काठमाडौं । काठमाडौं महानगरपालिकाले सीसीटीभीमार्फत बञ्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी गर्न थालेको छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन महानगरले ल्यान्डफिल क्षेत्रमा अत्याधुनिक सीसी क्यामेरा जडान गरेको हो ।
योसँगै महानगरले काठमाडौं प्लाजास्थित आफ्नो कार्यालयबाट ल्याण्डफिल साइटको निगरानी सुरु गरेको छ । फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, “स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिएको हो ।”
क्यामेराबाट प्राप्त दृश्यहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।
साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिनेगरी क्यामेरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्, “नौ ओटा क्यामेराका दृश्यबाट साइटको निगरानी हुन्छ ।”
पछिल्लो समयमा जडान गरिएका क्यामेरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामेरा हुन् ।
महानगरका सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने, “यसबाट भिडिओको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।”