काठमाडौं । आज भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा एप्पलले आधिकारिक रूपमा आईफोन १६ सार्वजनिक गरेको छ । आईफोन १६ को सबैभन्दा आकर्षक पक्ष एप्पल इन्टेलिजेन्स हो ।
यसका लागि एप्पलले चिपसेटमा ठूलो परिवर्तन गरेको छ । सामान्यत: एप्पलले क्रमिक संख्या अनुसारको चिपसेट सार्वजनिक गर्दै आएको थियो । यसपटक भने एप्पलले ए १६ बाट सिधैं ए १८ चिप सार्वजनिक गरेको छ ।
यो चिप आईफोन १५ मा प्रयोग भएको ए१६ को तुलनामा ३० गुणा शक्तिशाली भएको एप्पलको दाबी छ । आईफोन १६ ले हाइ एन्ड डेस्कटपलाई चुनौति दिने एप्पलले दाबी गरेको छ ।
हुन त एप्पलले केही समय अघि सम्पन्न डेभलपर कन्फ्रेन्समा नै एप्पल इन्टेलिजेन्सको घोषणा गरेको हो । तर आधिकारिक रूपमा भने अब मात्र प्रयोगकर्ताले यसको वास्तविक अनुभव गर्न पाउने छन् । किनकि आईफोनमा मेसेजिङदेखि फोटोसम्मका काम गर्न एआई प्रयोग हुने भएको छ ।
एआई राइटिङ टुल
सामसङ ग्यालेक्सी र गुगल पिक्सेल फोनमा जस्तै अब आईफोन १६ सिरिजमा एआई राइटिङ टुल आउने भएको छ । यससँगै टेक्स्ट लेख्न तथा त्यसको सारांश गर्न एआई प्रयोग हुने भएको छ । एआई राइटिङ टुलसँगै मेलमा पनि एप्पल इन्टेलिजेन्स प्रयोग हुने भएको छ । यसले तपाईंलाई आएका इमेल सारांक्ष गरिदिने छ ।
इमोजी र इमेज जेनेरेटर
त्यस्तै यस सिरिजमा इमोजी तथा इमेज जेनेरेसनका लागि पनि एआई फिचर उपलब्ध हुने छ । जुन काम सामान्य प्रम्प्टबाटै हुने एप्पलको भनाइ छ । यो फिचर भने एपहरूमा एकीकृत गरिने एप्पलले जनाएको छ । उदाहरणका लागि, ग्यालरीमा भएको कुनै विशेष फोटो पत्ता लगाउन एआई प्रयोग हुने भएको छ भने फोटोहरूको स्लाइड शो तयार पार्ने काम सामान्य प्रम्प्ट लेखेकै भरमा हुने भएको छ ।
स्मार्ट सिरी
त्यस्तै एप्पलको भोइस एसिस्टेन्ट सिरी पनि अब स्मार्ट हुने भएको छ । यससँग कुरा गर्दा कुनै गल्ती भए पनि सिरीले बुझेर जवाफ दिने कम्पनीको दाबी छ ।
भिज्युअल इन्टेलिजेन्स
अब गुगलको भिज्युअल सर्च फिचर जस्तै आईफोनमा पनि भिज्युअल इन्टेलिजेन्स फिचर उपलब्ध हुने भएको छ । यसका लागि पनि एआई प्रयोग हुने भएको छ । उदाहरणका लागि, कुनै पनि रेस्टुरेन्टको फोटो खिचेर तपाईंले उक्त रेस्टुरेन्ट खुल्ने समय र त्यहाँ पाउने खानेकुराको सूची पाउन सक्नुहुन्छ । विद्यालयको गृहकार्य गर्दा आएन भने समस्याको फोटो खिचेर हल पाउन सक्नुहुन्छ ।
एप्पलका सफ्टवेयर प्रमुख क्रेग फेडेरिघीका अनुसार एप्पल इन्टेलिजेन्स धेरै एआई मोडेलहरूबाट बनाइएको हो । यसले आईफोन चलाउने अनुभूति पनि परिवर्तन गर्ने एप्पलले जनाएको छ । यसका साथै डेटा सुरक्षाका लागि प्राइभेट क्लाउड कम्प्युटर प्रयोग हुने भएको छ । यसले प्रयोगकर्ताको गोपनियता र सुरक्षाको व्यवस्थापन गर्ने एप्पलको भनाइ छ ।