काठमाडौं । मङ्गलबार ह्वावेले तीन पटकसम्म फोल्ड गर्न सकिने विश्वकै पहिलो फोन सार्वजनिक गर्यो । एप्पलले आईफोन १६ सार्वजनिक गर्नु अगावै ह्वावेले आफ्नो फोनको प्रि-बुकिङ खुलाएको थियो ।
एप्पलको उक्त सिरिज सार्वजनिक भएको केही घण्टामै ह्वावेले ‘मेट एक्सटी’ मोडेलको ट्राईफोल्ड फोन सार्वजनिक गर्यो । यसको सुरुवाती मूल्य नै १९ हजार ९९९ युआन (करिब तीन लाख ७६ हजार) रुपैयाँ कायम गरिएको छ ।
फोन सार्वजनिक हुनु पहिले नै ४० लाख बढीले यसको प्रि-बिकिङ गरिसकेका थिए । अप्रत्याशित रूपमा आएको प्रि-बुकिङले यसलाई थप उचाइमा पुर्याएको छ ।
अहिले फोनको डिस्प्ले परिवर्तन गर्न लाग्ने खर्चबारे चर्चा भइरहेको छ । यदि यस ट्राइफोल्ड फोनको डिस्प्ले खराब भयो भने त्यसलाई फेर्न कम्तीमा सात हजार ९९९ युआन (करिब एक लाख ५० हजार रुपैयाँ) लाग्ने बताइएको छ ।
फोनमा भएको ओएलईडी प्यानल खराब भयो भने तपाईं कम्पनीलाई रिसाइकल गर्नका लागि पनि अनुरोध गर्न सक्नुहुन्छ । कम्पनीले खराब भएको स्क्रिनलाई निःशुल्क रिसाइकल गरिदिनेछ । तर, तपाईंले नयाँ स्क्रिन नै राख्न खोज्नुभयो भने तपाईंले डेढ लाख रुपैयाँ जति तिर्नुपर्ने हुन्छ ।
हुन त यस ट्राइफोल्ड फोनको स्क्रिन कम शुल्कमा मर्मत गर्नका लागि ह्वावेले विभिन्न सेवाहरू पनि ल्याएको छ । तपाईंले नयाँ डिस्प्ले नभई रिफर्बिश्ड (पहिले प्रयोग भइसकेको) डिस्प्ले राख्न खोज्नुभयो भने त्यसका लागि लाग्ने शुल्क कम हुन्छ ।
डिस्प्ले परिवर्तन गर्दा ग्राहकलाई खर्चको भार कम होस् भन्नका लागि कम्पनीले स्क्रिनको बीमा गर्ने सेवा पनि ल्याएको छ । यसका लागि तीन हजार ४९९ युआन (करिब ६५ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । तर, यो बीमा सेवा फोन खरिद गरेको पहिलो वर्षमा मात्र लागू हुन्छ । डेढ लाख रुपैयाँ तिर्नुभन्दा ६५ हजार जतिमा बीमा गर्नु नै ग्राहकका लागि उपयुक्त विकल्प हुने देखिन्छ ।
सामसङको फोल्डेबल फोनको स्क्रिन मर्मत गर्दा पहिलो वर्ष २०० डलर (करिब २६ हजार रुपैयाँ) खर्च लाग्छ । यो शुल्कमा फोनको ओएलईडी स्क्रिन फेरिनुका साथै मेटल बेजल पनि नयाँ राखिन्छ ।
त्यसपछि पनि स्क्रिन बिग्रियो वा फुट्यो भने त्यसको खर्च ५४९ डलर (करिब ७३ हजार रुपैयाँ) पर्न जान्छ । यता गुगलले भने फोल्डेबल फोनमा स्क्रिन मर्मत गर्नका लागि आईफिक्सइटसँग सहकार्य गरेको छ ।
पिक्सेल फोल्डेबल फोनमा स्क्रिन फेर्नका लागि ८९९.९९ (करिब एक लाख २० हजार रुपैयाँ) वा ९०९.९९ डलर (करिब एक लाख २१ हजार रुपैयाँ) लाग्छ । यो मूल्यमा फोनको ब्याट्री फेरेर नयाँ राखिने कम्पनीले जनाएको छ ।
ह्वावेको ट्राईफोल्ड फोनको अन्य पाटपुर्जा मर्मत गर्नका लागि भने तुलनात्मक रूपमा कम शुल्क लाग्ने बताइएको छ । यसको ब्याट्री लगभग ४९९ युआन (करिब नौ हजार ४०० रुपैयाँ) र क्यामेरा २६९ युआनदेखि ७५९ युआनसम्म लाग्ने बताइएको छ । यसको मदरबोर्ड बिग्रिएको खण्डमा भने मर्मत गर्नका लागि ९०९९ युआन (करिब एक लाख ७१ हजार रुपैयाँ) लाग्नेछ ।
समाचारमाफाेनकाेमूल्यचिनियाँयुआनहुनुपर्नेमाअन्यथाभएकालेसच्याइएकाे छ । -स.