close

एआईको सहयोगमा कसरी सिक्ने कोडिङ ?

टेकपाना टेकपाना

भदौ २, २०८१ १६:११

एआईको सहयोगमा कसरी सिक्ने कोडिङ ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले विभिन्न क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । उदाहरणका लागि, च्याटजीपीटी । यो एउटा एआई प्रविधि हो, यसले न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङको क्षेत्रलाई विकास गर्न ठूलो भूमिका खेलिरहेको छ ।

यसले लेख/कथा/कविता लेख्ने, पाठलाई सारांश गर्ने जस्तका काम गर्न सक्छ । च्याटजीपटीलाई कोड लेख्न समेत प्रयोग गर्न सकिन्छ, जसले सिकारु प्रोग्रामरहरूलाई धेरै सजिलो बनाएको छ । 

अहिले च्याटजीपीटीबाहेक जेमिनाई, माइक्रोसफ्ट कोपाइलट लगायतका विभिन्न लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम)बाट समेत कोड लेख्न सकिन्छ । यसबाट कोड लेख्न, परीक्षण गर्न तथा समस्या समाधान गर्न सकिन्छ ।

आज हामी तपाईंलाई एलएलएम अर्थात् एआई टुल प्रयोग गरी कोड लेख्न सिक्ने तरिकाबारे जानकारी दिने छौं:

कोड लेख्न च्याटजीपीटी जस्ता एआई टुल

कुरा गरौं, च्याटजीपीटीबाट । ओपनएआईले जीपीटी ३.५, जीपीपी ४ र जीपीपी ४ टर्बोमा आधारित भएर बनाएको एउटा एआई ल्याङ्ग्वेज मोडेल हो, च्याटजीपीटी । मान्छेले जस्तै टेक्स्ट तयार पार्न यसले डीप लर्निङलाई प्रयोग गर्ने गर्छ ।

प्राकृतिक प्रतिक्रिया (मान्छेले जस्तै दिने प्रतिक्रिया) का कारण च्याटजीपीटी परिचित छ । छोटो समयमा नै चर्चित भएपछि अहिले विभिन्न कम्पनी तथा देशहरूले योसँग प्रतिस्पर्धा गर्न उस्तै प्रकृतिका एआई मोडेल बनाइरहेका छन् ।

त्यही प्रतिक्रिया स्वरूप गुगलको जेमिनाई, माइक्रोसफ्ट कोपाइलट सतहमा आएका हुन् । यिनबाट पनि च्याटजीपीटीमा जस्तै काम गर्न सकिन्छ ।

यद्यपि यी टुलहरू कोड लेख्न नै तयार पारिएका भने होइनन् । तर मसिन लर्निङ एल्गोरिदम प्रयोग गरेर यी टुलले कोड लेख्न सहयोग गर्न सक्छन् । जस्तो; च्याटजीपीटीले कोड स्निपेट (पुन: प्रयोग गर्न मिल्ने सोर्स कोड, मसिन कोड वा टेक्स्टको सानो भाग) विश्लेषण गरेर कोड बुझ्न सक्छ । प्राप्त गरेको इनपुटको आधारमा नयाँ कोड तयार पार्न सक्छ ।

कोड लेख्नको लागि यस्ता एआई टुल प्रयोग गर्नु सरल छ । तपाईंले केको कोड लेख्न चाहनु भएको हो, त्यसबारे प्रम्प्ट वा विवरण लेख्नुपर्छ ।

ती एआई टुलले तपाईंले दिनुभएको प्रम्प्टको विश्लेषण गर्ने काम गर्छन् । तत्पश्चात त्यसको आधारमा विवरणसँग मिल्ने कोड स्निपेट तयार पार्छन् । झट्ट हेर्दा यो काम सजिलो देखिएपनि तपाईंले निम्न तरिका अपनाउनु पर्ने हुन्छ:​

प्रोग्रामिङ ल्याङ्ग्वेजको छनोट

एआई टुलले विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजका कोड लेख्न सक्छन् । यसअन्तर्गत Python, JavaScript, Java, C++ जस्ता ल्याङ्ग्वेजहरूलाई प्राथमिकता दिनुहोस् । 

तिनैमध्ये कुनै एउटा छानेर आफ्नो प्रम्प्टमा राख्न सक्नुहुन्छ । प्रोग्रामिङ ल्याङ्ग्वेजबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रम्प्ट तयार

सामान्य रूपमा बुझ्दा एआई टुलमार्फत आफूले तयार पार्न लागेको विषयको विवरण नै प्रम्प्ट हो । यसलाई मानवीय बोलीचालीका भाषा (बढीजसो अङ्ग्रेजी) मा लेख्ने गरिन्छ ।

यसमा आफूले तयार पार्न लागेको कोड स्निपेटले के गर्छ भनेर लेख्नुपर्ने हुन्छ । जस्तो; हिसाब सम्बन्धी कोडका लागि ‘अङ्कहरू जोड्ने र घटाउनेबारे कोड तयार पार’ । (Prepare a code for adding and subtracting numbers.)

जेनेरेट कोड  

तयार पारेको प्रम्प्ट राखिसकेपछि एआई टुलले तिनैमा आधारित भएर कोड स्निपेट तयार पार्छ । जस्तै: यी माथिका सबै तरिकालाई एकमुस्ट लेख्दा प्रम्प्ट यस्तो हुन सक्छ, ‘जाभामा आधारित भएर जोड/घटाउ गर्न मिल्ने क्यालकुलेटर तयार पार’ । (write a code for addition/subtraction calculator based on Java) अब यसरी तयार हुने कोडलाई कपि गरेर तपाईंले आफ्नो प्रोजेक्टमा लान सक्नुहुन्छ । 

तर कतिपयले यी प्रक्रिया अपनाए पनि आफूले चाहेको जस्तो कोड तयार पार्न सक्दैनन् । यसको कारण राम्रो प्रम्प्ट लख्न नसक्नु हो । यदि यस्तो समस्या भए आफूले चाहेको कोड तयार पार्न प्रोम्प्ट लेख्दा निम्न तरिका अपनाउन सक्नुहुन्छ: 

-प्रम्प्टलाई सरल बनाउनु 

जब हामी जेनेरेटिभ एआईबाट कुनै पनि सामग्री तयार पार्ने कुरा गर्छौं, त्यसमा प्रमुख भूमिका प्रम्प्टको हुन्छ । त्यसैले तपाईंले के तयार पार्न चाहनुभएको छ त्यसको स्पष्ट र सङ्क्षिप्त व्याख्या गर्नु महत्त्वपूर्ण छ ।

-एआई टुललाई भूमिका दिनु 

कहिलेकाहीँ एआई टुललाई व्यक्तित्वबारे बताउँदा आफूले चाहेको उत्तर पाउन सकिन्छ । जस्तै; प्रम्प्टमा तपाईं 'विश्वविख्यात प्रोग्रामर' '१० वर्ष कामको अनुभव भएको सफ्टवेयर इन्जिनियर' जस्ता विशेषतालाई आफनो प्रम्प्टमा घुसाउन सक्नुहुन्छ । 

-कोडिङ र एआई टुलको आधारभूत ज्ञान

तपाईंको प्रम्प्ट जतिसुकै राम्रो भएपनि कोडिङको आधारभूत ज्ञान भएन भने समस्या हुन सक्छ । साथै त्यस्ता च्याटबटले कसरी काम गर्छन् भनेर पनि बुझ्नु जरुरी छ । यसो हुँदा तपाईंले तिनमा अझ राम्ररी काम गर्न सक्नुहुन्छ । 

धैर्य गर्नु  

यी च्याटबटहरू बजारमा आएको खासै धेरै समय भएको छैन । कतिपय त विकासको चरणमा नै छन । यसकारण  यिनबाट तयार हुने कोड तपाईंले चाहेको जस्तै नहुन सक्छ ।

यसकारण बरु फरक-फरक प्रम्प्टमा उही काम गराउन सक्नुहुन्छ । अथवा आफैंले उदाहरण दिएर कोड तयार पार्न सक्नुहुन्छ । यसो गर्दा केही समय लाग्न सक्छ । त्यो धैर्यता भने तपाईँमा हुनु आवश्यक छ ।

अन्य स्रोतको प्रयोग

कोडिङ सिक्दा च्याटजीपीटी, गिटहब कोपाइलट जस्ता एआई टुलहरूको नियमित प्रयोग गर्न सकिन्छ । यी टुलको सहयोगमा साधारण कोड लेख्न तथा अभ्यास गर्न सक्नुहुन्छ ।

अर्कोतर्फ आफूले लेखेको कोडलाई परीक्षण गर्न पनि एआईका टुल उपयोगी हुन्छन् । यसबाट त्रुटिहरू पत्ता लगाउन तथा सुधार गर्न सजिलो हुन्छ ।

त्यस्तै तपाईंले Coursera, edX, Udemy जस्ता प्लेटफर्ममा उपलब्ध विभिन्न कोडिङ कोर्सहरू लिई आफ्नो सीप निखार्न सक्नुहुन्छ । साथै Stack Overflow, Reddit जस्ता फोरमहरूमा प्रश्न सोध्न तथा अनुभवी कोडरहरूबाट सुझाव लिन सकिने भएकाले त्यतातर्फ जोडिन पनि प्रयास गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८१ १६:३७