close

दुबई प्रहरीले लखेटेका चिनियाँ, फिलिपिनी र नेपाली मिलेर ललितपुरमा क्रिप्टोको अवैध धन्धा

टेकपाना टेकपाना

भदौ २९, २०८१ १२:३७

दुबई प्रहरीले लखेटेका चिनियाँ, फिलिपिनी र नेपाली मिलेर ललितपुरमा क्रिप्टोको अवैध धन्धा

काठमाडौं । संयुक्त अरब इमिरेट्सको प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको भन्दै पाँच महिनाअघि चिनियाँ, फिलिपिनी र नेपाली नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाइदियो । उनीहरू सबै आफ्ना देश फर्किए । तर, त्यहाँ काम गर्नेहरू सबै सामाजिक सञ्जालमा एकअर्कासँग जोडिएका थिए । केही समयको आरामपछि उनीहरू क्रिप्टो कामकै खोजी गर्न थाले ।

त्यहीबीच उनीहरूले सोही प्रकृतिको काम नेपालमा सञ्चालन गर्ने योजना बनाए । योजना अनुरूप दुई महिनाअघि चिनियाँ नागरिक डिङ जियाहोङ र लिन क्विन्जिन नेपाल आए । उनीहरूको भाषा नेपालीले नबुझ्ने र नेपालीको भाषा उनीहरूले नबुझ्ने भएपछि दुबईमा उनीहरूसँगै काम गरेकी फिलिपिनी नागरिक हेनिपा सिन्सुयातलाई नेपाल बोलाइयो ।

त्यसपछि दुबईमा सँगै काम गर्ने ४७ जना नेपाली, दुई चिनियाँ नागरिक र एक फिलिपिन्स नागरिक गरी ५० जनाले एउटा कम्पनी खोले । र, कम्पनी सञ्चालन गर्नका लागि ललितपुर महानगरपालिका वडा नं १३ एकान्तकुनाको एकताबस्तीमा रहेको जगदीश उपाध्यायको तीनतले घर भाडामा लिए । उनीहरूले घरको भाडा नै मासिक साढे तीन लाख रुपैयाँ दिने सम्झौता गरेका थिए ।

दुई चिनियाँ नागरिक सञ्चालक, एक फिलिपिनी नागरिक भाषा अनुवादक र पाँच नेपाली ग्रुप लिडरको जिम्मामा थिए । सुरुवातमा उनीहरूले हिंगे, बम्बल, मुसलिमा, इन्शाआह, सलाम, मज्, ओकेक्युपिड र अलखत्तबा लगायतका डेटिङ एपमा महिलाको नक्कली अकाउन्ट बनाए । र, जागिरका लागि राखिएका अन्य नेपालीलाई त्यही नक्कली अकाउन्टबाट कुरा गर्ने काम दिए ।

उनीहरू सबैभन्दा पहिले ती डेटिङ एपबाट युरोप, अमेरिका, क्यानडा लगायतका विभिन्न देशका पुरुषलाई साथी बनाउँथे । साथी बनाएर कुरा गर्दै गएर घनिष्ट मित्रताको सम्बन्ध बनाउँथे । ‘साथीले भनेपछि जे पनि आँखा चिम्लेर गर्छु’ भन्ने स्तरको विश्वास कायम राख्थे । र, अनलाइन प्लेटफर्म ह्याशप्याकमार्फत बाइनान्स र ट्रस्ट वालेटमा रकम जम्मा गर्न लगाउँथे । बाइनान्स क्रिप्टो साट्ने प्लेटफर्म हो भने ट्रस्ट वालेट क्रिप्टोकरेन्सी वालेट हो ।

यसरी डलर जम्मा गरी क्रिप्टोकरेन्सीमा उनीहरूले लगानी गर्न प्रेरित गर्थे । उनीहरूले कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई राम्रो तलबको प्रलोभन देखाएर गैरकानुनी रूपमा काममा लगाइएको भन्ने गोप्य सूचना केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई प्राप्त भयो । त्यसैका आधारमा २६ भदौ २०८१ मा खटिएको प्रहरी टोलीले तीन विदेशी नागरिकसहित ५० जनालाई नियन्त्रणमा लियो । 

उनीहरूको साथबाट ५५ थान कम्प्युटर, १९४ थान मोबाइल, चार थान ल्यापटप, एक लाख ६२ हजार रुपैयाँ सहित विदेशी मुद्रा पनि बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न मुख्य तीन विदेशी र पाँच नेपाली नागरिकलाई ‘मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ७ (क) दफा २६२ (क) 'अभौतिक मुद्राको प्रयोग गर्न नहुने' सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूलाई ललितपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका अन्य ४२ जनालाई भने हाजिरी जमानीमा राखिएको प्रहरी उपरीक्षक बोगटीले जनाए ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८१ १२:४९