close

पहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली टिम पनि सहभागी

टेकपाना टेकपाना

भदौ ७, २०८१ १७:३७

पहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली टिम पनि सहभागी

काठमाडौं । पहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाड (International Olympiad in Artificial Intelligence-IOAI) मा नेपाली टिम पनि सहभागी भएको छ । यही ९ देखि १५ अगस्टसम्म बुल्गेरियाको बुर्गासमा आयोजना भएको आईओएआईमा सेन्ट जेभियर्स कलेजको विद्यार्थी टिम सहभागी भएको हो । 

ओलम्पियाडमा ​सहभागी हुनेमा प्लस टू विद्यार्थीहरू राजविर केसी, अशिम शर्मा, अनुराग शाही र अलाभ्य पहारी रहेका थिए भने उनीहरूलाई नेसनल लिङ्ग्विस्टिक ओलम्पियाडका उपप्रमुख चन्दन गुप्ताले लिड गरेका थिए ।​ ओलम्पियाडमा नेपाली विद्यार्थीले पाँच महादेशका ३२ बढी देशबाट आएका अन्य टोलीसँग प्रतिस्पर्धा गरेका थिए ।

एभरेस्ट इन्जिनियरिङ कलेजमा भएको नेसनल आर्टिफिसियल इन्टेलिजेन्स ओलम्पियाडको विजेताको हैसियतमा सेन्ट जेभियर्स कलेजको विद्यार्थी टिम बुर्गास पुगेको थियो ।

नेपाली टोलीले यसपटक पदक जित्न नसकेपनि मेहनत जारी राखे आगामी संस्करणमा राम्रो नतिजा निकाल्ने काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका सहायक डिन एवं कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टका सह-प्राध्यापक डा. बालकृष्ण बलले बताए । बल नेसनल लिङ्ग्विस्टिक ओलम्पियाडका प्रमुख समेत हुन् । 

अबदेखि हरेक वर्ष आयोजना हुने आईओएआईमा विश्वभरका युवा विद्यार्थीले ल्याङ्ग्वेज प्रोसेसिङ, मसिन लर्निङ, कम्प्युटर भिजन जस्ता एआईका विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्नेछन् । यस्ता कार्यक्रममा सहभागिता जनाउँदा विश्व एआई मञ्चमा नेपालको उपस्थिति बढ्ने तथा एआई शिक्षालाई अगाडि बढाउन सकिने नेसनल लिङ्ग्विस्टिक ओलम्पियाडका उपप्रमुख गुप्ताले बताए ।

पछिल्लो अध्यावधिक: भदौ ७, २०८१ १८:१८