काठमाडौं । अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस वर्षदेखि नै लागू हुने गरी सामाजिक सञ्जालमा हदबन्दी लगाउने बताएका हुन् ।
यो नियम बालबालिकाहरूका लागि लागू हुनेछ । सामाजिक सञ्जालले बालबालिकाहरूलाई शारीरिक तथा मानसिक रूपमा नकारात्मक प्रभाव पार्ने भएकाले अष्ट्रेलियाले यस्तो कदम चाल्न लागेको प्रधानमन्त्री अल्बानीजको भनाइ छ । यसले बालबालिकालाई डिभाइसबाट बाहिर निकालेर फुटबल मैदानमा पुर्याउने उनको विश्वास छ ।
तर, हदबन्दीका लागि कति उमेर तोक्ने भनेर निश्चित भएको छैन । १४ अथवा १६ वर्षको उमेर हुनसक्ने बताइएको छ । यसका लागि उमेर प्रमाणीकरणको परीक्षण आगामी महिनादेखि सुरु हुने भनिएको छ ।
यद्यपि, विश्लेषकहरूले अनलाइनमा उमेर सीमा लागू गर्न प्राविधिक रूपमा सम्भव हुनेमा शङ्का व्यक्त गरेका छन् । किनकि फेसबुक र इन्स्टाग्राम चलाउन १३ वर्ष उमेर निर्धारण गरिएको छ, तर पनि यी प्लेटफर्महरूमा बालबालिकाको संख्या अझै उच्च रहेको छ ।
सन् २०२३ मा सिड्नी विश्वविद्यालयले गरेको एक अध्ययनले १२ देखि १७ वर्षका तीन चौथाइ अष्ट्रेलियालीहरूले युट्युब वा इन्स्टाग्राम प्रयोग गरिरहेको देखाएको थियो ।
यदि यो कानून लागू भयो भने सामाजिक सञ्जालमा उमेरमा हदबन्दी लगाउने अष्ट्रेलिया पहिलो देश हुनेछ । यसअघि युरोपियन युनियन (ईयू)ले यस्तै प्रयास गरेको थियो । तर सो प्रयास बालअधिकारविरुद्ध भएको भन्दै उजुरी परेपछि ईयू पछि हटेको थियो ।