close

‘लभ भावी’ को फोटो जोडेर सांसद गुरुङ डिभोर्सी श्रीमतीसँग भन्दै सामाजिक सञ्जालमा मानमर्दन

टेकपाना टेकपाना

भदौ २६, २०८१ १६:५१

‘लभ भावी’ को फोटो जोडेर सांसद गुरुङ डिभोर्सी श्रीमतीसँग भन्दै सामाजिक सञ्जालमा मानमर्दन

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको नाम जोडिएपछि अहिले सामाजिक सञ्जालमा उनको बचाउ तथा विरोधमा पोस्ट भइरहेका छन् । 

प्रतिनिधिसभाले गठन गरेको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको रकम घोटालामा धनराज गुरुङको नाम लिएपछि यो विषयले चर्चा पाएको हो ।

सहकारी अध्यक्ष गुरुङले गत भदौ ६ मा समितिमा उपस्थित भएर बयान दिएका थिए । सो क्रममा उनले धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ व्यवस्थापक रहँदा १२ देखि १४ करोड रुपैयाँसम्म दुरुपयोग भएको र उक्त घटनाबारे कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए ।

ज्योती चार वर्षदेखि फरार सूचीमा छिन् । धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको र सहकारीको रकम अपचलनमा आफू दोषी नरहेको दाबी गर्दै आएका छन् ।

यता, ठगी प्रकरणमा जोडिएपछि त्यसबाट जोगिन सांसद गुरुङले नक्कली डिभोर्स गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ ।

अहिले उनै सांसद गुरुङ र पूर्वपत्नी ज्योती सँगै छन् र त्यो डिभोर्स नक्कली हो भन्ने देखाउन सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट आइरहेका छन् । त्यसैको नतिजा हो सांसद धनराज गुरुङ र ‘लभ भावी’को फोटो । 

फेसबुक र एक्समा धनराज गुरुङबारे विभिन्न ट्रोल तथा मिम सामग्री पोस्ट भइरहेको देखिन्छ । त्यहीमध्ये सांसद गुरुङ एक युवतीसँग विमानमा चढिरहेको बेला खिचिएको जस्तो देखिने फोटोले बढी चर्चा पाएको छ ।

नेकपा (एमाले)का कार्यकर्ता एवं पत्रकार प्रदीप भट्टराईले एक्समा सोही फोटो पोस्ट गर्दै लेखेका छन्, “डिभोर्स गरेका आदरणीय काङ्ग्रेस उपसभापति !” पोस्टको रिप्लाईमा उनले ती महिलालाई आफूले फोटोमा देखिने युवती गुरुङकी श्रीमती हुन् नभनेको उल्लेख गरेका छन् । तर, पोस्टको आशय भने त्यस्तो देखिन्न । उनले अहिले यो पोस्ट हटाएका छन् ।

त्यही फोटो शेयर गर्दै फेसबुक प्रयोगकर्ता गणेश साउद लेख्छन्, “सहकारी ठगहरूको ब्रह्म सूत्र: डिभोर्स गरौं, सम्पत्ति जोगाऔं । कागजी रूपमा डिभोर्स गरे पनि बस्न चाहिँ अहिलेसम्म सँगै बस्दा रहेछन् ।”

अर्का फेसबुक प्रयोगकर्ता पश्वन नेपाल लेख्छन्, “नक्कली डिभोर्स गरौं, सम्पत्ति जोगाऔं । काण्ड सहकारी ! अनि रातो पासपोर्ट काण्ड पनि रैछ हैट धनराजको ।”

सामाजिक सञ्जालमार्फत प्रचार गरिएको यो फोटो भने फेक हो । ठगी प्रकरणमा नाम मुछिएपछि धनराज गुरुङको मानमर्दन गर्ने उद्देश्यसहित यो फोटो सम्पादन गरिएको बुझ्न सकिन्छ ।

वेब ब्राउजरमा फेसबुक खोलेर यो फोटो भएको पोस्टमा गई माउसमा दायाँ क्लिक गर्ने हो भने ‘सर्च विथ गुगल’को अप्सन देखिन्छ । सो अप्सनमा क्लिक गर्ने हो भने अन्तिममा सांसद धनराज गुरुङले एक्समा पोस्ट गरेको फोटो, त्यसको टाइटल र डिस्क्रिप्सन देखिन्छ । उक्त लिङ्क क्लिक गरी एक्समा जाने हो भने उनले सो फोटो कुवेत जाने क्रममा खिचेको भन्ने उल्लेख गरेको देखिन्छ । आधिकारिक फोटोमा ती महिला कहीं कतै देखिन्नन् । 

तर, पहिले फेसबुकमा भएको फोटोलाई गुगल रिभर्स इमेज सर्चमा राखेर हेर्दा ‘कोमल रानी’ नामको फेसबुक पेजबाट अपलोड भएको देखिन्छ । त्यही लिङ्कमा क्लिक गर्दा फोटोको मुख्य स्रोत ‘कोमल रानी’ नामको फेसबुक पेज र ‘लभ भावी’ नामको पिन्ट्रेस्ट अकाउन्टमा पोस्ट भएको देखिन्छ ।

 

फेसबुक र पिन्ट्रेस्टका यी यस्ता अकाउन्ट हुन् जसमा ‘लभ भावी’, ‘देशी भावी’ भन्दै सामाजिक सञ्जालमा विभिन्न महिलाको फोटो राखिन्छ । 

यसबाट के प्रस्ट हुन्छ भने यी दुवै फोटो फरक-फरक हुन् ।

धनराज गुरुङले एक्समा अपलोड गरेको फोटोबाट बीचका व्यक्तिलाई हटाएर युवतीको फोटो राखिएको छ । फोटोलाई विश्लेषण गर्दा महिलाको फोटोको ब्याकग्राउन्ड हटाएर त्यसपछि गुरुङको फोटोमा जोडिएको देखिन्छ । तर, दुवै फोटोमा परेको प्रकाशका फरक भएकाले त्यसमा युवतीको फोटो एउटा समयमा र गुरुङको फोटो अर्को समयमा खिचिएको प्रष्ट हुन्छ । 

सामाजिक सञ्जालका माध्यममा फोटो एडिट गरी राखिएको भनेर धेरैले आलोचना गर्न थालेका छन् । उक्त पोस्ट एक्समा रिपोस्ट गर्दै अजय खरेलले व्यङ्ग्य गर्दै भनेका छन्, “माइक्रोसफ्ट पेन्टबाट फोटोशप गरेको नतिजा ।”

पछिल्लो अध्यावधिक: भदौ २६, २०८१ १७:३७