close

पब्जी पीएमएसएल फलको फाइनलमा नेपाली टिमको राम्रो सुरुवात

टेकपाना टेकपाना

भदौ २८, २०८१ १२:५२

पब्जी पीएमएसएल फलको फाइनलमा नेपाली टिमको राम्रो सुरुवात

काठमाडौं । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ को फाइनलमा नेपाली टिमले राम्रो सुरुवात गरेका छन् । फाइनल चरणको पहिलो दिन (बिहीवार)डीआरएस गेमिङ ७२ पोइन्ट सहित अङ्क तालिकाको तेस्रो र होरा ई-स्पोर्ट्स ५६ पोइन्ट सहित छैटौं स्थानमा रहेको छ । दुवै टिमले पहिलो दिनमा एक-एक चिकेन डिनर खाएका थिए ।

अङ्क तालिकाको पहिलो स्थानमा मङ्गोलियन पब्जी टिम ‘फोमिराकल भाइब्स’ रहेको छ । उसले दुई चिकेन डिनर सहित ९२ पोइन्ट ल्याएको छ । 

फाइनल खेल १५ सेप्टेम्बरसम्म चल्नेछ । फाइनल जित्ने टिमले २६ हजार डलर (करिब ३७ लाख ३८ हजार रुपैयाँ) पाउनेछ । त्यस्तै हरेक चिकेन डिनरमा टिमले २०० डलर पाउनेछ । यसबाहेक फाइनलको ‘मस्ट भ्यालुएबल प्लेयर’ ले ८०० डलर, गन्सलिङ्गरले ७०० डलर र ग्रेनेड मास्टरले ५०० डलर पाउनेछन् । 

यसबाहेक अङ्क तालिकाको शीर्ष पाँचभित्र रहने टिमले ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२४’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब च्यानल तथा फेसबुक पेजबाट दिउँसो ४:४५ देखि खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ १३:३