close

अर्को कम्पनीको चार्जर प्रयोग गर्दा सामसङ फोनको पेन्ट उक्किने समस्या

टेकपाना टेकपाना

भदौ १४, २०८१ ११:५३

अर्को कम्पनीको चार्जर प्रयोग गर्दा सामसङ फोनको पेन्ट उक्किने समस्या

काठमाडौं । सामसङले हालै बजारमा ‘ग्यालेक्सी जेड फोल्ड सिक्स’ फोन ल्याएको थियो । फोनमा खासै धेरै हार्डवेयर परिवर्तन नल्याएको टिप्पणी भइरहँदा कम्पनीले अर्को विषयको पनि आलोचना खेप्नु परेको छ ।

सामाजिक सञ्जालमा ग्यालेक्सी जेड फोल्ड सिक्स प्रयोगकर्ताले फोनको पेन्ट निस्किने गरेको दाबी गरेका थिए । ग्राहकबाट अत्यधिक गुनासो आएपछि कम्पनीले विज्ञप्तिमार्फत समस्याबारे खुलाएको छ ।

प्रयोगकर्ताले फोन चार्ज गर्नका लागि थर्ड पार्टी चार्जर प्रयोग गर्दा पेन्ट उक्किने समस्या आएको उल्लेख गरेको छ । क्यानडा, बेलायत र यूएईमा बिक्री भएका ग्यालेक्सी जेड फोल्ड सिक्समा यस्तो समस्या देखिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले फोन फास्ट चार्ज गर्न हाई-स्पिड थर्ड पार्टी चार्जर प्रयोग गरे, जसले गर्दा फोनमा इलेक्ट्रिक लिक भयो । परिणामतः फोनको पहिलो तहमा खराबी निम्तियो । त्यसमा असर गर्दा पेन्ट उप्किने समस्या देखिएको हो ।

 

कम्पनीले इलेक्ट्रिक लिकेज हुनुको पछाडि इलेक्ट्रिकल मसल स्टिमुलेसन (ईएमएस) मसाजर रहेको समेत जनाएको छ । 

कम्पनीले विज्ञप्तिमार्फत प्रयोगकर्तालाई कम्पनीको आधिकारिक चार्जर वा चर्चित ब्रान्डको क्यूआई वायरलेस चार्जर प्रयोग गर्न सुझाव दिएको छ । कम्पनीले पछिल्लो समय मिड-रेन्ज र हाई-‍इन्ड फोनमा आधिकारिक चार्जर उपलब्ध गराउन छोडेको छ । 

कम्पनीले विज्ञप्तिमा जे जानकारी दिएको छ, त्यसले प्रयोगकर्तालाई थप दुविधामा पारेको छ । कम्पनीले चार्जर भन्नाले वायर्ड चार्जरला‌ई भन्न खोजेको हो वा वायरलेस चार्जरलाई जनाउन खोजेको हो, त्यो स्पष्ट छैन । 

यस्तो समस्या यसअघि सामसङका कुनै पनि फोनमा देखिएको थिएनन । त्यसैले ग्यालेक्सी जेड फोल्ड सिक्समा मात्र यो समस्या किन देखियो भन्ने प्रश्न उब्जिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १४, २०८१ १२:१६