवतीको बारेमा अपमानजनक लेखेर पोस्ट गरिएको थियो । त्यसमा ती युवतीले अर्कै केटासँग तीन वर्ष सँगै बसेको र पछि केही कुरा नमिलेपछि छुट्टिएको उल्लेख थियो ।
जसको बारेमा ती सबै लेखिएको थियो, ती युवतीको विवाह भइसकेको थियो । उनी श्रीमानसँग राम्रैसँग बसिरहेकी थिइन् । आफ्नो टाइमलाइनमा त्यस्तो पोस्ट आएपछि उनी झस्किइन् ।
त्यस लगत्तै उनको श्रीमानको मेसेन्जरमा पनि त्यही अकाउन्टबाट मेसेज आयो । “तेरो बुडीलाई चि** मजा आयो होला है । सेकेन्ड ह्यान्ड बुडी पाको छस भाइ । पहिले ***ले चि** अब तेरो पालो भाइ,” लेखिएको मेसेज युवतीको श्रीमानको अकाउन्टमा आयो । यसरी सामाजिक सञ्जालमा आफ्नो अपमान, बेइज्जत र चरित्रहत्या गरेको भन्दै कानूनी उपचारका लागि साइबर ब्युरोमा उजुरी दिइन् ।
त्यसपछि युवतीले दिएको प्रमाणको आधारमा ब्युरोले अनुसन्धान अगाडि बढायो । अनुसन्धानपछि उक्त घटनामा जाजरकोट घर भई हाल सिन्धुली बस्दै आएकी ३२ वर्षीय यशोदा शाही संलग्न रहेको देखियो ।
प्रहरीलाई बयान दिने क्रममा प्रतिवादी शाहीले नक्कली अकाउन्ट खोली ती युवतीको चरित्रहत्या गरेको स्वीकारेकी छिन् । शाहीका अनुसार निवेदन दिने पीडित युवती उनकी बहिनी नाता पर्छिन् । गाउँमा आफ्नो बुवाको बारेमा ती युवतीले ‘भ्रष्टाचार गर्ने मानिस हुन्, शिक्षक भएर राजनीति गर्दै हिंड्छन्’ भनेको प्रतिवादी शाहीले बताएकी छिन् ।
त्यसबाहेक आफ्नै बारेमा पनि गाउँमा कुरा काटेको आफन्तबाट थाहा पाएपछि शाहीले ती युवतीसँग कुरा गर्न खोजिन् । तर, पीडित युवती उनीसँग रिसाइन् र बोल्न छोडिन् । आफ्नो र बुवाको बारेमा गाउँमा कुरा काटेको थाहा पाएपछि बदला लिन उनले नक्कली फेसबुक अकाउन्ट खोलिन् ।
त्यसपछि शाहीले ती युवती, उनका श्रीमान् र उनले चिन्ने अन्य व्यक्तिहरूलाई फेसबुकमा एड गरिन् ।
प्रतिवादी शाहीका अनुसार उनले ती युवतीको फेसबुक अकाउन्टबाट फोटो डाउनलोड गरेर टाइमलाइनमा अन्य व्यक्तिलाई ट्याग गरी पोस्ट गरिन् । त्यसबाहेक, युवतीका श्रीमानलाई पनि सोही नक्कली अकाउन्टबाट अश्लील मेसेज पठाएको प्रतिवादी शाहीले स्वीकारेकी छिन् । यसरी पोस्ट गरेपछि उनले ‘युनिक नेपाल’ नामको अकाउन्टको नाम परिवर्तन गरिन् र पछि डिएक्टिभेट गरेर लगआउट गरिन् ।
प्रतिवादी शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । सोही ऐनको दफा ७६ बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराइदिन मागदाबी गरिएको छ । त्यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदाताबाट पीडितको राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइदिन पनि अनुरोध गरिएको छ ।