close

आईफोन १६ सार्वजनिक हुनअघि नै ३० लाख बढीले प्रिअर्डर गरे ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन

टेकपाना टेकपाना

भदौ २५, २०८१ १२:३४

आईफोन १६ सार्वजनिक हुनअघि नै ३० लाख बढीले प्रिअर्डर गरे ह्वावेको ट्राइ-फोल्ड स्मार्टफोन

काठमाडौं ।  चिनियाँ प्रविधि कम्पनीले आज सार्वजनिक गर्न लागेको स्मार्टफोन 'मेट एक्सटी (Mate XT​) ३० लाख बढीले प्रिअर्डर गरेका छन् । यो तथ्याङ्क हिजो आईफोन १६ सार्वजनिक हुनअघिको हो ।

ह्वावेले यसलाई विश्वकै पहिलो फाइभजी ट्राइ-फोल्ड स्मार्टफोन भनेको छ । यसलाई ईकमर्स प्लेटफर्म भीमेल डटकमबाट ३० लाखभन्दा बढीले प्रिअर्डर गरेको चिनियाँ सञ्चारमाध्यम साउथ चाइन मर्निङ पोस्टले जनाएको छ ।

आज सार्वजनिक भएपछि मेट एक्सटी प्रिअर्डर गरेका व्यक्तिहरूले फोन कसरी पाउनेछन् भन्ने जानकारी पाउनेछन् । चिनियाँ बजारमा प्रिअर्डरले देखाएको उत्साहले अमेरिकी कम्पनी एप्पलको नयाँ लाइनअपलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

चीनको फोल्डेबल फोनको बजारमा ह्वावेले ४२ प्रतिशत हिस्सा ओगटेको छ । मेट एक्सटीको आगमनले चिनियाँ बजार थप प्रतिस्पर्धी हुने देखिएको छ । 

कस्तो छ ह्वावेको मेट एक्सटी?

यस स्मार्टफोनमा तीन ओटा फोल्डेबल ओलेड स्क्रिन छन् । बढी रिफ्रेस रेट भएकाले स्क्रोलिङ र एनिमेसन पनि राम्रो हुने बताइएको छ ।

कम्पनीले यसमा किरिन ९ सिरिज चिपसेट राख्नेछ । अपरेटिङ सिस्टममा ह्वावेको आफ्नै हार्मोनी ओएस रहने छ । त्यस्तै फोनमा ट्रिपल क्यामेरा सेटअप हुने छ । फोटोग्राफीका लागि अल्ट्रा वाइड र टेलिफोटो क्यामेरा लेन्स राखिने छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ १७:४२