काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि ट्रायल पास गरेका सेवाग्राहीले अब फोटो र क्यूआर कोड सहितको रसिद पाउने भएका छन् । स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद दिन लागिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २९ साउनमा बसेको संघ र प्रदेशका यातायात मन्त्रालयका प्रतिनिधि तथा सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
तत्काल लाइसेन्स उपलब्ध गराउन नसक्ने भएपछि सरकारले सवारी चालक पहिचानका लागि फोटो र क्यूआर कोड सहितको रसिद वितरण गर्ने योजना ल्याएको रिजालले सुनाए । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ ।
यसअघि सबै स्मार्ट लाइसेन्सको छपाइ सङ्घीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले गर्दै आएकोमा अब प्रदेशस्थित यातायात कार्यालयहरूबाट पनि हुने उनले जनाए ।
हाल देशैभर गरी ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।