काठमाडौं । बुधवार सार्वजनिक बिदा भन्दै गलत सूचना फैलाएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले ती युवकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको एसपी भावेश रिमालले जानकारी दिए ।
गृह मन्त्रालयको पुरानो सूचनालाई तोडमोड गरी सामाजिक सञ्जालमा सूचना फैलिएपछि बुधवार धेरै जना भ्रममा परेका थिए । उक्त सूचनामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्ने भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तर, अहिले कतारका अमिर नेपा भ्रमणमा आउने कुनै योजना छैन । उनी गत वैशाखमै नेपाल आएका थिए र त्यही बेलाको सूचनालाई अहिले तोडमोड गरेर मिथ्या सूचना फैलाइएको छ ।
त्यस्तै सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा बेटिङ साइटको लिङ्कसमेत शेयर भइरहेको पाइएको छ । बिदासम्बन्धी समाचार भनेर शेयर गरिएको लिङ्क खोल्दा बेटिङ साइट वनएक्स बेटको प्रचार गरिएको देख्न सकिन्छ ।