close

सामाजिक सञ्जाललाई शक्ति बनाएका मेयर हर्क भन्छन्- ‘बालेन र मलाई हाल्नेसम्मको योजना छ रे !’

टेकपाना टेकपाना

भदौ २६, २०८१ १५:१४

सामाजिक सञ्जाललाई शक्ति बनाएका मेयर हर्क भन्छन्- ‘बालेन र मलाई हाल्नेसम्मको योजना छ रे !’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द शाह (बालेन) र आफूलाई जेल हाल्नेसम्मको तयारी रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले यस्तो दाबी गरेका हुन् ।

"बालेन र मलाई जेल हाल्नेसम्मको योजना छ रे उनेरुको !," साम्पाङले पोस्टमा लेखेका छन् । 

मेयर साम्पाङले आफ्नो पोस्टमार्फत कुन विषयलाई लिएर कसले जेल हाल्ने योजना बनायो भन्ने विषय भने स्पष्ट रूपमा खुलाएका छैनन् । तर उनको अभिव्यक्तिले सरकार र सत्ताधारी दलहरूले नै त्यस किसिमको योजना बनाइरहेको सङ्केत भने उनले दिन खोजेका छन् ।

त्यसो त यसअघि सिंहदरबार जलाइदिने धम्कीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेकै स्टाटसको विषयलाई लिएर तत्कालीन सरकारले उनलाई पक्राउ गर्ने विषयमा छलफल चलाएको कुरा बाहिर आइसकेको छ । कान्तिपुरको फायरसाइड नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै जनमत पार्टीका अध्यक्ष सीके राउतले यो विषयको खुलासा गरेका थिए ।

तर पछि एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालेनसँग सो विषयलाई लिएर स्पष्टीकरण लिने कि भन्ने विषयमा छलफल भए पनि पक्राउ गर्ने कुनै योजना नभएको बताएका थिए ।

बालेन र हर्क सामाजिक सञ्जाललाई नै प्रमुख हतियार बनाएर स्थानीय सरकार प्रमुखमा निर्वाचित भएका थिए । निर्वाचित भएपश्चात् झनै सामाजिक सञ्जालमा समर्थक बटुलेका उनीहरूले बेलाबेला केन्द्रीय सरकार र सत्ताधारी दलहरूलाई निशानामा पार्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि र आलोचना पोख्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८१ १५:२९