काठमाडौं । छोटो अवधिको तालिममार्फत दक्ष आईटी जनशक्ति उत्पादनमा क्रियाशील शैक्षिक संस्था स्विभ्ट एजुकेसन (Swivt Education)ले नोभेम्बर इन्टेकका लागि भर्ना खुलाएको छ । संस्थाले एआई तथा डेटा साइन्स, फुल स्ट्याक सफ्टवेयर इन्जिनियरिङ, यूआई/यूएक्स डिजाइन, साइबर सेक्युरिटी, मोबाइल एप इन्जिनियरिङ र आन्टरप्रेनियरशिप लगायतका विभिन्न कोर्सका लागि रजिस्ट्रेसन खुलाएको हो ।
यी प्रत्येक कोर्स ६ महिने पाठ्यक्रममा आधारित छन् अर्थात् ६ महिनाभित्र सम्बन्धित क्षेत्रको व्यावसायिक सीप हासिल गरी उद्योगमा काम गर्न सक्षम बनाइने कम्पनीले जनाएको छ । प्रत्येक कोर्समा अधिकतम २० विद्यार्थीलाई मात्र भर्ना गरिनेछ । इच्छुक विद्यार्थीहरूले आगामी अक्टोबर १५ सम्ममा दर्ता गर्न सक्नेछन् ।
भर्ना भएका विद्यार्थीहरूले नोभेम्बरदेखि कक्षा सुरु गर्नुअघि अक्टोबर महिनाभरि घरमै बसेर अध्ययन सामग्रीको तयारी गर्न पाउनेछन् । यी कोर्सहरूको शुल्क डेढ लाखदेखि तीन लाख रूपैयाँसम्म रहेको छ । विद्यार्थीले आफ्नो रुचिअनुसार कुनै एक कोर्स छान्न सक्नेछन् ।
हङकङको ‘एक्सिलेरेट एजुकेसन’सँगको सहकार्यमा स्विभ्ट टेक्नोलोजीले करिब डेढ वर्षदेखि स्विभ्ट एजुकेसन अन्तर्गत सूचना प्रविधि सम्बन्धी कोर्स उपलब्ध गराइरहेको छ । यहाँ पढ्ने विद्यार्थीले हङकङको पाठ्यक्रम र प्रमाणपत्र पाउने कम्पनीका सञ्चालक सुवास शाहीले बताए ।
उनका अनुसार स्विभ्ट एजुकेसन ‘रेडी टु जब बुटक्याम्प’ हो । यसमा कोर्स भने हाइब्रिड मोडेलमार्फत पढाइ हुन्छ । अर्थात् आधा कोर्स भौतिक रूपमा र आधा अनलाइनमार्फत पढाइन्छ । यसले विद्यार्थीलाई भौतिक र अनलाइन दुवै संसारमा काम गर्न योग्य बनाउने शाहीको दाबी छ ।
विश्वव्यापी रूपमा खासगरी आईटी क्षेत्रमा विश्वविद्यालयको सर्टिफिकेटलाई भन्दा पनि सीप र दक्षतालाई बढी महत्त्व दिन थालिएको छ । यसको अर्थ विश्वमा प्रमाणपत्रभन्दा पनि सीपको महत्त्व बढ्दै गएकाले यस प्रकारको शैक्षिक संस्था सञ्चालनमा ल्याएको उनले बताए ।
उनका अनुसार स्विभ्टको प्रमुख उद्देश्य नै विद्यार्थीलाई वर्तमान र भविष्यको उद्योगका लागि चाहिने सीप सिकाउनु हो । यसका साथै नेपालबाट दक्ष जनशक्तिको बढ्दो पलायन रोक्नु र सके यहाँको दक्ष जनशक्तिको श्रम अनलाइनमार्फत इन्टरनेटमा बेच्नु कम्पनीको ध्येय भएको उनले बताए ।
स्विफ्टको कोर्समा भर्ना हुन एक महिना अघिदेखि विद्यार्थीले स्वतःस्फूर्त तयारी थाल्नु पर्ने हुन्छ । यसमा विद्यार्थीले आवश्यक सामग्री सङ्कलन गर्ने, पढ्न तयार हुने जस्ता काम गर्छन् । त्यसले कोर्स अध्ययन गर्न विद्यार्थीलाई तयारी गराउने उनको भनाइ छ ।
कक्षा सुरु भएपछि सबैभन्दा पहिला विद्यार्थीले आधारभूत विषय पढ्छन् । त्यसपछि एडभान्स विषय पढ्नु पर्ने हुन्छ । जुन भौतिक रूपमै हुन्छ । र यसको अवधि दुई/तीन महिनाको हुन्छ ।
त्यसपछि एक महिना अनलाइनमार्फत पढाइ हुन्छ । सो अवधिमा नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने तरिका सिकाइने शाही बताए । त्यसपछिको एक महिना विद्यार्थीले कुनै वास्तविक परियोजना छानेर त्यसमा काम गर्छन् । जसलाई कोर्सको पाठ्यक्रममा ‘क्याप्सटोन प्रोजेक्ट र पोर्टफोलियो’ नाम दिइएको छ ।
यो अवधि सकिएपछि अन्तिम एक महिनामा विद्यार्थीहरूलाई काममा लगाउने प्रयास सुरु हुन्छ । यसमा विद्यार्थीले सकेसम्म आफ्नो सीप देखाएर नियुक्ति पाउने प्रयास गर्छन् ।
यसरी स्विफ्टले पढाउने छ महिनाको कोर्स पूरा हुन्छ । अहिलेसम्म कम्पनीले सीपको आधारमा काममा लगाइदिने कार्यक्रम आयोजना भने गरेको छैन । भावी दिनमा चाँडै त्यस किसिमको कार्यक्रम पनि सञ्चालन हुने उनको भनाइ छ ।
उता हङकङको इन्स्टिच्युट ‘एक्सिलेरेट एजुकेसन’ले प्रोजेक्ट, करिकुलम, सर्टिफिकेट जस्ता कुरामा सपोर्ट दिने उनले बताए । स्विभ्ट एजुकेसनमा पढ्ने विद्यार्थीले दिनमा कम्तीमा पनि सात/आठ घण्टा समय दिनुपर्ने हुन्छ । त्यसमध्ये आधा समय सैद्धान्तिक र भौतिक कक्षा सञ्चालन हुन्छ । जसमा सामान्यतः दिनभर विद्यालयको गए जस्तै अनुभूति हुन्छ ।
स्पिफ्टले बीचैमा पढाइ छाडेका, सीप नभएका व्यक्तिहरूदेखि उच्च शिक्षा लिइरहेका विद्यार्थीसम्मलाई लक्षित गरिरहेको छ । यो कोर्स पढ्न विद्यार्थीलाई कुनै न्यूनतम योग्यता तोकिएको छैन ।
वर्षमा दुईदेखि तीन पटक भर्ना खुलाउने योजना अनुसार आगामी नोभेम्बर इन्टेकको भर्ना प्रक्रिया सुरु भएको शाहीले बताए ।