काठमाडौं । सामाजिक सञ्जालमा हिजो आइतबार (२३ भदौ) रङ्गकर्मी तथा कलाकार सुनील पोखरेल निकै चर्चामा रहे । यसको कारण हो, हलिउडको वाक अफ फेममा उनको नाम समावेश भएको समाचार । तर तथ्य जाँच गर्दा भने उक्त समाचार गलत रहेको पाइएको छ ।
यसबारे तथ्य जाँचकर्ता उमेश श्रेष्ठले आफ्नो ब्लग माइ संसारमार्फत उक्त दाबी झुटो भएको पुष्टि गरेका हुन् । त्यस्तै तपाईंले वाक अफ फेमको वेबसाइटमार्फत पनि कोही कलाकार त्यहाँ रहे/नरहेको थाहा पाउन सकिन्छ । जसमा सुनीलको नाम सर्च गर्दा भेटिँदैन ।
सामाजिक सञ्जालमा आफू बारे झूटो खबर फैलिएपछि पोखरेल स्वयंले फेसबुकमा एक पोस्ट लेख्दै उक्त समाचारलाई ‘बेकारको हल्ला’को संज्ञा दिएका छन् । “साथी हो, यो बेकारको हल्लाबाट मलाई मुक्त गरिदिनु होस् । म यसमा संलग्न छैन । यस्ता हावा कुरामा मलाई विश्वास पनि छैन,” उनले लेखेका छन् ।
यो मिथ्या खबर भने सुरुवातमा पोखरेलकै श्रीमती निशा शर्माको फेसबुक पोस्टबाट फैलिएको पाइएको छ । किनकि त्यसैलाई नै स्रोत मानेर केही अनलाइन सञ्चार गृहले समाचार तयार पार्दा आम मानिस त्यसलाई पत्याउन पुगेका थिए । अहिले भने शर्माले आफ्नो पोस्ट डिलिट गरिसकेकी छिन् ।
के हो हलिउड वाक अफ फेम?
हलिउड वाक अफ फेम अमेरिकाको क्यालिफोर्निया, लस एन्जलसमा अवस्थित एक प्रसिद्ध स्थान (सडक) हो, जहाँ चलचित्र, टेलिभिजन, सङ्गीत, रेडियो, र थियटर क्षेत्रमा योगदान पुर्याउने चर्चित कलाकारहरूको सम्मानमा तारा (स्टार) राखिन्छ । हालसम्म यसमा २,७०० भन्दा बढी स्टारहरू राखिएको उक्त वेबसाइटमा उल्लेख छ ।
तर यसमा सडकमा नाम लेखिपाउँ भनेर आवेदन दिन मात्रै २५० डलर र स्वीकृत भएपछि समारोह गर्न ७५ हजार डलर लाग्ने हलिउड वाक अफ फेमको वेबसाइटमा उल्लेख छ । यद्यपि त्यहाँ पुगेका आगन्तुकले ३० डलर तिरेर केही समयमा लागि आफ्नो नाम लेखाउन सक्छन् ।
सुनीलका ‘पौड्याल नेपाली गोकुल’ नाम गरेका प्रशंसकले त्यही गरेर निशालाई फोटो पठाएका थिए । सोही कुरालाई निशाले वास्तवमै हलिउड वाक अफ फेममा नाम राखिएको सोचेर फेसबुकमा पोस्ट गर्दा मिथ्या खबर फैलिएको हो ।