close

विष्णु माझीको नयाँ तीज गीतले बनायो एक दिनमै सबैभन्दा बढी हेरिने नेपाली गीतको रेकर्ड

टेकपाना टेकपाना

भदौ ९, २०८१ ११:४४

विष्णु माझीको नयाँ तीज गीतले बनायो एक दिनमै सबैभन्दा बढी हेरिने नेपाली गीतको रेकर्ड

काठमाडौं । गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ले एकै दिनमा सबैभन्दा बढी भ्युज पाउने नेपाली गीतको रेकर्ड राखेको छ । शनिबार बिहान ८ बजे सार्वजनिक भएको यस गीतले २४ घण्टामै १४ लाख भ्युज पाएर सो रेकर्ड कायम गरेको हो ।

यो समाचार तयार पार्दासम्म गीतमा १६ लाख ५७ हजारभन्दा बढी भ्युज आइसकेका छन् । एक लाख २८ हजार लाइक छन् भने १४ हजार ८५० भन्दा बढी कमेन्टहरू गरिएका छन् ।

सामाजिक सञ्जालका विभिन्न माध्यममा पनि यस गीतले सकारात्मक चर्चा बटुलिरहेको छ । पछिल्लो समय युट्युबमा सार्वजनिक भएका तीजका गीतलाई लिएर चर्को आलोचना भइरहेको थियो । खासगरी अश्लीलता र समाजमा अपाच्य हुने शब्दहरू भएका गीत ल्याएको भन्दै गीतको आलोचना भइरहेको थियो ।

त्यही समयमा मौलिक भाकाको तीज गीत ल्याइएको भन्दै यस गीतको चर्चा भइरहेको छ । सोही चर्चाले पनि धेरैले युट्युबमा यस गीतलाई रुचाएका छन् ।

गायिका माझीले यस वर्ष यो गीत ‘पुतलीको भट्टी भाग-२०’ का रूपमा ल्याएकी हुन् । गीत र सङ्गीत सुन्दरमणि अधिकारीले तयार पारेका हुन् भने यसलाई सपना म्युजिक इन्डस्ट्रिजले निर्माण गरेको हो ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८१ ११:५०