काठमाडौं । ड्रोनको विभिन्न उपयोगिता छन् । फोटो, भिडिओ खिच्नेदेखि सामान डेलिभरी गर्नेसम्मका कामका लागि ड्रोन प्रयोग भइरहेको छ । हालैको नयाँ अध्ययनले ड्रोनको नयाँ सम्भावना देखाएको छ ।
बेलायतका अनुसन्धानकर्ताहरूले अस्पतालहरूमा रगत अभाव हुँदा सुरक्षित तरिकाले तुरुन्तै डेलिभरी गर्न ड्रोन प्रयोग गर्न सकिने सुझाएका छन् । यो परीक्षण बेलायतको एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्ट (एनएचएसबीटी) का अनुसन्धानकर्ताहरूले गरेका थिए ।
यसका लागि करिब ३७ किलोमिटर दूरीमा अवस्थित वान्सबेक अस्पताल र अनेक इन्फर्मरीमा दशवटा रगतका प्याकेट पठाइएका थिए । जसमा पाँचवटा ड्रोनबाट र पाँचवटा गाडीबाट पठाइएको थियो ।
यसक्रममा उक्त ड्रोन करिब एक घण्टामा ६८ किलोमिटर बढी उडेको थियो । यसमा अध्ययनका लागि ड्रोनलाई लामो बाटो पर्ने गरी उडाइएको थियो । गाडीले भने ६८ मिनेटमा ७४.६ किलोमिटर दूरी पार गरेको थियो ।
यसरी ड्रोन र गाडीबाट पठाइएको रगतमा कुनै असर नपरेको अनुसन्धानकर्मीहरूले पत्ता लगाएका थिए । यसको अर्थ ड्रोनले सुरक्षित तरिकाले रगत डेलिभरी गर्न सक्ने उनीहरूको निष्कर्ष छ । अब वैज्ञानिकहरूले यसैमा आधारित भएर अन्य चरणको परीक्षण गर्ने बताएका छन् ।