काठमाडौं । अब नर्वेको सडकमा पेट्रोलियमभन्दा विद्युतीय कार बढी गुड्ने भएका छन् । नर्वे सरकारको डेटाको विश्लेषण गर्दा देशमा चाँडै नै विद्युतीय कार बढी हुने देखिएको हो ।
नर्वेको अटो उद्योग सम्बन्धी लेख्नेबिर्बान्सा२४ (Bilbransje24)ले रोड ट्राफिक इन्फर्मेसन काउन्सिलको डेटाका आधारमा यस्तो विश्लेषण गरेको हो । आक्रामक रूपमा विद्युतीय सवारी साधन प्रयोग गर्ने देशमा नर्वे विश्वमा नै अगाडि रहेको छ । गत अगस्ट महिनामा मात्रै नर्वेमा कुल गाडीको बिक्रीमध्ये ईभीले ९४ प्रतिशत हिस्सा ओगटेको थियो ।
अन्य कतिपय देशहरूले सन् २०३५ सम्म पेट्रोल कार अन्त्य गर्ने लक्ष्य राखेकोमा नर्वेले भने सन् २०२५ भित्रै यो लक्ष्य पूरा गर्ने विश्लेषण गरिएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार नर्वेमा कुल विद्युतीय कार सात लाख ५१ हजार ४५० र पेट्रोलबाट सञ्चालित कार सात लाख ५५ हजार २४४ रहेका छन् । हाल प्रत्येक महिना लगभग १० हजार ईभी बिक्री हुँदा पेट्रोल कारहरूको बिक्री भने न्यून हुँदै गइरहेको छ । यसबाट चाँडै विद्युतीय कारहरू पेट्रोल कारहरूको तुलनामा बढी हुने अनुमान सहजै गर्न सकिन्छ ।