close

ओलम्पिक पदक विजेता पलेशालाई एनसेलले १० लाख नगदसहित पुरस्कृत गर्ने

टेकपाना टेकपाना

भदौ १९, २०८१ १२:५

ओलम्पिक पदक विजेता पलेशालाई एनसेलले १० लाख नगदसहित पुरस्कृत गर्ने

काठमाडौं । पेरिसमा जारी पारालिम्पिक्स २०२४ मा पहिलो पटक ओलम्पिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरूप एनसेलले पुरस्कार घोषणा गरेको हो । 

कम्पनीले यस प्रतियोगितामा सहभागी अन्य पारा खेलाडी तथा प्रशिक्षकलाई पनि थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्नेछ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरिएको कम्पनीले जनाएको छ । 

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपाल र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो ।”

एनसेलले आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८१ १२:१५