close

अनलाइन ट्राभल एग्रिगेटर ‘ट्रिप टर्बो’ सञ्चालनमा, हवाई टिकट र साहसिक गतिविधिको बुकिङ एपबाटै

टेकपाना टेकपाना

भदौ १८, २०८१ १०:१७

अनलाइन ट्राभल एग्रिगेटर ‘ट्रिप टर्बो’ सञ्चालनमा, हवाई टिकट र साहसिक गतिविधिको बुकिङ एपबाटै

काठमाडौं । अनलाइन ट्राभल एग्रिगेटर (ओटिए) प्लेटफर्म 'ट्रिप टर्बो' सञ्चालनमा आएको छ । मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा दिनेगरी हालै यो प्लेटफर्म उपलब्ध भएको हो ।

एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । उनका अनुसार साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ । 

ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३०० रुपैयाँ र त्यसपछिका टिकटमा २०० रुपैयाँ छुट समेत पाइने बताइएको छ । परीक्षणका रूपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पूर्ण रुपमा सञ्चालनमा आएको हो । 

एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तर्राष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ ।

ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तर्राष्ट्रिय हवाई उडानको टिकट, अन्तर्राष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ ।

एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् । 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८१ १०:२६