ग्रोक एआईको सहायताले तयार पारिएको साङ्केतिक तस्विर
काठमाडौं । ‘डिजिटल डिमेन्सिया’ स्मार्टफोन, कम्प्युटर आदि जस्ता डिजिटल उपकरणमा अत्यधिक निर्भर हुँदा स्मरण क्षमतामा आउने ह्रास तथा समस्या हो । हाम्रो दैनिक जीवनमा प्रविधिको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । यसैले हाम्रो मानसिक स्वास्थ्यमा निम्त्याउन सक्ने कुनै पनि सम्भावित हानिबारे बुझ्न आवश्यक छ । खासगरी डिजिटल उपकरणमा अत्यधिक निर्भर हुँदा कस्ता समस्या निम्तिन सक्छन् भन्ने थाहा पाउन जरुरी छ । त्यसैले आज हामी तपाईंलाई डिजिटल डिमेन्सियाको बारेमा बताउँदै छौं ।
सन् २०२२ मा गरिएको एक अध्ययनले डिमेन्सियाको जोखिम र आसीन गतिविधि (भौतिक काम नगरी टेलिभिजन हेर्नु, कम्प्युटर प्रयोग गर्नु लगायतका गतिविधि) को सम्बन्धबारे अनुसन्धान गरेको थियो । त्यसले के देखाएको थियो भने जति बढी हामी आसीन गतिविधिमा भुल्छौं, त्यति नै डिमेन्सियाको जोखिम बढी हुन्छ ।
यही विषयमा भएको अर्को अध्ययनले जो मानिसहरू दैनिक चार घण्टाभन्दा बढी स्क्रिनमा समय बिताउँछन्, उनीहरूमा भास्कुलर डिमेन्सियाको जोखिम उच्च हुने देखाएको थियो । भास्कुलर डिमेन्सिया त्यस्तो जोखिम हो, जहाँ मस्तिष्कमा रगतको बहाव कम हुन्छ । यसले गर्दा मस्तिष्कमा हुने कोषिका बिग्रिन पुग्छन् । त्यसबाहेक रगतको प्रवाह बन्द हुने समस्या हुनु पनि भास्कुलर डिमेन्सिया हुनु हो । यसलाई अल्जाइमर्स रोग पनि भन्ने गरिन्छ ।
जति बढी स्क्रिन टाइम (मोबाइ, ल्यापटप, टिभी जस्ता डिभाइसका स्क्रिनमा व्यतीत गर्ने समय) भयो त्यति नै मस्तिष्कको विभिन्न भागमा परिवर्तन आउँछन् । त्यस्ता परिवर्तनले डिमेन्सियाका लक्षण देखा पर्न थाल्छन् । उदाहरणका लागि डिमेन्सिया हुँदा व्यक्तिले चाँडै कुराहरू भुल्ने, बोल्दा कुन शब्द निकाल्ने भन्ने बिर्सिने र एकै पटक एकभन्दा बढी काम सँगसँगै गर्न खोज्ने समस्या देखा पर्छन् ।
लगातार मल्टी टास्किङ र छिटो सूचना प्रशोधन हुँदा स्मरण क्षमता घट्ने, ध्यान दिन सक्ने अवधि घट्ने र सिकाउने क्षमतामा कमी आउने हुन सक्छ । यसले तनाव र चिन्ता बढाएर व्यवहारमा प्रभाव पार्न सक्छ ।
स्क्रिनबाट निस्किने ब्लु लाइटले निद्राको चक्रमा बाधा पार्छ । यसले मेमोरी कन्सोलिडेसन (यस्तो प्रक्रिया, जहाँ मस्तिष्कले नयाँ जानकारी लिन्छ र पछि आवश्यक परेको बेला सम्झिनको लागि भण्डारण गरेर राख्छ) र कग्निटिभ फङ्सन (सोच्ने, सिक्ने, तर्क गर्ने र सम्झिने लगायतका गतिविधि) मा समेत असर पार्ने कतिपय डाक्टरहरूको दाबी छ । त्यसबाहेक एकै पटक दुई वा सोभन्दा बढी डिभाइस प्रयोग गर्दा ध्यान केन्द्रित गर्न पनि समस्या हुने गर्छ ।
डिजिटल स्रोतहरूले हाम्रो मस्तिष्कलाई आवश्यकता भन्दा बढी सूचना दिइरहेका हुन्छन् । यसले गर्दा मस्तिष्कमा सूचनाको चाप बढी हुन्छ । सूचनाको चाप बढी हुँदा शरीरलाई डिजिटल डिमेन्सिया विरुद्ध लड्न गाह्रो हुने बताइन्छ । डिजिटल डिमेन्सिया विरुद्ध लड्न र अत्यधिक स्क्रिन टाइमका कारण सिर्जना हुने जोखिम घटाउन निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
१) फोनको नोटिफिकेसन अफ गर्ने
स्क्रिन टाइम घटाउने सबैभन्दा उपयुक्त तरिका हो, ‘नोटिफिकेसन अफ’ । तपाईंले कुनै पनि एप त्यति बेला प्रयोग गर्ने योजना बनाउनु हुन्छ, जति बेला त्यहाँ कुनै नोटिफिकेसन देखिन्छ । अत्यधिक प्रयोग गर्ने एपको नोटिफिकेसन तपाईंले अफ गर्नु भयो भने अवश्य पनि सो एपमा बिताउने समय घट्छ ।
२) टाइम लिमिट अर्थात् समय सीमा तय गर्ने
कतिपय एपमा कसरी समय बित्छ, मान्छेलाई पत्तै हुँदैन । उदाहरणका लागि टिकटक भिडिओ, युट्युब शर्ट्स, फेसबुक र इन्स्टाग्राम रिल्स आदि हेर्दै हुनुहुन्छ भने तपाईंले समय बितेको पत्तै हुँदैन । यदि तपाईंले एपमा टाइम लिमिट सेट गर्नुभयो भने समय सकिएपछि एपले त्यसको जानकारी दिन्छ र, तपाईं आफ्ना अन्य काममा लाग्न सक्नु हुन्छ ।
३) ब्रेक लिने
कतिपयको काम नै स्क्रिनमा निर्भर हुन्छ । त्यसैले स्क्रिन टाइम घटाएर आफूलाई स्वस्थ राख्छु भन्ने कुरा पेसाको कारणले पनि सम्भव नहुन सक्छ । त्यस्तोमा समय समयमा ब्रेक लिने बानी बसाल्न सक्नु हुन्छ । सामान्यतः स्क्रिन टाइम बढी हुँदा निम्तिने जोखिम कम गर्न २०-२०-२० नियम उपयुक्त हुन्छ । यो भनेको हरेक २० मिनेटमा पाँचदेखि दश सेकेन्ड ब्रेक लिनु हो । त्यस्तै २० फिट (छ मिटर) टाढाबाट स्क्रिनमा हेर्ने र हरेक २० सेकेन्डमा आँखा झिम्क्याउने अभ्यास गर्नुपर्छ । लामो समय स्क्रिनमा केन्द्रित हुँदा हाम्रो आँखा झिम्क्याउने अन्तराल बढी भइरहेको हुन्छ । त्यसैले बढीमा हरेक २० सेकेन्डमा आँखा झिम्क्याउनु पर्छ ।
४) स्क्रिनमा मनोरञ्जनको समय घटाउन टाइम सेट गर्ने
हामी कामका अलावा मनोरञ्जन पनि डिजिटल डिभाइसको स्क्रिनमै लिइरहेका हुन्छौं । खासगरी स्क्रिनमा मनोरञ्जनका सामग्री हेरिरहेका हुन्छौं । यस्तोमा काम सँगसँगै मनोरञ्जनका लागि पनि स्क्रिन टाइम बढी हुन्छ । त्यसैले मनोरञ्जनका लागि वैकल्पिक तरिका खोज्न सक्नुहुन्छ । उदाहरणका लागि पुस्तकको पीडिएफ पढ्नुभन्दा भौतिक पुस्तक नै पढ्न सक्नुहुन्छ । डिजिटल वा अनलाइन गेम खेल्नुभन्दा भौतिक गेम खेल्न सक्नुहुन्छ ।
५) स्क्रिन टाइम र डिजिटल स्वस्थतामा ध्यान दिने
एप्पलका डिभाइसमा तपाईंले कुन एप कति प्रयोग गर्नुभयो भन्ने जानकारी स्क्रिन टाइममा देखिन्छ । त्यस्तै एन्ड्रोइड डिभाइसमा एपमा बिताएको समय डिजिटल वेलबिङमा देखिन्छ । तपाईंले हरेक दिन आफूले कुन एपमा कति समय बिताएँ भन्ने विषय निगरानी गरेर त्यसलाई निरन्तर घटाउँदै लैजान सक्नुहुन्छ ।