काठमाडौं । इन्टाग्राममा पोस्ट लाइक गर्ने काम पाउनुभयो भने तपाईं के गर्नुहुन्छ ? सुरुमा त पोस्ट लाइक गर्ने पनि काम हुन्छ र भन्ने लाग्न सक्छ । तर घरमै बसीबसी लाइक गरेकै भरमा आकर्षक रकम पाउने हुनुभयो भने कसले छोड्ला यो गज्जबको अफर !
दशैंपछि विदेश जाने योजनामा रहेका २१ वर्षीय राजीव श्रेष्ठ (नाम परिवर्तन)लाई पनि यस्तै अनौठो अफर आयो । एक महिना पहिले उनको ह्वाट्सएपमा अपरिचित विदेशी नम्बरबाट मेसेज आएको थियो । मेसेजमा भनिएको थियो, “तपाईं घरमै बसेर दिनको एक हजारदेखि पाँच हजार रुपैयाँसम्म कमाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने मेसेज रिप्लाई गर्नुहोला ।”
श्रेष्ठलाई के रहेछ बुझौं भन्ने लाग्यो । अनि तत्कालै अङ्ग्रेजीमा यस्तो आशयको मेसेज रिप्लाई गरिहाले, “हजुर कस्तो काम होला ?” उताबाट जवाफ आयो, “तपाईंले इन्स्टाग्राम पोस्ट लाइक गर्ने मात्र हो । टार्गेट पूरा गर्नुभयो भने रकम तपाईंको इसेवामा आउँछ ।”
त्यसको केही समयमै उनको ह्वाट्सएपमा तीन ओटा इन्स्टाग्राम पोस्टको लिङ्क पठाइयो । श्रेष्ठले हरेक लिङ्क खोलेर लाइक गर्दै त्यसको स्क्रिनशट लिएर उक्त अकाउन्टमा पठाए । त्यसपछि उनलाई इसेवा नम्बर पठाउन भनियो । श्रेष्ठले आफूले प्रयोग गर्ने इसेवा नम्बर पठाए ।
यतिबेलासम्म उनलाई पोस्ट लाइक गर्दैमा पैसा आउँछ भन्नेमा रत्तिभर पनि विश्वास थिएन । न उनले कहिल्यै यसरी पैसा कमाउन सकिन्छ भन्ने सुनेका थिए । पहिलो पटक पोस्ट लाइक गरेपछि पैसा आउँछ भन्ने काम आएको देखेर उनी उत्साहित थिए । इसेवा नम्बर पठाएको एक मिनेटमै उनको खातामा २०० रुपैयाँ आयो ।
जम्मा एक मिनेट पोस्ट लाइक गर्न समय खर्च गरेका श्रेष्ठले त्यसैको भरमा २०० रुपैयाँ कमाएका थिए । पहिलो पटक रकम आएपछि उनलाई अर्को टास्क गर्ने कि नगर्ने भन्ने सोधियो । नगर्ने कुरै थिएन । पोस्ट लाइक गर्नासाथ पैसा आउने काम कसले छोडोस् । उनले ‘गर्छु’ भनिदिए ।
त्यसपछि उनलाई पहिले जस्तै तीन ओटा लिङ्क पठाएर लाइक गर्न लगाइयो । श्रेष्ठले पनि भनेजस्तै गरे । उनको इसेवामा फेरि २०० रुपैयाँ आयो । यसरी नै श्रेष्ठले पहिलो दिन चार ओटा टास्क पूरा गरे । जम्मा चार मिनेट पोस्ट लाइक गर्दा उनको खातामा ८०० रुपैयाँ आइसकेको थियो ।
उनलाई अब अर्को दिनको प्रतीक्षा थियो ।
२४ घण्टा बित्ने बित्तिकै उनको ह्वाट्सएपमा मेसेज आयो । “पहिलो चरणको टास्क सकियो । अब तपाईंले दुई हजार रुपैयाँ जम्मा गर्नुपर्छ । तर, अब मसँग होइन तपाईंले टेलिग्राममा हाम्रो टास्क मेनेजरसँग कुरा गर्नुपर्छ,” दोस्रो दिन श्रेष्ठको ह्वाट्सएपमा उक्त अकाउन्टबाट मेसेज आयो ।
उनले ह्वाट्सएपमा उपलब्ध गराएको लिङ्क क्लिक गरे । लिङ्क टेलिग्राम अकाउन्टको थियो । पहिले टेलिग्राम नचलाएका श्रेष्ठले एप इन्स्टल गरी अकाउन्ट बनाए । र, टास्क मेनेजरसँग कुरा गर्न थाले ।
टास्क मेनेजरले एउटा बैंक अकाउन्ट उपलब्ध गराएर त्यसमा दुई हजार रुपैयाँ जम्मा गर्न लगाए । उनले बैंक अकाउन्टमा दुई हजार रुपैयाँ हालिदिए । त्यसपछि उनलाई पहिले जस्तै इन्स्टाग्राममा पोस्ट लाइक गर्न भनियो । श्रेष्ठले पोस्ट लाइक गरेको स्क्रिनशट पठाउनासाथ उनको इसेवामा ३१०० रुपैयाँ पठाइयो । पहिले एउटा टास्क पूरा गर्दा २०० रुपैयाँ आएको थियो भने यसपटक ११०० रुपैयाँ आयो । उनले यस पटक पोस्ट लाइक केही गर्नु परेन ।
यसपछि भने श्रेष्ठलाई एउटा लिङ्क पठाएर त्यसमा अकाउन्ट बनाउन भनियो । श्रेष्ठले भने अनुसार नै अकाउन्ट बनाए । अकाउन्ट बनाएसँगै उनी भीआईपी ग्रुपको सदस्य भए । उनलाई ‘लक्की’ नामको टेलिग्राम च्यानलमा एड गरियो ।
खासमा दशैंपछि विदेश जाने योजनामा रहेका श्रेष्ठका बुवा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा दुई वर्षदेखि काम गर्दै आएका छन् । घरमा अरु सदस्यको खाता नभएकाले उनका बुवाले रकम छोराको खातामा राख्दै आएका थिए ।
श्रेष्ठ जोइन भएको च्यानलमा उनलाई एउटा बैंकको क्यूआर पठाएर त्यसमा पाँच हजार रुपैयाँ जम्मा गर्न लगाइयो । यतिबेलासम्म झन्डै दुई हजार कमाएका उनले तीन हजार थपेर पाँच हजार राख भनिएको अकाउन्टमा रकम ट्रान्सफर गरे ।
त्यसपछि पहिले जस्तै खुरुखुरु इसेवामा रकम आउँछ भन्ने श्रेष्ठको आशा थियो । तर, उनलाई त्यसपछि पुनः ३० हजार रुपैयाँ जम्मा गर्न लगाइयो । त्यति रकम जम्मा गरेपछि पहिलेको पाँच हजार र कमिसन गरी थप ९९०० रुपैयाँ आउने बताइएको थियो । उनले ३० हजार रुपैयाँ पनि एजेन्टले भनेको खातामा पठाइदिए । तर, त्यही बेला वेबसाइट क्रेडिट स्कोर खस्केर ९५ पुग्यो ।
“त्यो क्रेडिट स्कोर १०० भयो भने मात्र निकाल्न मिल्छ । १०० बनाउन फेरि ७० हजार रुपैयाँ तिर्नुपर्छ भनियो,” मधुरो स्वरमा सुस्केरा हाल्दै श्रेष्ठले भने, “पैसा खातामा छँदै थियो । केही नसोची ७० हजार रुपैयाँ हालिदिएँ ।”
तर, क्रेडिट स्कोर बढ्नुको सट्टा घटेर ९० पुग्यो । उक्त क्रेडिट स्कोर १०० पुर्याउन उनले दुई लाख २० हजार रुपैयाँ फेरि पठाउनु पर्ने भयो । यसअघि एक लाख पाँच हजार रुपैयाँ गुमाइसकेका श्रेष्ठलाई त्यही पैसाको माया भयो । उनीहरूले श्रेष्ठलाई दुई लाख २० हजार नै अन्तिम टास्क हो भनेर विश्वस्त बनाएका थिए । मान्छे कसरी विश्वस्त भएर त्यतिका रकम पठाउन सक्छ होला भन्ने लाग्न सक्छ । त्यसको वृतान्त तल उल्लेख छ ।
त्यसपछि श्रेष्ठले दुई लाख २० हजार पनि एजेन्टले भनेको विभिन्न बैंक अकाउन्टमा पठाइदिए ।
यसपटक श्रेष्ठले जे चाहेका थिए, त्यसो भएन । क्रेडिट स्कोर घटेर ८० मा आइपुग्यो । उनले यतिबेलासम्म तीन लाख पाँच हजार रुपैयाँ जम्मा गरेका थिए भने उनले पाउनु पर्ने रकम पाँच लाख ५० हजार रुपैयाँ थियो । उक्त रकम पाउन उनले थप पाँच लाख ५० हजार रुपैयाँ पठाउनु पर्ने भयो । “मसँग त्यति पैसा थियो । तर, अब चाहिं शंका लाग्यो । युट्युबमा यसको किसिमको घटनाबारे खोजें । एउटा भिडिओमा ठ्याक्कै यही शैलीले ठगेको घटना देखाइएको थियो । त्यसपछि आफू ठगिएको थाहा पाएँ,” उनी भन्छन् ।
दशैंपछि विदेश जाने सुरमा भएका उनलाई उक्त अहिले रकम कसरी व्यवस्थापन गर्ने भन्ने तनाव छ । उनले रकम फिर्ता पाउने आशाले साइबर ब्युरोमा उजुरी दिएका छन् ।
श्रेष्ठसँगै मिल्दोजुल्दो कथा रामेछापका २१ वर्षीय सजन शर्मा (नाम परिवर्तन) को पनि छ । आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिका उनी डेनमार्क जाने तयारी गरिरहेका छन् । अहिले काठमाडौंकै एक कन्सल्टेन्सीमा उनी अध्ययन गरिरहेका छन् । कन्सल्टेन्सीमा बुझाउनु पर्ने शुल्क उनका बुवाले भैंसी बेचेर छोराको बैंक खातामा जम्मा गरिदिएका थिए ।
कन्सल्टेन्सीमा क्लास सकिएपछि बुझाउने योजना बनाएर उनले पैसा बैंक खातामै राखेका थिए । तर, त्यसरी अपरिचित नम्बरबाट आएको मेसेजको भर पर्दा पाँच हजार, ३० हजार हुँदै उनले ७० हजार गरी कूल एक लाख पाँच हजार रुपैयाँ गुमाए । अब शर्मासँग कोठा भाडा तिर्ने, खानाको जोहो गर्ने पैसा पनि छैन । विदेश जाने तयारीका साथ पढिरहेका उनी छुट्टै काम गर्न सक्ने अवस्थामा पनि छैनन् । घरमा यो सबै घटना सुनाउने ताकत पनि उनीसँग छैन । केही उपाय नलाग्ने देखेपछि उनले पनि साइबर ब्युरोमा उजुरी दिए ।
यी दुई युवक त्यति परिपक्क भइसकेका छैनन् । उनीहरू पैसाको लोभमा पनि झुक्किए भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । यी दुई युवकभन्दा भिन्नै पृष्ठभूमि भएका अर्का एक ३१ वर्षीय युवकलाई पनि यस्तै विपद् आइलागेको छ ।
काठमाडौं घर भई एमबीए अध्ययन गरिरहेका राकेश महर्जन (नाम परिवर्तन) पनि यसरी नै जालोमा परे । पोस्ट मात्र लाइक गरेर सुरुमा ८०० कमाएका उनले एक साताको अवधिमा चार लाख ३५ हजार गुमाइसकेका छन् । “एमबीए पढ्दैछु भनेर आफैलाई लाज लाग्ने अवस्था आइसक्यो हेर्नु न,” महर्जन भन्छन्, “नबुझेको पनि होइन । तर, यसको जालो यस्तो छ कि कसैले पनि आफूलाई जालमा पारिंदैछ भन्ने थाहै पाउन सक्दैनन् ।”
पैसा दुई दिनमै फिर्ता गरिदिने भन्दै उनले साथीसँग तीन लाख रुपैयाँ सापटी मागेका थिए । “साथीले पैसा सोधिसक्यो, मेसेज सिन गर्ने आँट नै छैन,” उनी थप्छन् ।
सुरुमा पोस्ट लाइक गर्न लगाएर पैसा दिई यसरी लुटिन्छ लाखौं रकम !
यस किसिमको ठगीमा सबैभन्दा पहिले प्रयोगकर्तालाई रकम जम्मा गर्न लगाइंदैन । बरु पोस्ट लाइक गरेको स्क्रिनशट पठाउन लगाएर रकम उनीहरूले भनेको वालेटमा पठाइन्छ ।
पहिलो चरणमा चार ओटा काम वापत ८०० रुपैयाँ दिइन्छ । यति भएपछि पोस्ट लाइक गरेकै भरमा पैसा आउँछ भन्नेमा प्रयोगकर्ता विश्वस्त हुन्छन् । त्यसपछि दोस्रो चरणमा दुई हजार रुपैयाँ जम्मा गर्न लगाइन्छ र त्यसपछिको च्याट टेलिग्राममा हुन्छ ।
त्यसमा प्रयोगकर्ताले दुई हजार जम्मा गरेपछि एउटा लिङ्क पठाइन्छ । अनि प्रयोगकर्ताले अकाउन्ट बनाइसकेपछि उनीहरूको वालेट वा बैंकमा ३१०० रुपैयाँ पठाइन्छ । अर्थात् अकाउन्ट बनाउनासाथ उनीहरूको दोस्रो चरणको टास्क पूरा हुन्छ ।
त्यसपछि तेस्रो चरणमा उनीहरूलाई लक्की ग्रुपमा एड गरिन्छ । खासमा त्यस ग्रुपमा त्यति धेरै सदस्य हुँदैनन् । न्यूनतम पाँचदेखि १० ओटा सदस्य त्यस ग्रुपमा हुन्छन् । र, पाँच हजार रुपैयाँ पठाएको स्क्रिनशट सबैले पठाउँछन् । सबैले पाँच हजार रुपैयाँ पठाएको स्क्रिनशट देखेपछि नयाँ जोडिएको प्रयोगकर्तलाई सबै आफू जस्तै प्रयोगकर्ता हुन् भन्ने लाग्छ र उसले पाँच हजार हालेर स्क्रिनशट पठाइदिन्छ ।
यसमा फसेका सर्वसाधारणको भनाइलाई आधार मान्ने हो भने त्यस च्यानलमा भएका अन्य सदस्य त्यही प्लेटफर्मका एजेन्ट हुन् । पाँच हजार पठाइसकेछि अर्को टास्कका लागि ‘३० हजार रुपैया’ पठाउनु पर्ने टेलिग्राम च्यानलमा एड गरिन्छ । त्यस च्यानलमा पनि सबैले ३० हजार रुपैयाँ पठाएर त्यसबापत आफूले कमिसनसहित केही रकम नाफा गरेको भन्ने मेसेज पठाएका हुन्छन् ।
यो देखेपछि नयाँ जोडिएको प्रयोगकर्तालाई ‘अरूले पाइरहेका रहेछन्’ भन्ने लाग्छ । र, उसले रकम पठाइदिन्छ । यस च्यानलमा पनि नयाँ जोडिएको व्यक्तिबाहेक अरू सबै त्यही प्लेटफर्मले सञ्चालन गरेका टेलिग्राम अकाउन्ट हुन्छन् ।
यसरी ३५ हजार रुपैयाँ पठाइसकेको व्यक्तिले थप रकम पठाउन पक्कै पनि हिचकिचाउँछ । ‘अरूले पाइसके, मैले किन पाएन’ भनेर सोध्न थाल्छ । यही मानसिकता बुझेर वेबसाइट क्रेडिट स्कोरको कन्सेप्ट राखिएको छ । त्यो सबैभन्दा पहिले १०० हुन्छ । तर जब प्रयोगकर्ताले पैसा दिन आशंका व्यक्त गर्छ त्यतिबेला क्रेडिट स्कोर घटाइन्छ । ‘अरूको क्रेडिट स्कोर घटेन त्यसैले पैसा पाए तर तपाईंको घट्यो । अब १०० बनाएपछि मात्र रकम रिफन्ड हुन्छ’ भनेर थप ७० देखि ८० हजार रुपैयाँ पठाउन लगाइन्छ ।
त्यसमा जोडिएको व्यक्तिले केहीगरी ८० हजार रुपैयाँ पठाए भने अर्को ‘भीभीआईपी’ च्यानलमा जोडिन्छ । त्यसमा सबै ७० हजार रुपैयाँ दिने प्रयोगकर्ता भएको जस्तो देखाइन्छ । ‘मेरो क्रेडिट स्कोर १०० पुगेपछि मैले पैसा पाएँ’ भनेर मेसेज लेखिरहेका थुप्रै अकाउन्ट हुन्छन् । यसअघि पैसा आउने होइन कि भन्ने आशंका भएको व्यक्ति अब भने थप विश्वस्त हुन्छन् । त्यसपछि फेरि अर्को यस्तै बहाना बनाएर दुई लाख २० हजार रुपैयाँ पठाउन लगाइन्छ ।
यता उसले जति रकम पठाएको छ त्यसको दोब्बर रकम खातामा देखिएको हुन्छ । जस्तो पाँच हजार पठाउँदा पाउनु पर्ने रकम १० हजार देखाइन्छ । दोस्रोमा ३० हजार राखिसकेपछि पहिलेको रकम नै जोडेर ७० हजार रुपैयाँ पाउनु पर्ने देखाइन्छ । र, उसको आर्थिक अवस्था हेरेर ७० वा ८० हजार रुपैयाँ जम्मा गर्न लगाइन्छ । यति भएपछि उसले पाउनु पर्ने रकम दुई लाख २० हजार रुपैयाँ देखाइन्छ । र, अर्को चरणमा दुई लाख २० हजार रुपैयाँ जम्मा गर्न लगाइन्छ । व्यक्तिले उक्त रकम पनि जम्मा गर्यो भने उसले पाउनु पर्ने रकम पाँच लाख ५० हजार रुपैया देखाइन्छ । र, अब पाँच लाख ५० हजार रुपैयाँ पठाउन लगाइन्छ ।
कुनै व्यक्तिले दुई लाख २० हजार रुपैयाँ तिर्नुपर्ने छ भने उसलाई चार-पाँच ओटा बैंक अकाउन्ट पठाएर पैसा भाग गरी पठाउन लगाइन्छ । किन यसरी रकम छुट्टाछुट्टै पठाउन लगाइन्छ भन्ने विषयमा थुप्रै तर्कहरू उब्जिएका छन् । जसको बैंक खाता प्रयोग भइरहेको छ, उसकोमा एकै पटक धेरै रकम नआओस् भन्ने एउटा आशय हुन सक्छ । त्यस्तै धेरै बैंक अकाउन्टमा रकम सर्कुलेट भइरह्यो भने अनुसन्धान जटिल होस् भन्ने अर्को आशय हुन सक्छ ।
पीडित भएकामध्ये १० जनासँग कुरा गर्दा एक जना बढीमा चार लाख ३५ हजार रुपैयाँ ठगिएको देखिन्छ । कोही पाँच हजार पठाइसकेपछि अरु रकम पठाउन पछि हटेको देखिन्छन् । केही सर्वसाधारण भने एक लाख पाँच हजार रुपैयाँ पठाइसकेपछि ठगिएको महसुस गरी पछि हटेका छन् । त्यसबाहेक अरूले चार लाख २५ हजार रुपैयाँसम्म पठाएका छन् ।
सित्तैमा कसैले पैसा दिंदैन, दिन थाल्यो भने ठगिंदैछु भन्ने बुझ्नुः साइबर ब्युरो
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यस्ता किसिमका घटना दैनिक औसतमा ३५ ओटा आउने गरेका छन् । “जम्मा छ मिनेटमा छ लाख रुपैयाँ बढी गुमाएका एक जना पीडित आउनु भएको थियो,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक अवस्थीले भने, “यो इन्भेस्टमेन्ट स्क्याम हो । सबैलाई ठग्ने शैली एउटै छ ।”
एउटा व्यक्तिलाई ठगी गर्न यस प्लेटफर्मका केही समर्पित एजेन्ट नै लाग्ने भएकाले मान्छे सजिलै ठगिने उनले सुनाए । उनले अगाडि भने, “यत्तिकै कसैले पनि पैसा दिंदैन । अनलाइनमा लगानी गरेर दोब्बर रकम दिने प्रलोभन देखाइएको छ भने त्यसमा नलाग्दा नै राम्रो हुन्छ । सित्तैमा कसैले केही दिंदैन । पैसा दिन थाल्यो भने आशंका गर्नुपर्छ ।”
अनलाइनमा कसैले लगानी गर्नु भनेकै भरमा आँखा चिम्लेर लगानी गर्नु हुँदैन । बरु बुझेको व्यक्तिलाई त्यस प्लेटफर्मको बारेमा सोधेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिंदा राम्रो हुने अवस्थीले बताए ।
अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको उनले सुनाए । यदि कोही ठगिएको छ भने साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन समेत प्रहरी उपरीक्षक अवस्थीले सुझाव दिए ।